सम्पादकीयः प्रशिक्षक खोई

खेल मैदानमा प्रतिस्पर्धा गरेर पदक जित्ने खेलाडीले नै हो । तर, हरेक खेलाडीको सफलतासँग अर्को एउटा महत्वपूर्ण साथ जोडिएको हुन्छ । प्रत्येक सफल खेलाडीको पछाडि एउटा क्षमतावान् प्रशिक्षकको उत्तिकै योगदान हुन्छ । दक्ष र प्रतिभाशाली खेलाडी उत्पादन गर्न मुख्य भूमिका निर्वाह गर्ने प्रशिक्षक भनेका पर्दा पछाडिका नायक हुन् । एक सफल खेलाडी उत्पादन गर्न प्रशिक्षकको अहम् भूमिका हुन्छ ।
आउँदो असोजमा आफ्नै भूमिमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशले सुरु गरेको विशेष प्रशिक्षणमा अधिकांश खेलका आधिकारिक प्रशिक्षक नै छैनन् । शुक्रबारबाट सुरु भएको प्रशिक्षणमा १४ खेल समावेश छन् । अन्य खेलहरुको भने जिल्ला छनोटपछि मात्र प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ । शुक्रबारबाट ४ जिल्लामा सुरु गरेको प्रशिक्षणमा आधिकारिक प्रशिक्षण बिना नै खेलाडी प्रशिक्षण गर्न बाध्य छन् ।
खेलाडीलाई खेल कौशल सिकाउने, विश्व खेलकुदमा परिवर्तन भइरहने खेल नियमबारे खेलाडीलाई बुझाउने जस्ता विभिन्न भूमिकामा सक्रिय रहन्छ, प्रशिक्षक । खेलाडीको कमजोरी पत्ता लगाउने, उपयुक्त पोजिसनमा सही खेलाडीलाई जिम्मेवारी दिने, खेलाडीको खानपिनमा ध्यान दिनेजस्ता भूमिकामा सक्रिय हुन्छन् प्रशिक्षक । प्रदेशमा ३६ वटा खेलमा ९ वटा खेलमा मात्रै आधिकारिक प्रशिक्षक छन् । प्रदेशमा भलिबल, कराँते, एथलेटिक्स, जिम्नास्टिक, उसु, फुल कन्ट्याक्ट कराते, भारोत्तोलन, शारीरिक सुगठन र तेक्वान्दोका मात्र आधिकारिक प्रशिक्षक छन् ।
अन्य २५ खेलमा बिना प्रशिक्षक प्रशिक्षण गर्न बाध्य छन् । आफ्नै भूमिमा धेरै पदकका आश गरेको प्रदेश खेलकुद परिषद्ले भने खेलाडीको तयारीमा भने टालटुल गर्न खोजेको देखिन्छ । प्रशिक्षण सुरु हुँदासम्म न राखेपले प्रशिक्षक ल्याउन सकेका छन् न त प्रदेशले । प्रदेश खेलकुद विकास समितिको सदस्य सचिव तेज गुरुङले प्रशिक्षक उत्पादनमा ध्यान नदिँदा उत्पादन शून्य भएको तर्क गर्छन् ।
पूर्व खेलाडी तथा स्वयमंसेवकसँग सम्झौता गरी प्रशिक्षण गर्न तयारी प्रदेश खेलकुद परिषद्ले गरेको छ । नवौं राष्ट्रिय खेलकुदको प्रशिक्षणका लागि एथ्लेटिक्सका प्रशिक्षक सुशील नरसिंह राणालाई प्रदेश खेलकुद परिषद्ले २ महिनाका लागि प्रशिक्षकसहित खेलाडीलाई प्रशिक्षण गराउने गरी ल्याएको छ । २ महिनाका लागि आउने प्रशिक्षकले न त खेलाडी बुझ्न सक्छन् न त खेलाडीले प्रशिक्षक । २७ खेलको प्रशिक्षक नहुँदा एउटा प्रशिक्षक ल्याई काम पूरा गर्न खोज्नु अर्काे पराकाष्ठा हो ।
अन्य समयमा खेलाडी कहाँ छन् के गर्दै छन् केही चासो नदिने र प्रतियोगिता नजिक आएपछि पनि बिना प्रशिक्षक प्रशिक्षण गराएर खेलाडीबाट धेरै पदकको आश गर्नु अनुचित हो । खेलकुदमा हुने लगानीलाई खर्चको रुपमा नलिई लगानीकै रुपमा लिन जरुरी छ । पदककै आस गर्ने हो भने पनि खेलाडीलाई आवश्यक सेवा सुविधा, आवश्यक प्रशिक्षक र प्रशिक्षणको परिपूर्ति गर्नुपर्छ । प्रशिक्षक अभाव रहेको खेलमा आवश्यक समन्वय गरी छिटोभन्दा छिटो प्रशिक्षक परिपूर्ति गर्न प्रदेश खेलकुद परिषद्ले आवश्यक कदम चाल्न जरुरी छ । अन्यथा आफ्नै भूमिका सहभागितामा शून्य नरहला भन्न सकिन्न ।
तपाईको प्रतिक्रिया