असोजमा मिडिया फुटसल हुने

समाधान संवाददाता २०७९ भदौ ३ गते ११:३८

पोखरा ।
पोखरामा आगामी असोजमा मिडिया फुटसल प्रतियोगिता हुने भएको छ । रेडियो सराङकोटको आयोजनामा असोज ७ र ८ गते अन्तर मिडिया फुटसल प्रतियोगिता हुने भएको हो । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै रेडियोको १६ औं वार्षिकोत्सव अवसरमा प्रतियोगिता आयोजना गरिने जनाएको हो ।

वार्षिकोत्सव समारोह भव्य बनाउन मिडिया फुटसल प्रतियोगिता गर्न लागिएको रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले बताए । प्रतियोगितामा २५ टिमले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताका विजेताले ४० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

वार्षिकोत्सवकै अवसरमा भदौ ७ मा महिला सञ्चारकर्मीबीच तीज विशेष कार्यक्रम हुने आयोजकले जनाएको छ । ‘एकताबद्ध सहकार्य, आर्थिक उन्नतिका लागि सहकारी’ मूल मन्त्रका स्थानीय समुदायको पहलमा २०६३ असोजमा सराङकोट बहुउद्देश्यीय सहकारी स्थापना भएको हो । सहकारीले रेडियो सराङकोट सञ्चालन गरिरहेको छ । वार्षिकोत्सवको अवसरमा सम्मान, प्रोत्साहन कार्यक्रम, रक्तदान एवं सरसफाइसमेत हुने जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया