धादिङका जनप्रतिनिधि सम्मानित

समाधान संवाददाता २०७९ भदौ ६ गते १३:०९

पोखरा l
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विचार नमिल्ने दलहरुको गठबन्धन सत्ताभोगका लागि मात्र भएको टिप्पणी गरेका छन् । नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको ११ औं साधारणसभामा पाण्डेले अहिले एक्लो नेकपा एमाले विरुद्ध मुलुकका सबै जसो दल एक ठाउँमा उभिन बाध्य भएको बताए ।

‘नेकपा एमालेलाई हराउन कुनै दलले पनि सक्दैन । त्यसैले सबै एक हुन बाध्य छन् । तर यो गठबन्धन विचार मिल्नेहरुको गठबन्धन होइन । भागवण्डामा गरिएको गठबन्धन कहिलेसम्म जान्छ ? हेरौं,’ उपाध्यक्ष पाण्डेले भने, ‘भाग तलमाथि हुनासाथ गठबन्धन भत्किन्छ । एक्लाएक्लै एमालेसँग भिड्ने ताकत कसैको छैन ।’

उनले धादिङमा पार्टी मजबुत बन्नुुमा पोखरा स्थित धादिङेली जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । कामको सिलसिलामा जहाँ रहे पनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्क मञ्च मध्ये धादिङ–पोखरा सम्पर्क मञ्च अग्रपंक्तिमा रहेको बताए ।

Advertisement

एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारीले सम्पर्क मञ्चले पार्टी जोड्ने पुलको काम गरेको भन्दै कास्की पार्टी निर्माणमा पनि पोखरा बस्ने धादिङबासीको योगदान रहेको उल्लेख गरे । पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले देशभरका एमालेजन यस्तै सक्रियतापूर्वक पार्टीमा लागिपरे गठबन्धनलाई परास्त गर्न सक्ने बताए ।

मञ्चका पूर्व अध्यक्षसमेत रहेका जिल्ला कमिटि धादिङ सदस्य बेनी पाठक, जिल्ला कमिटी धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, धादिङको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडा, मञ्चका संस्थापक अध्यक्ष कृष्ण लम्साल, निवर्तमान अध्यक्ष वीरबहादुर थापा लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement

मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा धादिङका विभिन्न पालिका तथा वडामा पार्टीबाट विजयी जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । यस्तै, मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकलाई सम्मान पनि गरिएको थियो ।

रक्तदान कार्यक्रम संयोजक नवराज सापकोटा, क्यालेन्डर प्रकाशन संयोजक सरस्वती श्रेष्ठ (सरु), अधिवेशन व्यवस्थापन संयोजक अर्जुन खतिवडा तथा आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया