सबै शक्ति चुनावमा लगाउने एमाले गण्डकीको निर्णय

पोखरा ।
एमाले गण्डकी प्रदेश संगठन कमिटीले सबै शक्ति र सामथ्र्य केन्द्रित गरी आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ । तनहुँको बन्दीपुरमा भएको संगठनात्मक कार्यशालाले आगामी निर्वाचनको तयारीलाई केन्द्रविन्दुमा राखेर पार्टी जिल्ला, पालिका, वडा र टोल कमिटीका बैठक भदौ मसान्तसम्म राखी आम पार्टी पंक्ति परिचालनको प्रभावकारी योजना निर्माण गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
साउन २९ र ३० गते भएको कार्यशालाले भदौ मसान्तसम्म जनसंगठनका प्रदेश, जिल्ला, पालिका र आधारभूत तहसम्मका कमिटीको बैठक र भेला गरिसक्ने निर्णय भएको सचिव दवाडीले बताए । पार्टी सदस्यताको नवीकरणमा स्वंय पार्टी सदस्यलाई नै उत्प्रेरित गर्ने गरी उत्साहजनक तबरले परिचालित गर्ने र यो भदौ १५ गतेभित्र सम्पन्न गर्ने कार्यशालाले संकल्प गरेको छ ।
कार्यशालाले स्थानीय निर्वाचनको मुल सन्देश र शिक्षालाई दृढताका साथ पार्टी पंक्तिमा स्थापित गर्ने अठोट गरेको छ । प्रदेशमा संघ तथा प्रदेश तर्फका धेरै स्थानमा नेकपा (एमाले)लाई विजयी गराउन आम पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनमा परिचालित गर्ने निर्णय गरेको गण्डकी प्रदेश सभाका सदस्य रहेका सचिव दवाडीले सुनाए । उनले वर्तमान सत्ता गठबन्धनको केन्द्रीय तथा प्रदेश सरकारले गरेका महंगी, भ्रष्ट्राचार, बेथीति जस्ता जनविरोधी र राष्ट्रियता विरोधी गतिविधिका बिरुद्ध संघर्षका कार्यक्रम जिल्ला र पालिका र वडा स्तरसम्म पुगी जनसंगठनको व्यापक सहभागितामा सञ्चालन गर्ने निर्णय गरेको बताए ।
कार्यशालामा नेता तथा कार्यकर्ताले पार्टीभित्र पछिल्लो समय हुर्केको अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै पार्टीलाई विधिसम्मत तबरले सञ्चालन गर्ने प्रतिवद्धता गरेका छन् । फरक फरक समूह निर्माण लगायतका गतिविधि रोक्दै पार्टीलाई विधि र प्रक्रियाबाट अघि बढाउने र हरेक नेता कार्यकर्ता अन्तरविरोधको समाधानकर्ता बन्ने र विविधतामा एकता खोज्ने पद्दति निर्माण गर्न एक ढिक्का भएर लाग्ने सामूहिक प्रतिवद्धता गरिएको सचिव दवाडीले उल्लेख गरे ।
कार्यशालामा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, भानुभक्त ढकाल र कर्ण थापाको उपस्थिति थियो । कार्यशालामा पार्टी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल र स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया