भारत पुगेको भाेलिपल्टै समातिए एटिएम फोर्ने अनिश

सञ्जय रानाभाट २०७९ भदौ ६ गते १०:२७

सञ्जय रानाभाट l
पोखरा l
साउनको ३ गते राति (बिहान) २ बजे । पोखरा २७ लेखनाथस्थित तालचोकमा एनआइसी एसिया बैंकको एटिएममा असामान्य गतिविधि देखियो । बैंकको सेन्टर सर्भिलेन्सले असामान्य गतिविधि थाहा पाएपछि प्रहरीलाई खबर पुग्यो । प्रहरी पुग्दा एटिएम फोर्ने प्रयास भएको देखियो । तर मान्छे भेटिएन । जसै बिहान भयो । फेरि खबर आयो—अर्घाैंचोकस्थित एनएमबी बैंकको एटिएम फोरेर पैसा लगिएछ ।

२१ वर्षीय अनिश कक्षा ९ मा पढिरहेका विद्यार्थी हुन् । प्रहरीका अनुसार उनी हार्डवेयर पसलमा ज्याला मजदुरी गर्थे । उनमा सूचना प्रविधि (आइटी) ज्ञान छ ।

हो, त्यस दिन एनएमबीको एटिएम मेसिन फोरेर १४ लाख ७१ हजार ५ सय रुपैयाँ चोरी भएको थियो । चोरीको १ महिनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले चोरीमा संलग्न अनिश तामाङलाई आइतबार सार्वजनिक गरेको छ । प्रहरीले अनिशलाई नेपाल—भारत सीमा बेलहियाबाट पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए । ‘एक दिनअघिमात्रै उनी भारत पुगेका रहेछन्, हामीले एउटा सूत्र प्रयोग गरेर उनलाई पक्रेर ल्यायौं,’ उनले भने ।

Advertisement

एसपी केसीका अनुसार प्रहरीले घटना भएकै दिन एटिएमभित्र चोरी गर्न जाँदा लगाएको हेल्मेट १ थान, पैसा राख्ने कालो बक्स १ थान, सिल्भर रङको हेल्मेट १ थान, ग१०प २९६३ नम्बरको बुलेट मोटरसाइकल १ थान फेला पारेको थियो । पोखरा २७ मा फेला परेको बुलेट मोटरसाइकल पनि अनिशले २ साउनमा चोरी गरेका थिए । मोटरसाइकल विजय गौतमको हो । एटिएमबाट झन्डै १५ लाख चोरिए पनि प्रहरीले तामाङको साथबाट १९ हजार रुपैयाँ नगद, दुई थान मोबाइल र चोरीमा लगाइएको लत्ता कपाडा बरामद गरेको छ ।

तर, चोरी भएको भनिएको रुपैयाँ अनिशले कहाँ कसरी खर्च गरेभन्ने खुलिसकेको छैन । ‘२ गतेमात्र समातिएकाले घटनाको बारेमा थप अनुसन्धान बाँकी नै छ । यसलाई हामीहरु विस्तारै सार्वजनिक गर्छौं,’ एसपी केसीले भने । अनिशमाथि थप अनुसन्धान गर्न कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद पाएको छ । अनिशले प्रारम्भिक बयानमा प्रहरीलाई बताएअनुसार त्यस दिन उनले साथीहरुसँग मादक पदार्थ खाएका थिए । ‘साथीहरुसित रक्सी खाएर घर जाँदै थिएँ,’ उनले भनेका छन्, ‘बाटोमै मोटरसाइकल चोरेर जाँदा एटिएम देखेँ, पसेर पैसा चोरें ।’

Advertisement

डाँडाको नाक प्रहरी चौकीको पछाडिपट्टिको सडकको चौतारीमा बसेर पैसा गनी घर पुगेको र फेरि राति एनआएसी एसिया बैंकको तालचोकस्थित एटिएम फोर्न गएको तर असफल भएको उनले प्रहरीलाई बताएका छन् । कास्की प्रहरी प्रवक्तासमेत रहेका डिएसपी सुन्दर तिवारीका अनुसार एनएमबी बैंकको अर्घाैंचोकस्थित एटिएमको साँचो राम्ररी लागेको थिएन । त्यसैले नै अनिशले त्यहाँबाट पैसा निकाल्न सफल भएका हुन् ।

त्यो थाहा पाएपछि प्रहरीले बैंक तथा वित्त संस्थालाई एटिएम सुरक्षा सम्बन्धमा सचेतना दिएको थियो । सोही अनुसार प्रहरी प्रधान कार्यालयले पनि देशभरकै बैंकलाई एटिएम सुरक्षाको सर्कुलर पठाएको जानकारी पनि डिएसपी तिवारीले दिए ।

९ कक्षा पढेका ‘आइटी’ अनिश
नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नम्बर ५ घर भई पोखरा ३० डुँडाकोमुख बस्दै आएका २१ वर्षीय अनिश कक्षा ९ मा पढिरहेका विद्यार्थी हुन् । प्रहरीका अनुसार उनी हार्डवेयर पसलमा ज्याला मजदुरी गर्थे । उनमा सूचना प्रविधि (आइटी) ज्ञान रहेको एसपी केसीले सुनाए ।

तामाङले आफूले इन्टरनेटको माध्यबाट एटिएम फोर्न सिकेको र आफ्नो पहिलो प्रयास नै सफल भएको बयान दिएका छन् । उनले एनएमबी बैंकको एटिएम फोरेर पैसा निकाल्न सफल भएपछि सोही दिन पोखरा २७ तालचोकस्थित एनआइसी एसिया बैंकको एटिएम फोर्ने प्रयास गरेका थिए ।

एटिएम मेसिन फोरेर पैसा चोरी भएपछि अनुसन्धानका लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय सिसुवाबाट संयुक्त अनुसन्धान टोली खटिएको र अनिशलाई पक्राउ गर्न सफल भएको डिएसपी तिवारीले बताए । डिएसपी तिवारीका अनुसार यो घटनासहित कास्कीमा पछिल्लो १ वर्षमा ८ वटा एटिएम मेसिन चोर्ने प्रयास भएका छन् ।

गत वर्ष पुस ३० गते पोखरा महानगरपालिका अगाडि रहेको एनआइसी एसियाको एटिएम चोर्ने प्रयास भयो । तर बैंकले कुनै सेन्टरल सर्भिलेन्सबाट जानकारी दिएन । सुरक्षा गार्ड पनि थिएनन् । धेरैपछि प्रहरीले हुलियाको आधारमा २०७८ माघ १ गते महेन्द्रपुलबाट एटिएम चोरी प्रयासकर्तालाई कास्की प्रहरीले नियन्त्रणमा लियो ।

गत वर्ष माघ ८ गते माछापुच्छ्रे बैंकको बिरौटा शाखामा चोरी प्रयास भयो । सेन्टरल सभिलेन्सबाट तुरुन्त जानकारी भएपछि कास्की प्रहरी पुग्यो, चोरी हुन पाएन । एटिएम चोरीमा संलग्न कृष्ण विक र ध्वज अप्तरे मगरलाई पछि प्रहरीले पक्राउ ग¥यो । ध्वज अप्तरे धरौटी बुझाएर तारिखमा छुटेका छन् । कृष्ण धरौटी तिर्न नसकी कारागार छन् ।

वैशाख ४ गते पस्र्याङस्थित माछापुच्छ्रे बैंक एटिएम चोर्ने प्रयास भयो । सेन्टरल सर्भिलेन्सबाट तुरुन्त जानकारी भएपछि चोरी असफल भयो । ती नै व्यक्तिले माछापुच्छ्रे बैंककै पृथ्वीचोक शाखामा वैशाख २९ गते फेरि एटिएम चोरी गर्ने प्रयास गरे । तर, दुवै प्रयास असफल भए । प्रहरीले अनुसन्धानपछि दीपक श्रेष्ठ ‘बेले’ लाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । उनलाई लागुऔषध सम्बन्धी मुद्दामा पनि वडा प्रहरी कार्यालय बैदाममा अनुसन्धान भइरहेको डिएसपी सुन्दर तिवारीले बताए ।

असार २१ गते पनि सुरक्षा गार्ड नरहेको मौका छोपी पोखरा महानगरको कार्यालय अगाडिको एनआइसी एसियाको बैंकको एटिएमा चोरी प्रयास भयो । सेन्टरल सर्भिलेन्सबाट कुनै जानकारी भएन् । हुलियाको आधारमा नरेश पुन मगरलाई प्रहरीले पक्राउ गर्‍यो । उनलाई चोरी उद्योग कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए । साउन २० गते रातको ११ बजे बिरौटामा एनआइसी एसिया बैंकको एटिएम फोर्ने प्रयास भयो ।

पर्वत कुश्मा नगरपालिका ३ बस्ने ३३ वर्षीय कृष्णबहादुर विकलाई प्रहरीले चोरी गर्न लागेको बेला पक्राउ गर्‍यो । उनी यसअघि नै माछापुच्छ्रे बैंकको एटिएम मेसिन चोरी गरेर कैद भुक्तानी गरिसकेको व्यक्ति हुन् । पहिला एटिएम चोरी प्रयासकै कारण जेल परेका कृष्ण कैद भुक्तानीपछि वैशाखमा जेलबाट निस्केका थिए ।

डिएसपी सुन्दर तिवारीका अनुसार कृष्णले गत वर्ष माघ ८ गते माछापुच्छ्रे बैंकको एटिएम मेसिन चोरी गरेका थिए । त्यस घटनापछि लागेको मुद्दामा धरौटी बुझाउन नसक्दा ३ महिना जेल परेका थिए । फेरि एनआइसी बैंकको मेसिन चोरी गर्दै गरेको अवस्थामा फेला परेका थिए ।

१ वर्षयताका ८ घटना
मिति जहाँको एटिएम चोरी र चोरी प्रयास भयो चोरीमा संलग्न पक्राउ अभियुक्त
२०७९/०४/२० एनआइसी एसिया बैंकको बिरौटा शाखाको एटिएम चोरी प्रयास कृष्ण विक
२०७९/०४/०३ अर्घाैंचोकमा एनएमबी बैंकको एटिएमबाट झन्डै १५ लाख चोरी अनिश तामाङ
२०७९/०४/०३ तालचोकस्थित एनआइसी एसिया बैंकको एटिएम चोरी प्रयास अनिश तामाङ
२०७९/०३/२१ महानगरअघि एनआइसी एसिया बैंकको एटिएम चोरी प्रयास नरेश पुन
२०७९/०१/२९ पृथ्वीचोकस्थित माछापुच्छ्रे बैंकको एटिएम चोरी प्रयास दीपक श्रेष्ठ बले
२०७९/०१/०४ पस्र्याङस्थित माछापुच्छ्रे बैंकको एटिएम चोरी प्रयास दीपक श्रेष्ठ बले
२०७८/१०/०८ माछापुच्छ्रे बैंकको बिरौटा शाखाको एटिएम चोरी प्रयास कृष्ण विक र ध्वज अप्परे मगर
२०७८/०९/३० महानगरअघि एनआइसी एसिया बैंकको एटिएम चोरी प्रयास नाम नखुलेको

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया