राष्ट्रपति–प्रधानमन्त्री द्वन्द्व र नजीर

मदन भण्डारी २०७९ भदौ १२ गते १२:५३

गणतन्त्रमा राष्ट्रपति सर्वोच्च संस्था हो । संसदले राष्ट्रपतिलाई अति उच्च सम्मान प्रदान गर्छ । नेपाली गणतन्त्रका प्रथम राष्ट्रपति र प्रधानमन्त्रीका बीच सुरुमै लाप्पा पर्‍यो । अखडाका पहलमानले झैँ राष्ट्रपतिले प्रधानमन्त्रीलाई पछारे । खैरे र खैरेनी सन बादिङ्का लागि फेवा किनारमा पल्टिँदा वा लोकमानले काली र गोरीलाई चेपेर हिँड्दा त मनोरञ्जन लाग्ने सर्वसाधारणलाई प्रधानमन्त्री पछारिँदा विस्मातको कुरै भएन, बरु रमाइलै लाग्यो । ९ महिना प्रधानमन्त्री रहँदा प्रचण्डले पूजारी फेर्न सकेनन् । जनपक्षीय काममा माखो मारेनन् । प्रदीप गिरी भर्खरै बिते । उनी भन्थे, ‘राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा सहमति नहुँदा प्रचण्ड वहिर्गमनमा परे ।

Advertisement

गठबन्धन राष्ट्रपतिलाई एक्ल्याएर चक्रव्यूहको अभिमन्यू बनाउने दाउ गर्दै छ

हाम्रो संसदमा ब्वाँसा र चितुवा छन् !’ यी ब्वाँसा र चितुवा आज फेरि राष्ट्रपतिको हुर्मत लिन खोज्दै छन् । संसद र संविधानवाद बेलायतले विश्वलाई दिएको सर्वोत्कृष्ट उपहार मानिन्छ । त्यहाँको संसद र गौरवमय क्रान्ति उल्लेख्य छ । अमेरिकी राष्ट्रपतिहरुले उच्च मानवका छवि बनाएका छन् । हाम्रै छिमेकी भारतका प्रथम प्रधानमन्त्री नेहरु निकै विवादमा परे तर प्रथम राष्ट्रपति राजेन्द्रप्रसाद अत्यन्त सम्मानित छन् । सन् १८८४ मा जन्मेका राजेन्द्रप्रसाद सानैदेख बिहान सबेरै उठेर आमाको भजनकीर्तन सुन्थे । १३ वर्षको कलिलो उमेरमै बिहेको बन्धनमा बाँधिएका उनलाई श्रीमतीको सम्पूर्ण प्रेम प्राप्त भयो । १९१५ मा एलएलएममा उनले स्वर्ण पदक पाए । पिएचडी गरे । १९२७ मा उत्तर प्रदेशीय हिन्दी साहित्य सम्मेलनका सभापति बने ।

गणतन्त्र भारतको प्रथम राष्ट्रपति हँुदा स्वतन्त्रता प्रेमको उदाहरण दिए । भारतकै प्रथम महिला राष्ट्रपति प्रतिभा पाटिलले पनि उज्ज्वल कीर्तिमान राखिन् । १९३४ मा जन्मेकी प्रतिभाको प्रतिभा र बाह्य सौन्दर्य दुवै चर्चित छ । कलेजमा तिनले ‘कलेज क्लिन’ को उपाधि जितेकी थिइन् । २००७ मा आफ्ना प्रतिद्वन्द्वीलाई ३ लाख भोटले उछिनेर तिनी राष्ट्रपति बनेकी थिइन् । प्रतिभा पाटिल संसारकै महिला आदर्श मानिन्छन् । त्यो प्रभावलाई हालकी राष्ट्रपति द्रौपदी मुर्मू सहर्ष स्वीकार्छिन् । एमाले चोइटिँदा एउटी गधिनी जोडले कराई, कुलक्षण देखियो; अहिले रुँदैछे भन्दै केपी ओलीलाई हाउगुजी देख्नेहरु विद्याको थाप्लोमा दोष थोपर्दै छन् ।

गठबन्धन सरकार र उसको प्रचार संयन्त्र नागरिकता विधेयक र अध्यायदेशलाई एउटै बताउँदै छन् । पहाडे र मधिसेका रुपमा जनतालाई भाँड्न खोजिँदै छ । सँविधानको धारा ६१(३) अनुसार राष्ट्रपतिले नै नेपाली एकताको प्रवर्धन गर्नुपर्छ । गठबन्धन उनै राष्ट्रपतिलाई एक्ल्याएर चक्रव्यूहको अभिमन्यू बनाउने दाउ गर्दै छ । मदन भण्डारीको निधनका बेला नेपाली जनताले विद्या भण्डारीमाथि ह्वात्तै समानानुभूति खन्याए । सन्त नेता कृष्णप्रसाद भट्टराईलाई चुनाव हराए, विद्यालाई जिताए । जनताको त्यही गुणले अहिले राष्ट्रपति विद्या भण्डारीमा दायित्ववोध देखिँदै छ ।

Advertisement

नागरिकता विधेयक संविधानको धारा ११३(३) अनुसार सन्देशसहित फिर्ता गरिनु यसको प्रष्ट प्रमाण हो । नेता गण एउटा अपराधलाई अर्को अपराधले छोप्छन् । एउटा राष्ट्रघातलाई अर्को ठूलो राष्ट्रघात गरेर अघिल्लोलाई बिर्साउँछन् ।
नागरिकता विधेयक सँगसँगै अहिले ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’ अघि सारिँदै छ । ‘द्वन्द्वकालीन अवस्थामा गिरफ्तारपछि बलत्कार र हत्या गर्ने कुकाम दुवै पक्षले गरेका छन् !,’ खगराज अधिकारी टिप्पणी गर्छन्, ‘द्वन्द्वका घाउमाथि नूनचूक छर्ने चोचोमोचोप्रति हाम्रो गम्भीर आपत्ति छ !’ अपशोच, प्रमुख प्रतिपक्षीको फितलो गम्भीरताकै कारण चितवनमा रेणु दाहालले दुई चोटि चुनाव जितिन् । संसदमा मूसो समातिएन । अझै एमालेले प्रचण्डसँग कानेखुसी गरिरहेको भन्ने समाचार आइरहेकै छन् ।

केपी ओली/एमालेसहितको वाम गठबन्धन सम्भव छ भनिँदै छ । यसो हुँदा राष्ट्रघात र सारा भ्रष्टाचारका मुद्दा काले काले मिलेर खाउँ भाले हुन्छ । छविलाल दाहाल भन्छन्, ‘प्रचण्ड र बाबुराम एकै ठाउँ उभिनुले ठूलो अर्थ राख्छ !’ हो, बबुरा बनेका बाबुरामले क्यान्टोन्मेन्ट भ्रष्टाचारका कुरा अब उठाउँदैनन् । १२ बुँदेका डिजाइनर विदेशी मालिकका अरु आदेश पक्कै पालना गरिनेछन् । यस्तै अँध्यारो फैलिँदा राष्ट्रपतिको हातबाट दीयो बालिएको छ । निष्पट्ट अँध्यारोमा दीयोको उज्यालो मोहक देखिँदै छ । राष्ट्रपतिको इतिहास, द्वन्द्व र नजीर जनताका स्मृतिमा खेल्दै छन् ।

प्रचण्डद्वारा पिता भन्न थालिएका गिरिजाप्रसाद कोइरालालाई सत्ताको, राजालाई पत्ताको र प्रचण्डलाई भित्ताको राष्ट्रपति भनियो । गिरिजालाई नोबेल शान्ति पुरस्कार र प्रथम राष्ट्रपतिको ललिपप देखाइयो । कांग्रेसीहरु गमक्क परे । उस्तै आश्वासन पाएका एमाले पनि फुलेल थियो । चुनावको केही क्षणअघि मात्रै रामराजाप्रसाद सिंहलाई उम्मेद्वार खडा गरेर कांग्रेस–एमाले दुवैलाई माओवादीले लोप्पा देखायो । त्यति खेरका मिडियाले प्रशस्त उल्लेख गरेका छन्, झलनाथ खनाललाई १०३ डिग्री ज्वरो आया रे ।
‘तिमी उठ !,’ उदास गिरिजाले रामचन्द्र पौडेललाई भनेछन् । ‘हार्ने चुनाव उठदिनँ !,’ बोकोको मुखमा कुभिण्डो अटाएनछ । ‘हुन्छ…!’ डा. रामवरण यादवले गिरिजाको आदेश पालन गरेरै बाजी मारे ।

प्रचण्डको सत्ता कब्जाको सपना तुहाइदिए । समय क्रममा केपी शर्मा ओली नेपालीका चतुर खेलाडी निस्के । विद्या भण्डारी २ कार्यकाल गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति भइन् । कार्यकालको अन्त्यमा गठबन्धन सरकार भ्यागुताको धार्नी पुर्‍याउन महाअभियोगको अस्त्र उचाल्दै छ । नेपाली जनताका आँखा राष्ट्रपतितिर एकोरिएका छन् । ‘भागो नहीँ दुनियाको बदल डालो !,’ राहुल सांकृत्ययान हाम्रा राष्ट्रपतिले पक्कै पढेकी छन् । नालापानीका नेपाली वीरांगनाको इतिहास विश्व चर्चामा छ ।
गुणगत सौन्दर्यले रुपगत सौन्दर्यमा निखार ल्याउँदो रहेछ । बिपी कोइरालाले आफ्नी अर्धाङ्गिनीको रुपलाई सुरुमा हियाएका थिए ।

साथीका अगाडि धाक लाउन सकेनन् । पछि, राजाद्वारा प्राप्त उपहारसमेत फिर्ता गर्न सुशीला मञ्जुर भइन् । साथीहरुले सुशीलाको रुपको पनि अघोर प्रशंसा गरे । बल्ल बिपीले सुशीलाको रुपलाई ठम्याए । प्रतिभा पाटिलभन्दा हाम्री राष्ट्रपति कम्ती छैनन् । देशभक्तिको अडानले उहाँको आभा मण्डल चम्केको छ । तिजमा गीत गाइँदैछ– तिम्रै शिरोभर, राष्ट्रपतिले जे गर ।
नेपाली राजनीतिक पार्टीहरु खुम्चिँदै काँग्रेस र एमालेमा सीमित भएका छन् । बिचरो कांग्रेस माओवाद नामको बैशाखी नटेकी उभिनै नसक्ने भइसक्यो । एमाले पनि लहरे बिरुवाले थाँग्रा खोजेझैँ गर्दैछ । यस्तो बेला महामहिम राष्ट्रपतिज्यूले पूर्व राष्ट्राध्यक्ष र पूर्व राष्ट्रपतिकै नजीर समाउनुहुनेमा ढुक्क हुन सकिन्छ ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया