एक्यान फुट्सलको उपाधि ‘एक्यान सेन्ट्रल’लाई
पोखरा ।
पोखरामा सम्पन्न ‘एक्यान फुट्सल टुर्नामेन्ट २०७९’को उपाधि एक्यान सेन्ट्रलले हात पारेको छ । पोखरामा ३ र ४ गते दुई दिन चलेको फुट्सलको उपाधि एक्यान सेन्ट्रलले हात पारेको हो ।
फाइनल म्याचमा पिकेएफटिआरलाई पछि पार्दै एक्यान सेन्ट्रलले उपाधि हात पारेको हो । एक्यान सेन्ट्रलले पिकेएफटिआरलाई दुई गोल गर्दै जित हात पारेको हो । खेलमा सहभागी ९ टिममध्ये ए र बि दुई टिममा बाडेर खेल खेलाइएको थियो ।
सहभागी टिममध्ये एक्यान कास्की, एक्यान चितवन, एक्यान सेन्ट्रल र पिकेएफटिआर सेमिफाइनलमा भिडेका थिए । एक्यान कास्की र चितवनलाई पछि पार्दै फाइनलमा पुगेको पिकेएफटिआर फाइनलमा भने एक्यान सेन्ट्रलसँग हार ब्यहोर्नु पर्यो । सेन्ट्रल र पिकेएफ दुवै काठमाडौंबाट आएको टिम हो ।
शुक्रबार गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलको उद्घाटन गरेका थिए भने पुरस्कार वितरण तथा कार्यक्रमको समापन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्ने कार्यक्रम थियो । तर, कार्य व्यस्तताका कारण मेयर आचार्य उपस्थित हुन नसकेपछि एक्यान पदाधिकारीहरुले नै विजयी टिमलाई पुरस्कार बाँडेका छन् ।
खेलमा विजयी टिमलाई नगद १ लाख रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ भने फस्र्ट रनर अपलाई ६० हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । खेलमा सबैभन्दा धेरै गोल एक्यान चितवनका सन्दीप कुमार फुँयाललाई हाइयेस्ट स्कोर उपाधि दिइएको थियो । फुँयालले ६ गोल गरेर खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए ।
यस्तै, बेस्ट गोलकिपर एक्यान सेन्ट्रलका शैलेस कट्टेलले हात पारेका छन् । पूरा खेलमा कट्टेलले १ गोल पनि गर्न दिएनन् । खेलको बेस्ट प्लेयर उपाधि एक्यान सेन्ट्रलका सुशान नगरकोटीले हात पारेका छन् । नगरकोटीले पूरा खेलमा ४ गोल गरेका थिए ।
खेल समुहका ९ मध्ये पिकेएफटिआरका म्यानेजर तिर्थराज अर्यालले बेस्ट म्यानेजरको उपाधि हात पारे । बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट गोलकिपर, टप स्कोरर र बेस्ट म्यानेजर पाँचै जनालाई नगद ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
फुट्सल टुर्नामेन्टको आयोजना चार्टर्ड एकाउन्टेन्स संघ(एक्यान)कास्कीले गरेको थियो । यसअघि चितवनमा पनि फुट्सल टुर्नामेन्ट आयोजना गरिएको थियो । कार्यक्रममा एक्यान पदाधिकारीहरुले सातै प्रदेशमा फुट्सल टुर्नामेन्ट गर्दै जानुपर्ने बताएका थिए ।
तपाईको प्रतिक्रिया