गण्डकी ट्रक व्यवसायीको सभा

समाधान संवाददाता २०७९ भदौ ९ गते ११:४३

पोखरा ।
गण्डकी ट्रक यातायात व्यवसायी संघको ४५ औं वार्षिक साभारण सभा तथा २१ औ अधिवशेन बुधबार भएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठले अधिवेशन उद्घाटन गर्दै ढुवानी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन महासंघ तयार रहेको बताए ।

Advertisement

‘जलमार्ग र रेलमार्ग नभएको नेपाल जस्तो भूपरिवेष्ठित मुलुकमा सडकमार्फत गरिने ढुवानी व्यवसायको विकल्प छैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘ढुवानी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन राज्यका निकायले सहयोग गर्नु आवश्यक छ ।’ अध्यक्ष श्रेष्ठले यातायात क्षेत्रलाई समय सापेक्ष रुपमा सञ्चालन र व्यवस्थापन गर्न महासंघ तयार रहेको बताए । उनले यातायात क्षेत्रमा नीतिगत सुधारका लागि तीन तहको सरकारसमक्ष माग गरे । उनले महासंघले ढुवानी क्षेत्रका सबै व्यवसायीलाई समेट्ने जानकारी दिए ।

महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन रानाभाटले यातायात व्यवसायीमा उत्सुकता र चासोमा कमी आएको खण्डमा राज्यका निकायसँग लडाई लड्न नसकिने धारणा राखे । उनले जे गर्छ समितिले गर्छ भनेर चूप लागेर बसेको खण्डमा पेशा व्यवसाय सुरक्षित नहुने तर्क गरे । महासंघका महासचिव तथा प्रवक्ता राजेन्द्रकुमार बानियाँले संघ संस्था ऐन २०३४ अनुसार दर्ता भएको संस्थालाई कम्पनीमा लैजानु गलत भएको दाबी गरे ।

Advertisement

उनले जथाभावी रुपमा आउने भारतीय सवारी साधनलाई रोक्न माग गरे । उनले गण्डकी प्रदेशमा ट्रक पार्किङको लागि जग्गाको व्यवस्थापन गर्न पहल गर्न पहल गर्न व्यवसायीलाई निर्देशन दिए । अध्यक्ष रवीन्द्र गिरीले नेपाल जस्तो भूपरिवेष्ठित मुलकमा यातायात क्षेत्रको विकल्प नभएको उल्लेख गरे । उनले विशेष गरी ढुवानी व्यवसायीलाई कमजोर बनाउने नीति राज्यले अवलम्बन गरेको आरोप लगाए ।

कार्यक्रममा उत्कृष्ट यातायात व्यवसायी गंगाबहादुर भण्डारी, असल चालक सोमबहादुर बराम, उत्कृष्ट कर्मचारीहरु लेखा प्रमुख श्रीकृष्ण गौतम, दुर्घटना न्यूनीकरण प्रमुख विष्णु गिरी, उत्कृष्ट विद्यार्थीहरु ऋतेष चौधरी र स्नेहा गिरीलाई सम्मान गरिएको छ । स्वर्गीय तेजप्रसाद अग्रहरीका श्रीमती गायत्रीदेवी अग्रहरीलाई ५० हजार नगदसहित संस्थागत सम्मान गरिएको संघका महासचिव होमबहादुर कार्कीले जानकारी दिए ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी उपरीक्षक गोविन्द अधिकारी, नेपाली कांग्रेस कास्की सहसचिव नवीन सिग्देल, नेपाल यातायात व्यवसायी महासंघ गण्डकी अध्यक्ष केदार पौडेल, पोखरा उद्योग वाणिज्य संघ उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्की, गण्डकी ट्रक यातायात व्यवसायी संघका संस्थापक अध्यक्ष तेजनारायण तिमिल्सिना, संघका वरिष्ठ उपाध्यक्ष विकास थापा, महासचिव होमबहादुर कार्की, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार लीलाधर बराल, नारायणी ट्रक यातायात व्यण्वसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाई लगायतका वक्ताले पेट्रोलियम पदार्थमा पटक पटक मूल्य वृद्धिसँगै ढुवानी क्षेत्रमा भाडा समायोजन नभएको बताए ।

कार्यक्रममा ट्रक यातायात व्यवसायीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु पर्वत कुस्मा १२ का वडा अध्यक्ष रामचन्द्र सुवेदी, पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा सदस्य विष्णुमणि बराल, वडा नम्बर १४ का वडा सदस्य कृष्णहरि काफ्लेलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया