पोखरा रंगशालामा स्वास्थ्य केन्द्र

पोखरा ।
पोखरा रंगशालास्थित खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ । नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गर्न लागिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले नवौं राष्ट्रिय खेलकुद लगायत प्रदेश र जिल्ला छनोटलाई मध्यनजर गर्दै खेलाडीका लागि स्वास्थ्य केन्द्र नियमित गर्ने निर्णय गरेको हो ।
नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषदद्वारा गठित स्वास्थ्य उपसमितिको बैठकमा सदस्य सचिव गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीको सहज पहुँच र उनीहरुको प्राथमिक उपचारका लागि ध्यान केन्द्रित गर्न उपसमितिका सदस्यलाई आग्रह गरे । खेलाडीको प्राथमिक उपचारका लागि स्वास्थ्य केन्द्रलाई थप प्रभावकारी बनाउन आवश्यक मापदण्ड बनाई तयारीमा जुट्नसमेत उनले आग्रह गरे ।
प्रदेश खेलकुद परिषदकी सदस्य तथा उपसमितिका संयोजक विष्णुमाया गुरुङको अध्यक्षतामा भएको बैठकमा लामो समयदेखि पोखरा रंगशालामा स्पोर्टस मेडिसिन सेन्टरका लागि आवाज उठाउँदै आएका पोखरा माटेपानीस्थित सेवा अस्पतालका अर्थोपेडिक सर्जन डा. पदम खड्का निजी अस्पतालहरुको छाता संस्था अफिनको केन्द्रीय अध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरिएको थियो । डा खड्का उपसमितिका सल्लाहकारसमेत हुन् ।
बैठकका सिनियर फिजियोथेरापिस्ट तथा सल्लाहकार डा.खड्गसिंह गुरुङ, नेपाली सेना फूलबारी ब्यारेकका सेनानी जीवन पौडेल, स्वास्थ्य प्राविधिक सुवेदार राजेश केसी, उपसमितिका सदस्यहरु शुभकन्या गुरुङ, राजन बडगामी, किरण गुरुङ र मुना थापा बैठकमा सहभागी थिए ।
पोखरा रंगशालामा सञ्चालन गरिएको स्वास्थ्य केन्द्रमा हाल १ स्वयंसेवी परिचारिका छिन् । थप चिकित्सक र फिजियोथेरापिस्टसहितको जनशक्तिका लागि आवश्यक पहल भइरहेको प्रदेश खेलकुद परिषदले जनाएको छ ।
तपाईको प्रतिक्रिया