‘नवौं खेलकुद नेपालको खेलकुद महोत्सव हो’

पोखरा l
नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा सचिवालय स्थापना भएको छ । आउँदो असोजमा गण्डकी प्रदेशमा हुने खेलकुदका लागि पोखरा रंगशालामा कार्यकारी समितिको सचिवालय आइतबार उद्घाटन भएको हो । सचिवालय युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका हुन् ।
मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद नेपालका लागि सबभन्दा ठूलो महोत्सव रहेको बताए । ‘विश्वका सन्दर्भमा ओलम्पिक भएजस्तै नेपालको सन्दर्भमा राष्ट्रिय खेलकुद प्रतियोगिता नै खेलाडी, खेल क्षेत्र र आम नेपालको लागि ठूलो महोत्सव हो,’ मन्त्री गहतराजले भने । खेल पर्यटनको विकासमा नवौं खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
‘विश्वमा ओलम्पिक भएजस्तै नेपालको सन्दर्भमा राष्ट्रिय खेलकुद खेलाडी, खेल क्षेत्र र आम नेपालको ठूलो महोत्सव हो
महेश्वरजंग गहतराज, खेलकुद मन्त्री
यसलाई सफल बनाउन संघ, प्रदेश र स्थानीय तहकै सरकारको सामूहिक सहकार्य रहेको उनले बताए । खेलकुदलाई निर्वाचनले कुनै असर नपार्ने मन्त्री गहतराजले उल्लेख गरे । ‘खेलकुदलाई असर नपर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका बनाउने प्रतिबद्धता जनाएको छ, निर्वाचनले खेलकुदलाई कुनै असर गर्दैन,’ उनले भने ।
प्रतियोगिताका लागि सरकारले भदौ १ गते पहिलो चरणमा १० करोड रुपैयाँ विनियोजन गरेको मन्त्री गहतराजले जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले राष्ट्रिय खेलकुदलाई सम्पन्न गर्न भरपूर सहयोग गर्ने बताए । ‘खेलकुदको महाकुम्भ गण्डकी प्रदेशको राजधानीमा हुनु हाम्रो लागि गौरवको विषय हो । स्वभाविक रुपमा जिम्मेवारी थपिएको छ । सचिवालयसँगको सहकार्यमा तदारुकताका साथ लाग्छौं,’ उनले भने ।
पोखरालाई पर्यटनको राजधानी बनाउन राष्ट्रिय खेलकुदले थप टेवा पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । प्रतियोगितालाई व्यवस्थित गर्न अत्यन्तै जिम्मेवार भएर सबै हिसाबले सहयोग गर्ने उनले प्रतिबद्धता गरे । राखेप सदस्य सचिव टंकलाल घिसिङले खेलस्थल टुंगो लगाउने अन्तिम चरणमा पुगेको बताए । ‘अब बढी समय पोखरामै रहेर राष्ट्रिय खेलकुदको तयारीका काम हुने छन्,’ उनले भने ।
राष्ट्रिय खेलकुदको मुख्यस्थल पोखरा रंगशालामा पूर्वाधारतर्फका ९९ प्रतिशत काम सकिएको उनले बताए । ३९ वर्षपछि हुन लागेको यो प्रतियोगितामा कम्तीमा १ खेल प्रदेशका सबै जिल्लामा गर्ने गरी प्रदेश खेलकुद परिषद्ले प्रस्ताव पठाएको छ ।
नवौं राष्ट्रिय खेलकुद आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुनेछ । प्रतियोगितामा ४ सय ७ इभेन्ट समावेश छन् । खेलाडीले ४ सय ७ इभेन्टमा ४ सय ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
कुनै इभेन्टमा ४ भन्दा कम प्रतिस्पर्धी भए त्यो इभेन्ट सञ्चालन हुने छैन । जसले गर्दा इभेन्टको संख्या घट्न सक्नेछ ।प्रतियोगितामा करिब ७ हजार १ सय ९० खेलाडी, १ हजार २ सय प्रशिक्षक र १ हजार रेफ्री गरी झण्डै १० हजार सहभागी अनुमान गरिएको छ । प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय टिम र १ गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ २ सय २० र महिलातर्फ १ सय ८७ इभेन्ट समावेश छन् । हरेक खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार प्राप्त गर्ने छन् । खेलकुदमा राष्ट्रिय रेकर्ड भंग गरी नयाँ रेकर्ड बनाउने खेलाडीलाई जनही ५० हजार प्रदान गरिनेछ । प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षक ट्रफी प्रदान गरिनेछ ।
तपाईको प्रतिक्रिया