मुस्ताङका स्कुलमा भोट भाषामा पढाइ
वारागुङ मुक्तिक्षेत्रले भाषा पठनपाठन गर्न १६ लाख २५ हजार बजेट विनियोजन गरेको छ
सुन्दरकुमार थकाली
जोमसोम ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएका मुस्ताङका ३ पालिकाका सामुदायिक विद्यालयमा स्थानीय भोट भाषामा पठनपाठन थालिएको छ । संविधानले शिक्षाको अधिकार स्थानीय तहलाई दिएपछि मुस्ताङका सामुदायिक विद्यालयमा स्थानीय भाषा संरक्षण गर्न भोट भाषा पढाउन थालिएको हो ।
२ स्थानीय तहले संविधानले सुनिश्चित गरेको स्थानीय भाषा शिक्षा संरक्षणका लागि भोट भाषा उपयोग गरेका हुन् । लोमान्थाङ र वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ देखि सामुदायिक विद्यालयमा स्थानीय भाषा कक्षा चलाएका छन् । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले भने स्थानीय भाषा शिक्षा सञ्चालन नगरे पनि स्थानीय भाषा शिक्षालाई मान्यता दिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अमेरिकन हिमालयन फाउन्डेसन अन्तर्गत जिग्मे फाउन्डेसनले १५ वर्षदेखि स्थानीय भाषा शिक्षा संरक्षणमा योगदान गर्दै आएको छ ।
वारागुङ मुक्तिक्षेत्रले चालु वर्षका लागि स्थानीय भाषा पठनपाठन गर्न १६ लाख २५ हजार बजेट विनियोजन गरेको छ । वारागुङका शिक्षा प्राविधिक सहायक रेखा पन्तका अनुसार पालिकाले चालु वर्ष २ सामुदायिक र १ गुम्बा विद्यालयमा मासिक २५ हजार तलब दिने गरी स्थानीय भाषा शिक्षक करारमा नियुक्त गरिएको छ । यसका अतिरिक्त पालिकाले स्थानीय भाषा शिक्षकलाई थप १ महिनाको बोनस तलब दिने गरेको पन्तले उल्लेख गरिन् ।
‘स्थानीय लोपोन्मुख भाषा संरक्षण गर्ने अधिकार पालिकालाई छ, त्यसैले गुम्बाका लामा र स्थानीय भाषा विद्सँग समन्वय गरी पाठ्यक्रम निर्माण गरेका छौं,’ उनले भनिन्, ‘गत वर्ष ४ सामुदायिक विद्यालयमा भाषा शिक्षा कार्यान्वयनमा ल्याएका थियौं । यस वर्ष एक गुम्बा विद्यालय पनि थपिएको छ ।’ वारागुङ मुक्तिक्षेत्रले छुसाङको जननर्मल मावि, कागबेनीको जनशान्ति मावि, लुप्राको लुप्रा आवि, झारकोटको मुक्तिनाथ आवि र कागछोदे गुम्बामा भाषा शिक्षाको पठनपाठन हुने गरेको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले पालिकाका ३ सामुदायिक विद्यालयमा स्थानीय भोट भाषाको शिक्षा कार्यान्वयनमा ल्याएको छ । लोमान्थाङले स्थानीय भाषा शिक्षकलाई मासिक २५ हजार तलब दिने गरी करारमा स्थानीय भाषा शिक्षक नियुक्त गरेको पालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिए । लोमान्थाङले राष्ट्रिय आधारभूछ, साबिक छोनुप गाविसको झिन्जु आधारभूत र छोसेरको दिव्य दीप माविमा भाषा शिक्षा लागु गरेको छ । लोमान्थाङले स्थानीय भाषा शिक्षाका लागि पाठ्यक्रम बनाएको छैन । गुम्बा विद्यालयसँग सहकार्य गरी त्यहाको पाठ्यक्रमलाई मान्यता दिएर भाषा शिक्षा कार्यान्वयमा ल्याएको प्रशासन प्रमुख केसीले जानकारी दिए ।
उपल्लो मुस्ताङको लोघेकर दाामेदरकुण्ड गाउँपालिकामा भाषा शिक्षाका लागि पालिकाले बजेट विनियोजन गरेको छैन । सो पालिकामा जिग्मे फाउन्डेसनले स्थानीय भाषा शिक्षकको व्यवस्थापन गरी पठनपाठन चलाएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । फाउन्डेसनले घमी आधारभूत विद्यालय, जनज्योति आधारभूत र ढाक्मर आधारभूत विद्यालयमा स्थानीय भोट भाषाका कक्षा सञ्चालन गर्न शिक्षकको व्यवस्था मिलाएको हो ।
यसअघि, फाउन्डेसनले चराङ आधारभूत र किम्लिङ आधारभूत विद्यालय लगायतमा भाषा शिक्षकको व्यवस्था मिलाएकोमा अहिले हटाएको छ । तर, फाउन्डेसनले लोमान्थाङको दिव्य दीप मावि छोसेरमा आधारभूत तहमा भाषा शिक्षकको सुविधा यथावत राखी पठनपाठनलाई निरन्तरता दिएको छ ।
गाउँपालिका अध्यक्ष बिष्टले पछिल्लो समय स्थानीय भाषा लोप हुने खतरा बढेको र स्थानीय भाषालाई पुस्तान्तरण गर्न सामुदायिक विद्यालयमा भाषा शिक्षा अनिवार्य गराईएको उल्लेख गरे । उनले सविधानले भाषिक अधिकार संरक्षणका लागि सुनिश्चिता प्रदान गरेको र यसले हिमाल सभ्यता र संस्कृतिलाई जीवन्त राख्न योगदान पु¥याउने दाबी गरे ।
तपाईको प्रतिक्रिया