कास्कीका १०४३ उम्मेदवारले बुझाएनन् खर्च विवरण

सञ्जय रानाभाट २०७९ भदौ १२ गते ९:४७

आयोगले खर्च विवरण नबुझाउने १ हजार ४३ जना उम्मेदवारबाट जरिवाना असुल्ने हो भने कास्कीमा ५२ करोड रुपैयाँ राज्यको ढुकुटीमा जम्मा हुनेछ 


सञ्जय रानाभाट
पोखरा ।
स्थानीय तहको निर्वाचन भएको ३ महिना बित्दा पनि कास्कीका १ हजार ३४ जना उम्मेदवारले चुनाव खर्च विवरण बुझाएका छैनन् । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको ३० दिनभित्र खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

कास्कीमा पालिकाहरूको अन्तिम परिणाम फरक–फरक समयमा भएपनि पोखरा महानगरपालिकाको जेठ १२ गतेसम्म अन्तिम परिणाम प्रकाशित भइसकेको थियो । निर्वाचन आयोग ऐन २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार उम्मेदवारले निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने व्यवस्था छ । जिल्ला वा प्रदेश निर्वाचन कार्यालयसमक्ष खर्च विवरण बुझाउन सक्ने व्यवस्था भएपनि अधिकांश उम्मेदवारले तीन महिना बित्दासम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

Advertisement

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा कास्कीमा उम्मेदवार १३ सय २७ थिए । तीमध्ये ३ सय ७० जना निर्वाचित भए । निर्वाचित भइसकेका २ सय १८ जनाले अझै खर्च विवरण नबुझाएको निर्वाचन कार्यालय पोखराका कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताए । उनका अनुसार पराजित भएका ९ सय ५७ जना उम्मेदवारले अझै खर्च विवरण पेस गरेका छैनन् । ‘निर्वाचनमा भाग लिएका उम्मेदवारमध्ये जित्नेले मात्रै होइन, सबैले खर्च विवरण पेस गर्नुपर्छ । कास्कीमा निर्वाचन खर्च बुझाउने न्यून छन्,’ आयोगको पोखरा कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले भने, ‘उम्मेदवारहरु गम्भीर नभएको देखियो । उम्मेदवार बनेपछि पारदर्शी बन्नुपर्छ ।’

निर्वाचन आयोगले तोकेअनुसार चुनावमा महानगरपालिकाका वडाध्यक्ष, वडासदस्य, महिला वडा सदस्य, दलित महिला वडा सदस्य वा अल्पसंख्यक उम्मेदवारले ३ लाख रुपैयाँमात्रै खर्च गर्न सक्थे । आयोगले स्थानीय तह निर्वाचनमा महानगर प्रमुख–उपप्रमुखले बढीमा ७ लाख ५० हजार, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार र वडाध्यक्ष र सदस्यले १ लाख ५० हजार खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।

Advertisement

उम्मेदवारले खर्च विवरण नबुझाए ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था निर्वाचन आयोग ऐनमा छ । निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिए आयोगले त्यस्तो खर्च बराबरको रकम वा ५ लाख रुपैयाँमध्ये जुन बढी हुन्छ, सो बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था छ । जरिवाना र अयोग्य घोषणा गर्नुअघि आयोगले उम्मेदवारलाई सफाइ पेस गर्ने मौका दिनेछ । आयोगले खर्च विवरण नबुझाउने १ हजार ३४ जना उम्मेदवारबाट जरिवाना असुल्ने हो भने कास्कीमा ५२ करोड रुपैयाँ राज्यको ढुकुटीमा जम्मा हुनेछ ।


पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका १५ जनाले खर्च विवरण पेस नगरेको निर्वाचन कार्यालय पोखराले जनाएको छ । मेयरमा निर्वाचित भएका धनराज आचार्यले खर्च विवरण बुझाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कृष्ण थापाले पनि सममयै विवरण पेस गरेका थिए । आयोगले विवरण नबुझाउने र समय सकिएपछि बुझाउने एउटै भएको ठहर गर्छ ।


मेयरका उम्मेदवारमध्ये निर्वाचन खर्च नबुझाउनेमा शंकर खराल, शुसिला के.सी. (अधिकारी),किशान सिहं गुरुङ ,मुक्तीकनाथ सुबेदी, रामराज अधिकारी, भोजराज खनाल, आशिष थापा, नवराज बास्तोला, डिल बहादुर गुरुङ, सुनिल बहादुर कोइराला, भोज राज त्रिपाठी, सरण सिंह मोक्तान, विमल वहादुर कार्की, गोविन्द प्रसाद शर्मा, रन बहादुर दमै, लगायत छन् ।
उपमेयर उम्मेदवार बनेका ५ जनाले अझै खर्च विवरण पेस गरेका छैनन् । पेस नगर्नेमा रञ्जनाकुमारी सेन पौडेल, माधव भण्डारी, सोममाया विक, सेनी परियार, शीतला थापाले अझै खर्च विवरण पेस नगरेको उनले बताए ।


निर्वाचनको अन्तिम परिणाम आएको ६ महिनासम्म जरिवाना नतिरेमा ६ वर्षसम्म उम्मेदवार हुनै नपाउने कानुनी व्यवस्थासमेत छ । कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने ऐनको दफा २६ को उपदफा ३ मा उल्लेख छ ।


खर्च विवरण पेस नगर्ने र ढिला बुझाउनेको नाम आयोगले सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले कानुनी व्यवस्थामा कडाइ गर्ने हो भने आउँदो निर्वाचनमा उम्मेदवार हुन चाहनेले असोज २ अघि जरिवाना तिरिसक्नुपर्ने हुन्छ । आयोगलाई बुझाएको खर्च विवरण सार्वजनिक गर्न पनि आयोगले आग्रह गरेको छ । निर्वाचन खर्च पेस नगरेकाहरु अर्काे निर्वाचनमा उम्मेदवार बन्न पनि पाउँदैनन् ।


पोखरा महानगरपालिकामा निर्वाचित भएका ३३ वडाध्यक्षमध्ये अझै १६ जनाले खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयले जनाएको छ । महानगरका ४, ९, ११, १२, १३, १४, १६, २०, २२, २३, २५, २६, २८, ३१, ३२ का वडाध्यक्षले निर्वाचन खर्च अझै नबुझाएको सूचना अधिकारी न्यौपानेले बताए । कास्कीको अन्नपूर्ण गाउँपालिका निर्वाचित अध्यक्ष विष्णुबहादुर केसीले समयमा बुझाएपनि उपप्रमुख चन्द्रकला अधिकारीले पनि ढिला गरेर खर्च विवरण पेस गरेकी हुन् । पालिकामा अझै ४५ जना निर्वाचित र १ सय २३ जना पराजित उम्मेदवारले खर्च विवरण पेस गरेका छैनन् ।


माछापुच्छे« गाउँपालिकाका निर्वाचित अध्यक्ष मीनबहादुर गुरुङले निर्वाचन खर्च बुझाएका छैनन् । उपाध्यक्ष सीता अधिकारीले पनि समयमा बुझाएकी थिइनन् । गाउँपालिकामा निर्वाचित ३२ र पराजित १०७ जनाले अझै खर्च विवरण पेस गरेका छैनन् । मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले समयमै खर्च विवरण पेस गरेपनि उपाध्यक्ष कल्पना गुरुङले समयमै खर्च विवरण पेस गरिनन् । उनले असार १२ गते खर्च विवरण पेस गरेकी हुन् । मादीमा ३५ निर्वाचित र १०१ जना पराजितले अझै खर्च विवरण पेस गरेका छैनन् । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङले पनि समयमा खर्च विवरण पेस गरेनन् । उनीहरुले असार १२ गते खर्च विवरण पेस गरेका थिए । रुपा गाउँपालिकामा ३४ निर्वाचित र ६४ जना पराजितले अझै खर्च विवरण पेस नगरको निर्वाचन कार्यालयले जनाएको छ ।


—जम्मा उम्मेदवारः १३२७, निर्वाचितः ३७०, पराजितः ९५७
—खर्च विवरण नबुझाएकाः निर्वाचित २१८, पराजित ८२५
ढिला बुझाएकाः निर्वाचित ४८, पराजित १८

कास्कीका पालिकाहरुका प्रमुख, उप्रमुख उम्मेदवारले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण
उम्मेदवार पालिका पार्टी उम्मेदवारी दिएको पद बुझाएको खर्च विवरण


धनराज आचार्य पोखरा महानगर नेकपा एस मेयर ६,८५,४७९
कृष्ण थापा पोखरा महानगर नेकपा एमाले मेयर ६,६८,४८०
मञ्जुदेवी गुरुङ पोखरा महानगर नेकपा एमाले उपमेयर ६,७२, २४९
कोपिला रानाभाट पोखरा महानगर नेपाली कांग्रेस उपमेयर ६,८५,०००
विष्णुबहादुर केसी अन्नपूर्ण गापा नेकपा एमाले अध्यक्ष ३,२२,४००
चन्द्रकला अधिकारी अन्नपूर्ण गापा नेकपा एमाले उपाध्यक्ष ८७,३७२
नवराज ओझा रुपा गापा नेकपा एमाले अध्यक्ष १,९९,३१८
लालसुब्बा गुरुङ रुपा गापा नेकपा एमाले उपाध्यक्ष १,७०,५३८
देवीजंग गुरुङ मादी गापा नेपाली कांग्रेस अध्यक्ष १,४८,१२५
कल्पना गुरुङ मादी गापा नेकपा एमाले उपाध्यक्ष १,२७,५५०
सीता अधिकारी माछापुच्छ्रे गापा नेपाली कांग्रेस उपाध्यक्ष १,१०,७३०
मीनबहादुर गुरुङ माछापुच्छ्रे गापा नेपाली कांग्रेस अध्यक्ष बुझाउन बाँकी

स्रोतः निर्वाचन आयोगको पोखरा कार्यालय

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया