कांग्रेस, पुनर्जागरण र पुस्तान्तरण

भानु पराजुली २०७९ भदौ १० गते १२:००

साउन २७ गते जनैपूर्णिमाको दिन थियो, आफन्तसँगको पारिवारिक भेटघाट पनि । जम्काभेटको एउटा जर्बजस्त विषय बन्यो राजनीतिक । भेटमा सहभागी आफन्तमध्ये २ जना अस्ट्रेलिया र एक काठमाडौंमा व्यवसायमा जम्नुभएको छ । तीनै जनाको एउटै प्रश्न थियो, हाम्रा बा, २०३६ सालको कांग्रेसको क्रियाशील सदस्य हो, हरेक चुनावमा उहाँ कुनै स्वार्थ नराखी लाग्नुहुन्छ, पार्टीको लागि घरपरिवार पनि त्याग्न तयार हुनुभयो र अहिले पनि त्यस्तै लगाव छ । उहाँ भन्दा कयौं गुना पछी पार्टीमा आएकाले ठूलै अवसर पाए तर अहिलेसम्म उहाँहरुलाई पार्टीले सामान्य वडा सदस्य त धेरै टाढाको विषय भईसक्यो, अरु माथिका पदको त कुरै किन गरौं ?

Advertisement

अभिभावकीय दायित्वमा रही नेतृत्व हस्तान्तरण गर्नुपर्ने समयमा आफैंअघि बढ्न खोज्नु राजनीतिक सिन्डिकेट नै हो

मेरो बाउको राजनीतिले नचलेको घर चलाउन म विदेश पुगें । पसिना बगाएँ, हामी अब कांग्रेसमै लाग्नुपर्छ भन्ने के छ ? किन कांग्रेसलाई नै भोट दिनुपर्ने ? यो पार्टीभित्र इमान्दारिता, नैतिकता, निष्ठाको मूल्यांकन र सदाचारिता कतै बचेखुचेको छ ? २०४८ देखि एउटै व्यक्तिलाई पटक पटक टिकट दिईरहनुपर्ने किन ? यो राजनीतिक सिन्डिकेट कहिलेसम्म ? तपाई जस्तै नयाँ पुस्ताको पालो कहिले ?

Advertisement

उहाँहरुले यावत प्रश्नले मलाई नाजवाफ त बनाईदिनुभयो नै, मैले वा मेरो पुस्ता अब पनि टिकट नपाए किन राजनीतिमा लागिरहने भन्ने प्रश्नले चिमोट्न थाल्यो । यो प्रतिनिधि घटनामात्रै हो, तर सबै आम कांग्रेस तथा अन्य दलका इमान्दार कार्यकर्ताको प्रश्न पनि योभन्दा फरक छैन भन्ने लाग्छ । अहिले नेपाली राजनीतिमा सबैभन्दा बेजोडले उठेको विषय पुस्तान्तरण र रुपान्तरण नै हो । करिब ७६ वर्षअघि स्थापना भएको नेपाली कांग्रेस र ७३ वर्ष पहिले स्थापित नेपाल कम्युनिस्ट पार्टीका विभिन्न हाँगा पार्टीहरु अहिलेसम्म नेपाली राजनीतिमा अस्तित्वमा छन् ।

मुल रुपमा कांग्रेस, एमाले, माओवादी, समाजवादी केन्द्र, जनता समाजवादी, राप्रपा लगायतका दलको वरिपरि नै देशको मियो घुमेको छ । एक खालको गज्जबको दलीय सिन्डिकेट नै छ । दलहरु जहिले स्थापना भए पनि २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि मात्रै उनीहरुको नेपाली राजनीतिमा रजगज चलेको हो । सबै पार्टीको एउटै हविगत के छ भने, नयाँ पुस्ताको राजनीतिक पहुँच कमजोर छ ।

Advertisement

अझै पनि मुल नेतृत्व देउवा, ओली र दाहाल छाड्न तयार छैनन् । भलै यसपालि कांग्रेसको मुल नेतृत्व बाहेकका पदाधिकारीमा नयाँ पुस्ताको जबर्जस्त उपस्थिति छ । तर पुराना, पाका नेताहरुले गरेको निर्णयमा हस्ताक्षर गर्नेमात्रै भूमिका हुन्छ वा सशक्त हस्तक्षेप पनि ? यो यक्ष प्रश्नको उत्तर समयसँगै पाइने पक्का छ । एमाले र माओवादीमा त युवा पुस्ताले नेतृत्वलाई तत्कालै हाँक दिन सक्ने त्यो सम्भावना देखिँदैन् । ओली थप निरंकुश बन्ने बाटोमा हिडेको देखिन्छ, घनश्यामहरुले चुनौति दिए पनि पर्याप्त छैन, प्रचण्डलाई भने उनका युवाले पूजा गर्नेसम्मको चाकडी गर्छन् भने त्यो चुनौति मोल्ने हिम्मत धेरै टाढाको विषय भयो ।

आम नेपालीले उठाएको एउटा प्रश्न हो नेपालमा किन दलीय व्यवस्था बढी बदनाम भयो ? किन भ्रष्टाचार मौलायो ? किन नागरिकको आशा र अपेक्षा पूरा गर्न राजनीतिक इमान्दारिता देखाइएन ? किन प्रजातन्त्रमा पनि विकासका हिसाबले प्रादेशिक र क्षेत्रीय भिन्नता तथा गरिबी घटेन ? यी र यस्ता तमाम प्रश्नको उत्तर अहिले पनि सहज पाउन सकिन्न । त्यसको सारभूत उत्तरचाहिँ के हो भने नेताहरुमा राजनीतिक इच्छाशक्ति नभएको र राजनीतिक सिन्डिकेट हावी हुनु नै हो ।

पञ्चायतदेखि गणतन्त्रसम्म व्यवस्था बदलियो तर पात्रहरु उही पुरानै रहे, त्यसैले दलीय व्यवस्थामाथि नागरिकको शंका उत्पन्न भएको हो । फेरि पनि मैले अग्रजलाई दोषमात्रै दिएकोचाहिँ होइन । नेपालको राजनीतिक रुपान्तरणमा दलहरु तथा नेताहरुको योगदान उच्च छ, त्यो अजीव र स्तूत्य पनि छ । उहाँहरु ससम्मान आराम गर्ने र अभिभावकीय दायित्वमा रही नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने समयमा पनि अझै आफैंअघि बढन खोज्नु र युवा तथा नयाँ अनुहारलाई मौका दिन नखोज्नु राजनीतिक सिन्डिकेट नै हो भन्ने लाग्छ । दलीय घेराभन्दा माथि उठेर स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई भोट हालेको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन ।

नेपाली कांग्रेस आफ्नो मुल मर्म र धर्मबाट टाढिएको आम दुखेसो कार्यकर्ता तहमा ज्यादै छ । त्यसैले यहाँ पार्टीको राजनीतिक धर्ममाथि केही चर्चा गर्ने जमर्को गरेको छु । आम सज्जन कांग्रेस कार्यकर्ता सोधिरहेका छन्, कांग्रेसले आफ्नो मूल धर्म थामेको भए यो देश दरिद्र त हुने थिएन ? के कांग्रेसको देह र आत्मा मरिसक्यो ? आजको कांग्रेस हाड र छालाको अंश मात्रै हो त ? विपी कोइरालाले परिकल्पना गरेको नेपाली कांग्रेसको मुटु मरिसक्यो त ?

आज हरेक इमान्दार कार्यकर्ता मेरो विचारमा आफ्नी कुलवधु द्रौपदीको चिरहरण हुँदा चूपचाप बनेका भीष्म पितामह जस्तै छन् । कांग्रेसमा २००७ सादेखि २०६२ सालसम्मको आन्दोलनको मोर्चामा उभिएका नेतादेखि कार्यकर्ता छन् । के नेपाली कांग्रेस अस्ति भर्खरै जन्मेको नेकपा माओवादी र अलि पहिला जन्मेको एमाले वा अन्य राजनैतिक दल जस्तै हो ? पक्कै पनि होइन । कांग्रेसले थुप्रै नेता र कार्यकर्ताको व्यवस्थापन गर्नु चुनौतिपूर्ण छ नै तैपनि गर्र्नैपर्ने वाध्यता पनि छ ।

नेपाली कांग्रेसका कार्यकर्ताको गुनासो के छ भने, यहाँ निष्ठा, नैतिकता, योगदान र इमानको राजनीतिक मूल्यांकन हुन्छ ? कांग्रेस चैते तथा दलाल बिचौलिया र पैसाको मुठो बोक्नेहरुको पार्टी हो त ? यो प्रश्न द्रौपदीको चिरहरण हुँदा चूपचाप बनेका भीष्म पितामहहरुको हो । कांग्रेसका नयाँ र युवा कार्यकर्तालाई चुनावमात्रै बुझाईएको छ । पार्टीमा विचारको बहस, सुशासनको नयाँ प्रस्ताव, प्रणालीका बारेको प्रश्न, आजको कांग्रेस कुन विचारवाट निर्देशित भईरहेको छ ? कांग्रेसको प्रजातन्त्र भोटको खेतीपातीमात्रै हो त ? औपचारिक प्रजातन्त्रमा मात्रै यो पार्टी रमाइरहेको छ, कार्यकर्ता त्यसैमा रनभुल्ल छन् ।

अहिलेको विश्वव्यापी प्रजातान्त्रिक लहरमा यो पार्टीले बोकिरहेको संकुचित प्रजातन्त्रको दायरालाई फराकिलो पार्न आवश्यक छ । कार्यकर्ता नेताको फेर समात्ने, पैसा भए टिकट पाइन्छ भन्ने र नेता जसले बढी पैसा दिन्छ वा खर्च गर्नसक्छ उसैलाई ठूलो मान्ने र टिकट दिने परिपाटी हावी छ । सन् २००६ मा घोषणा गरिएको यो पार्टीको घोषणापत्रले भन्छ, ‘कांग्रेस खेतमा काम गर्नेहरुको एकमात्र हित ठान्छ’ तर व्यवहारमा कार्यान्वयन गर्न नसक्नु नै कांग्रेसको ठूलो गल्ती हो ।

कांग्रेस आफ्नो एजेन्डामा लाग्ने र कार्यान्वयन गर्न प्रतिवद्ध हुनुपर्ने हो तर ठीक उल्टो कम्युनिस्टलाई तीव्र प्रतिक्रिया दिईरहँदा यो पार्टी विस्तारै सर्वहारा शब्दकै विरोधी र कट्टर पुँजीवादी बन्यो । आन्तरिक प्रजातन्त्र, सुशासन र जवाफदेहिता विनाको कांग्रेस सत्ताको उपयोगीमात्रै बन्न सक्छ, तर मुलुक निर्माण गर्ने पार्टी बन्न सक्दैन । अब हाम्रो पुस्ता यो पार्टीलाई साँच्चै जनजीविकाको विषयमा बोल्ने जनताको अर्थात् मासको पार्टी बनाउन चाहन्छ । गाँउलाई सहर होइन, गाँउलाई गाउँकै रुपमा समृद्ध बनाउने सपना, योजना र ताकत हाम्रो पुस्तासँग छ । त्यसका लागि पनि अघिल्लो पुस्ताको बर्हिगमन जरुरी छ ।

अब कांग्रेस पुरानो पार्टी भनेरमात्रै पुग्दैन, आफूलाई थप नयाँ र सृजनशील बनाउन पनि आवश्यक छ । अहिलेको प्रविधिको भाषामा भन्दा २००७, ०१७, ०३६, ०४२, ०४६ वा ०६२ भन्दा पनि अझै नयाँ भर्जन चाहियो भन्ने अहिलेको पुस्ताको चाहना र माग हो । त्यसैले स्वार्थ, संकीर्णता र दुर्बलतावाट यो पार्टीमाथि उठाउन पनि आगामी चुनावमा स्पष्ट भिजन र उद्देश्य सहितको नयाँ र युवा पुस्ताको गर्विलो उपस्थिति आवश्यक छ भन्ने मेरो सोच हो ।

००७ सालमा राणाशासन अन्त्य गरी नागरिक अधिकार स्थापित गर्दै, देशमा चरम सामन्ती सामाजिक, आर्थिक संस्कार र पद्धतिले सृजना गरेको चरम गरिबी, अशिक्षा, अज्ञानता, असमानता, भेदभाव, शोषण र अन्याय अन्त्य गर्दै आर्थिक विकास गर्ने लक्ष्यका साथ ००८ सालमा सैद्धान्तिक अवधारणा र २०१२ सालमा आफ्नो नीति तथा कार्यक्रममा समाजवादलाई औपचारिक रुपमा अवलम्बन गरेको पार्टी हो । यो पार्टीले नेपालको आर्थिक, सामाजिक, भौगोलिक र भूराजनीतिक अवस्था तथा बाह्य र आन्तरिक परिस्थिति मूल्यांकन गरी पार्टीको दीर्घकालीन सोचका रुपमा समाजवादलाई आदर्शका रुपमा अवलम्बन गर्‍यो ।

तर नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो कि होईन ? प्रजातान्त्रिक संस्कार र आचरण यस पार्टीको छ कि छैन ? यो प्रश्न नै अहिले यस पार्टीका लागि महत्वपूर्ण हो जस्तो मलाई लाग्छ । कुनै पनि मानिस, समाज, संस्था, पार्टी वा देशले आफूखुसी प्रजातान्त्रिक भनेर पक्कै पनि प्रजातान्त्रिक भईँदैन र मानिँदैन पनि । प्रजातान्त्रिक हो कि होइन भनेर खुट्टयाउने सबैभन्दा भरपर्दो र विश्वासिलो आधार भनेको त्यसको संस्कार, आचरण र चरित्रलाई विश्लेषण गरिनुपर्छ । सिद्धान्त र व्यवहारबीच तादम्यता नहुने कसैलाई पनि प्रजातान्त्रिक भन्न मिल्दैन ।

पार्टी र व्यक्ति प्रजातान्त्रिक छ वा छैन भन्ने अधिकार नागरिकलाई छ, न कि स्वयं आफैंले आफूलाई प्रजातन्त्रको ट्याग भिरेर प्रजातान्त्रिक भइन्न । जुन कुरा अहिले नेपाली कांग्रेस र यसका नेता, कार्यकर्ताले गर्ने गरेका छन् । त्यसैले यस पार्टीमा अब चुनावमा उम्मेदवार बन्ने जोकोही पनि तल्लो तहबाटै प्राथमिक चुनाव जितेर आउनैपर्ने व्यवस्था गर्नु जरुरी छ । जसले प्राइमरी इलेक्सन जितेर आउँछ, उसैलाई टिकट दिईने व्यवस्था हुन सक्यो भने पैसाको मुठो लिएर गए टिकट पाइन्छ भन्ने गलत सोच अन्त्य हुनेछ । यसबाट राजनीतिक शुद्धीकरण हुने अपेक्षा राख्न सकिन्छ ।

विगत र अहिले पनि नेताहरु आफ्ना छोराछोरी, श्रीमतीलाई राजनीतिमा जबर्जस्त स्थापित गर्न खोजिरहेको पाइन्छ । यो मामिलामा कांग्रेस र कम्युनिस्ट उस्तै देखिन्छन् । हाम्रै छिमेकी भारतमा नेहरु परिवारको विरासतका रुपमा भारतीय राष्ट्रिय कांग्रेसलाई अघि बढाउँदाको दुर्दशा र परिणाम देखेकै छौं । परिवारवाद नै भारतीय राष्ट्रिय कांग्रेस क्षयीकरणको एउटा प्रमुख कारण हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । त्यसैले जनताको काखदेखि दुख, पीर, मर्का झेल्दै आएको निष्ठावान, कर्मशील, क्षमतावान पुस्तावाट अबको चुनावमा उम्मेदवार वन्नपर्छ भन्ने जोड हो ।

अब उम्मेदवार सिफारिसदेखि छनौटसम्मै पुस्तान्तरण हुनैपर्छ । होईन भने २०४८ सालदेखि एउटै व्यक्तिका नाममा संगठन घुमाइरहने पार्टी कसरी प्रजातान्त्रिक बन्न सक्छ भन्ने यक्ष प्रश्न तेर्सिएको छ । प्रजातान्त्रिक पार्टीभित्रै मास लिडरको जन्म हुन्छ । प्रजातान्त्रिक पार्टी मास बेस पार्टी हो, न कि कम्युनिस्ट जस्तो क्याडर बेस । पारिवारिक विरासत वा गुटको कारखानाको तगारोले कुनै पनि पार्टीलाई जीर्ण बनाउँछ भन्ने कुरामा कसैको पनि फरक मत छैन । क्रोनी क्यापिटलिज्म अर्थात आसेपासे, नातागोता, हुक्के बैठके, जिउ हजुर गर्ने प्रवृत्तिलाई प्रश्रय दिँदा आम नागरिकको पार्टीप्रतिको जनविश्वास कम हुन जान्छ ।

त्यसैले पनि पार्टीमा हावी देखिएको विरासत र गुट तथा राजनीतिक सिन्डिकेट हटाउन आम नेता तथा कार्यकर्ता चनाखो बन्न जरुरी छ । असल र सही नेतृत्व चुन्ने तथा नागरिकसितको सम्बन्धलाई फेरि नवीकरण गर्ने माध्यम पनि चुनाव हो । अहिले नेपाली कांग्रेसका धेरै नेता र कार्यकर्ताको स्वभाव बिग्रेको छ । चाकडी, चाप्लुसी गर्ने र गणेश प्रवृत्ति हावी छ । आफू केन्द्र्रीत फाइदाका कार्यमात्रै गर्ने चलन बढेको छ, जुन कार्यले नेपाली कांग्रेसको आन्तरिक प्रजातान्त्रिक चरित्र झनै कमजोर बनाएको प्रतीत हुन्छ ।

नेपालमा अहिले संघीय राज्य संरचना छ, संसारमा संघीयता प्रयोगमा आएका ३० देशमध्ये भारत र नेपालबाहेक स्वीटजरल्यान्ड, क्यानडा, अमेरिका, अस्टे«लिया लगायतका कुनै पनि देशमा विकास, निर्माणका काम सांसदले गर्न पाउने व्यवस्था छैन । यो वित्तीय संघीयताका विरुद्धमा छ । यदि यो विकास, निर्माणको कार्य सबै स्थानीय तहलाई दिएर नीति निर्माण र कानुनको काम र अनुगमनको काममा जाने विषय राख्ने हो भने हाम्रो चुनाव मंहगो पनि नबन्न सक्छ, यसतर्फ कांग्रेस बोल्नपर्छ भन्ने लागेको छ ।

नेपाली कांग्रेसले परम्परादेखि अवलम्बन गर्दै आएको आर्थिक नीतिको सान्र्दभिकता अझै छ छैन, यसको समीक्षा आम कार्यकर्ताले गर्ने कि नगर्ने ? वैदेशिक लगानी त देशमा ओइरियो तर खर्च गर्न सक्ने क्षमता बढाएको खै ? बोकाको मुखमा कुभिण्डो जस्तै भएन र ? सस्तो लोकप्रियताको लागि भाषणमा मात्रै रमाउने नेताहरुले खै जनपरिचालन गर्न सकेको ?
जनपरिचालन गर्न नसक्ने बजेटले प्रजातन्त्रको विकास हुन सक्दैन । जनसहभागिता नै प्रजातन्त्रको सबैभन्दा वलियो ताकत हो ।

अब नेपाली कांग्रेसले निर्मम समीक्षा गरी नेतृत्वमा पुस्तान्तरण, विचारमा वैचारिक पुनर्जागरण तथा पुनर्चिन्तन महाअभियान चलाउनु पर्छ । उत्पादन र वितरणको सन्तुलन सहितको प्रजातान्त्रिक समाजवादी नीतिबारे पनि घनीभूत बहस हुनु आवश्यक छ । यी सबै कामका लागि नवीन चिन्तन र विचार सहितको म र मेरो पुस्ता अर्थात् क्षमतावान, इमान्दार, योग्य र सदाचारी युवाको सशक्त उपस्थिति आगामी संसदीय चुनावमा हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया