शान्त माविमा साइबर सचेतना

समाधान संवाददाता २०७९ भदौ ३ गते १२:००

पोखरा ।
लायन्स क्लब अफ पोखरा ग्रिन वेभको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा १८ मा रहेको शान्त माविमा साइबर क्राइमबारे सचेतना कार्यक्रम बिहीबार भएको छ । पछिल्लो समय समाजमा साइबर क्राइम बढ्दै गएकाले समयमै सचेत गराउन विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले गत वर्ष कास्कीमा मात्रै २ सय ९७ वटा निवेदन साइबर क्राइमसम्बन्धीका आएको बताए । सामाजिक सञ्जालको प्रयोग बढिरहेको हुँदा अपरिचित व्यक्तिलाई सजिलै विश्वास नगर्न उनले आग्रह गरे । सामाजिक सञ्जालबाट समस्यामा परेकालाई तिरस्कार होइन, साथीभाई तथा परिवारले साथ दिनु अत्यावश्यक रहेको उनले बताए ।

प्रहरी नायव उपरीक्षक तिवारीले साइबर क्राइमबाट बच्न कस्ता कदम चाल्नुपर्छ वा समयमै कसरी सचेत हुन सकिन्छ लगायतका विषयमा प्रशिक्षण दिएका थिए । किशोर किशोरीलाई सामाजिक सञ्जालमा राति अबेरसम्म च्याट गरेर बस्दा साइबर क्राइम हुन सक्ने भन्दै उनले सचेत गराए ।

Advertisement

पिआरओ इन चिफ एमजेएफ लायन किशोर बरालले साइबर क्राइमबाट आफू पनि बच्न र अरुलाई पनि सचेत गराउन आग्रह गरे । शान्त माविका प्रधानाध्यापक शंकरराज अधिकारीले प्रशिक्षणबाट विद्यार्थीले आफू सचेत हुने र अरुलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताए ।

लायन्स क्लब अफ ग्रीन वेभकी अध्यक्ष लक्ष्मी लामा द्वितीय उपाध्यक्ष गीता तिवारी र सचिव सरस्वती पुरीले पनि कार्यक्रममा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया