माउन्ट अन्नपूर्णमा विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०७९ भदौ ८ गते ११:३९

पोखरा ।
पोखराको पहिलो निजी विद्यालय माउन्ट अन्नपूर्ण माविले सोमबार नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालयले एक समारोह आयोजना गरी आर्थिक वर्ष २०७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको हो । म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट अध्ययन अध्यापन हुने माउन्ट अन्नपूर्णमा यो वर्ष दुवै विषयमा गरी २ सय विद्यार्थी भर्ना भएको विद्यालयका सञ्चालक चिजकाजी गुरुङले बताए ।

नवआगन्तुक विद्यार्थीको सम्मानमा आयोजित कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव तेजबहादुर गुरुङले पोखराकै पहिलो विद्यालयमा अध्ययन गर्न पाउनु विद्यार्थीका लागि गौरवको विषय भएको बताए । उनले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि माउन्ट अन्नपूर्णको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज प्रधानांगको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल सइन्द्र श्रेष्ठ, एकेडेमिक डाइरेक्टर अशोक शाही, भूपू विद्यार्थी मञ्चका अध्यक्ष डा. निरज रञ्जित, नवआगन्तुक विद्यार्थीको तर्फबाट सुजल गुभाजु, प्लस टु संयोजक कृष्ण लम्साल लगायतले बोलेका थिए ।

Advertisement

समारोहमा पूर्व विद्यार्थी एवं एनआइसी एसिया बैंककी प्रदेश संयोजक स्वेता शेरचन र शिक्षक विकास गुरुङले म्यानेजमेन्ट तथा होटेल म्यानेजमेन्टका विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा कक्षा १२ का विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । हाल विद्यालयमा बाल कक्षादेखि १२ सम्म करिब हजार विद्यार्थी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया