बालिका शिक्षाका लागि सञ्जाल
पोखरा ।
बालिकालाई शिक्षाको मुल धारमा ल्याउने उद्देश्यले गण्डकी प्रदेश स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ । शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेको संयोकत्वमा सञ्जाल बनेको हो ।
सञ्जालमा प्रदेशको शिक्षा, सामाजिक विकास, स्वास्थ्य महाशाखा, प्रदेश बाल परिषद्, शिक्षा र बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था, अभिभावक संघ लगायतको प्रतिनिधित्व रहने संयोजक लामिछानेले जानकारी दिए । आसमान नेपाल र भिएसओ नेपालले आयोजना गरेको कार्यक्रममा संयोजक लामिछानेले सञ्जालको सञ्चालन व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्ने बताए । उनले बालिका तथा समावेशी शिक्षाको क्षेत्रमा व्यवस्थित रुपमा काम गर्न आवश्यक निर्देशिका तथा रणनीति योजना बनाउने जानकारी दिए ।
आसमान नेपालका नीति तथा सुशासन सल्लाहकार गुरु सुवेदीले ३ तहको सरकारको नेतृत्वमा सबै विकासका साझेदारले सञ्जालको गतिविधिअघि बढ्ने जानकारी दिए । ‘संघ, प्रदेश र पालिका स्तरमा बन्ने सञ्चाल कुनै परियोजनाको रुपमा नभई अभियानको रुपमा सञ्चालन गरिनेछ,’ उनले भने, ‘आवश्यक संरचना निर्माणदेखि नीतिगत व्यवस्था प्रदेश सरकारले गर्नुपर्छ ।’ उनले बालिका माथिको हिंसा न्यूनीकरण तथा बालिकालाई शिक्षाको मुल धारमा ल्याउने बताए । उनले विद्यालय उमेर समूहका बालिका विद्यालयबाहिर भएको खण्डमा कुनै न कुनै श्रममा रहेको दाबी गरे ।
आसमान नेपालका कार्यक्रम व्यवस्थापक शेखर सापकोटाले प्रदेशको सञ्जालसँगै क्रमशः पालिका स्तरमा संरचना निर्माण गर्ने योजना सुनाए । नेपालका ७ सय ५३ मध्ये १ सय २५ पालिकामा संरचना निर्माण गरेको जानकारी दिँदै उनले १२ पालिकाले कार्यपालिकाबाट पारित गरी विधिवत रुपमा स्थायी खालको संरचना बनाएको बताए । उनले लमजुङको ८ मध्ये ६ पालिकामा समेत संरचना बनेको जानकारी दिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदी, शिक्षा विकास निर्देशनालय गण्डकी निर्देशक अम्बिकाप्रसाद आचार्य, शैक्षिक तालिम केन्द्र गण्डकीका प्रमुख नेपालहरि रानाभाट, मन्त्रालयका शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्साल, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल लगायतले बालिका तथा समावेशी शिक्षाका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया