
विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुगेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनेका थिए, ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’
सोही मञ्चमा बसेका गिरी प्रधानमन्त्रीको यो घोषणापछि हासे । उनका क्षेत्रका समर्थकले गड्गडाहट ताली बजाए । संयोग यस्तो भयो कि पछि उहाँले चुनाव हार्नुभयो । आफ्ना स्पष्ट र प्रखर विचारसहित प्रायः सञ्चारमाध्यममा आइरहने नेता गिरीलाई पछि एक अन्तर्वार्ताका क्रममा प्रश्न सोधियो, ‘तपाइँले चुनाव जितेको भए त यतिखेर मन्त्री हुनुहुन्थ्यो होला नि ?’ उहाँको प्रतिक्रिया थियो, ‘हो, हुन्थेँहोला । तर मलाई मन्त्री बन्नबाट भगवानले बचाएका छन् ।
त्यसैले म खुसी छु । किनभने मैले चुनाव जितेको भए किसुनजीको आग्रह टार्न सक्दिनथेँ होला । त्यसैले भगवानले चुनाव हराएर मन्त्री हुनबाट बचाए ।’
मन्त्री या पदमा पुगेका र पदमा पुगेर ठूलो धनराशि आर्जन गरेकालाई मात्र राजनीतिक सफलता नमान्ने हो भने प्रदीप गिरी नेपालका अत्यन्तै सफल राजनीतिज्ञको नाम हो
प्रदीप गिरी नेपालको समकालीन राजनीतिमा सादगी, चिन्तनशील र अध्ययनशील व्यक्तित्वका रुपमा स्थापित नाम हो । त्यसैले त चार÷चार पटकसम्म सांसद बन्नुभएका गिरीमा मन्त्री बन्ने चाह कहिल्यै जागेन । उहाँले सार्वजनिक रुपमै भन्ने गर्नुहुन्थ्यो, ‘मन्त्री हुँदा स्वतन्त्रता गुम्छ, मैले मनमौजी गर्न मिल्दैन, मेरो आफ्नो स्वतन्त्रता र आफ्नैपनको जीवन गुम्न पनि सक्छ ।
मन्त्री भएपछि मेरा सबै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ, म फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न नपाउने स्थितिमा पनि पुग्न सक्छु, मप्रति जनताका आशा अपेक्षा बढी होलान्, त्यसैले मलाई व्यक्तिगत जीवनमा हस्तक्षेप मान्य छैन ।’ हाम्रो देशमा यतिखेरको राजनीति त्यस्तो छैन । मन्त्री बन्नुपर्ला भनेर भाग्नखोज्ने नेता सायदै कुनै पार्टीमा भेटिएलान् । अनि उहाँजस्तो सांसद पदको पारिश्रमिक आएको दिन पुस्तक पसलमा गएर पुस्तक किन्न रुचाउने अध्ययन र चिन्तनमा समय व्यतित गर्ने नेता पनि विरलै छन् ।
त्यसैले उहाँले एक प्रखर चिन्तक मात्र होइन कि समाजवादी विचारका अगुवाको पहिचान निर्माण गर्न सफल हुनुभएको छ ।
गिरीको जीवनशैली खुल्ला र उच्च विचारका धनीहरुका लागि पनि सरल र सादा जिउन सकिने अनुकरणीय उदाहरण हो । उहाँको पहिरनको पहिचान धेरै पछिसम्म पनि खद्दरको कुर्था र सुरुवाल थियो । स्वतन्त्रता र समानताका पक्षपाती उहाँको जन्मघर बाहेक अन्यत्र गाडी, घोडा या घरबङ्गला जोड्ने कुनै रहर रहेन । यहाँसम्म कि उहाँले कहाँ खानुहुन्थ्यो, कहाँ सुत्नुहुन्थ्यो भन्ने पनि कहिले त ठेगान नै हुँदैनथ्यो ।
आफ्नो पुख्र्यौली सम्पत्ति पनि उहाँले एक आश्रमका रुपमा दिइसक्नुभएको छ । समाजशास्त्रको अध्ययन गर्नुभएका गिरीले सिद्धान्तमा भने माक्र्सवादी हौँ भन्नेहरुले भन्दा अब्बल माक्र्सवाद आत्मसात् गर्नुभयो । लाग्छ, माक्र्सवादी चिन्तकहरुले पनि उहाँको विचार, व्यवहार र चिन्तनबाट धेरै सिक्न सक्छन् । उहाँ चाहे बनारसमा विपी कोइरालाको साथ र संगतसँगै तरुण पत्रिकाको सम्पादकका रुपमा होस् या उहाँलाई क्यान्सरले गालिरहँदा नै किन नहोस्, बाल्यकालदेखि वृद्धसम्म नै प्राज्ञिक चिन्तनमा रमाउनुभयो ।
त्यसैले उहाँ प्राज्ञिकदेखि श्रमिकसम्म सबै क्षेत्र र वर्गका जनताका मन मस्तिष्कमा बस्न सक्नुभयो । मन्त्री या पदमा पुगेका र पदमा पुगेर ठूलो धनराशि आर्जन गरेकालाई मात्र राजनीतिक सफलता नमान्ने हो भने प्रदीप गिरी नेपालका अत्यन्तै सफल राजनीतिज्ञको नाम हो । किनभने उहाँको राजनीतिक चिन्तन र व्यवहार सबै क्षेत्र र वर्गका नेपालीसामु लोकप्रिय छ र यसको आयतन कुनै निश्चित विचारधाराको घेराभन्दा निकै फराकिलो छ ।
त्यसैले त उहाँको स्वास्थ्यलाभको कामनादेखि आज उहाँको निधनसम्म आइपुग्दा सामाजिक सञ्जाल होस कि समाजका विभिन्न पेशा, व्यवसाय या विचारधाराभन्दा बाहिर निस्किएर सारा नेपालीले उहाँप्रति श्रद्धा व्यक्त गरिरहेका छन् । देशमा अहिले अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूको पनि उहाँप्रति उत्तिकै सम्मान देखिन्छ । त्यसैले प्रदीप गिरी नाम यतिखेर नेपाली राजनीतिको एक विशेष र विशिष्ट स्वरुपको मानकका रुपमा स्थापित हुन पुगेको छ ।
सधैँ युवा र यही वर्गप्रति भरोसा राख्ने उहाँको विचारलाई अहिलेको हर दलको युवा पिँढीले पछ्याउन सक्यो भने यही हतियारले हिजोआजकोजस्तो राजनीतिलाई प्रदीप गिरीको वैचारिक उचाइसम्म पुर्याउन सक्छ । उहाँले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै बीपीको संगत पाउनुभएका उहाँले विपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अडिग रही राजनीतिक संघर्ष जारी राख्ने क्रममा पटक पटक गरेर करिब चार वर्ष जेल जीवन बिताउनुभयो ।
विसं २०४२ पछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नजिक भएर काम गर्नुभएका उहाँ कांग्रेसमा समावेशीकरणका पक्षधर हुनुहुन्थ्यो । उहाँले नै कांग्रेस पार्टीले ‘जमदम’ को नीति लिनुपर्ने भनी प्रस्तुत गर्नुभएको थियो । उहाँ कार्यक्रमलाई ज– जनजाति, म– महिला, द– दलित र म– मधेसी भनी अथ्र्याउनुहुन्थ्यो । पिछडिएको क्षेत्र कर्णाली र पिछडा वर्ग, अल्पसंख्यकहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन सक्यो भने मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने तर्क उहाँ बारम्बार गर्नुहुन्थ्यो ।
निष्ठा र आस्थाका धरोहर नेपाली कांग्रेसका नेता गिरीको क्यान्सर रोगबाट शनिबार राति निधन भएको छ । उहाँको निधनले नेपालको राजनीतिमात्र होइन राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो महसुस गराएको छ । राजनीतिमा पदमात्र ठूलो होइन, नैतिकता र निष्ठा ठूलो हो भन्ने यथार्थ उहाँको निधनप्रति देशले व्यक्त गरेको यो भावनाले पनि अभिव्यक्त गर्दछ । उहाँको यो निष्ठालाई जोगाइराख्नु अहिलेका राजनीतिकर्मीको दायित्व पनि हो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया