डाक्टरले भने, यस्तै भए डाक्टर बेरोजगार हुन्छन्
रिखिराम जिसी ।
पोखरा
तेल यतिमा किन्छौ, यतिमा बेच भन्छौं । कालोबजारी भन्छौ । राज्यले ट्युसन फि तोक्ने तर डाक्टरको फि नतोक्ने, डाक्टरको तलब नतोक्ने यो अजीव व्यापार छ । यो व्यापार कहिलेसम्म सहने ?
डा अनिलकुमार कार्कीले प्रश्न उठाए । उनी पोखरामा आइतबार कांग्रेस निकट प्रजातन्त्रवादी चिकित्सक संघको गण्डकी प्रदेश अधिवेशनमा बोल्दै थिए । संघका केन्द्रीय अध्यक्ष डा कार्कीले प्रश्नमात्र उठाएनन्, ४६ सालपछि सरकारमा कांग्रेस रहँदा पनि राज्यको हेर्ने नीति फरक नभएको आरोपसमेत लगाए ।
‘डाक्टर पढ्न ६० लाख खर्च लाग्छ, ६६ महिना पढ्नुपर्छ तर राज्यले कति दिन्छ ? ४२ हजार रुपैयाँ ! नेपाल सरकारको आजको तलब, कराउँदा कराउँदा हामी ठूलो भइसक्यौं, हाम्रा अग्रज बूढा भइसके तर हाम्रो राज्यको हेर्ने नीति फरक भएन,’ अध्यक्ष कार्कीले भने, ‘दुःखका साथ भन्नुपर्छ यही क्रममा हो भने हामीले आएल्स, कमर्स जस्ता अरु पढ्दा खेरि जुन बेरोजगारी हुने थियो अब मेडिकल साइन्समा त्यो अवस्था आउँदैछ ।’
मुलुकले डाक्टरलाई पिट्नबाहेक नजानेको अध्यक्ष कार्कीले दुखेको पोखे । ‘कुनै पनि राजनीतिक आन्दोलनमा सेतो कोट ननिस्किकन त्यो राजनीतिक आन्दोलन सफल भएको छैन,’ उनले भने, ‘तर २००७ सालबाट ०७९ सम्म यो मञ्चमा बसिराख्दा खेरि एउटा डाक्टर नेपाली कांग्रेस होस् या अन्य राजनीतिक दलले होस् राष्ट्रियसभामा यो डाक्टरले मुलुकको सेवा गर्यो भनेर पठाएको छैन । यो मुलुकले पिट्नबाहेक जानेन, पेटमा पिट्ने कि, टाउकोमा पिट्ने कि, जसरी नि पिट्नेमात्रै, कसरी पिट्ने जसरी पिट्ने पिट्ने !’
सधै डाक्टरलाई मुखले विशिष्ट बनाएको कार्कीको गुनासो छ । ‘आफूलाई पर्यो डाक्टरसाब, हामीले २४ घण्टा फोन उठाउनुपर्छ कसैको पनि, हामीलाई पर्यो भने फोन दोस्रोचोटि उठ्दैन,’ उनले भने, ‘हामीले व्यवहारमा पनि डाक्टरलाई विशिष्ट हो है भन्ने कहिल्यै महसुस गराएनौं ।’
कार्यक्रममा सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चिकित्सकहरुले दलको झण्डा बोकेर होइन कि नरम व्यवहारबाट पहिचान स्थापित गर्नसक्नुपर्ने बताए । नीति निर्माण तहमा सबै वर्ग, समुदाय र पेसागत क्षेत्रको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै उनले चिकित्सकहरुलाई पनि पार्टीले यस्ता विषयमा समेट्दै लैजाने प्रतिबद्धता जनाए । कार्यथलोमा चिकित्सकहरुमाथि हुने दुव्र्यवहार, न्यून वेतनको समस्या, चिकित्सा विज्ञान अध्ययन महँगो बन्दै गएको प्रति आफू जानकार रहेको भन्दै यी समस्या निराकरणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले शिक्षा र स्वास्थ्य निशुल्क गराउन पार्टी प्रतिबद्ध रहेको बताए । पार्टीको शीर उच्च बनाउने गरी काम गर्न आग्रह गर्दै चिकित्सकहरुले खेप्दै आएका झण्झट समाधानका लागि आफूहरु चिन्तित रहेको भनाइ राखे । चिकित्सा विज्ञान आफैमा भौतिकवादी भए पनि त्यसलाई व्यवहारमा उतार्नका लागि आध्यात्मिक शक्ति प्रयोग गर्न आग्रह गरे ।
संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । २०६८ स्थापित संस्थाको संस्थापक सभापति डा. केदारनरसिंह केसी हुन् । यो संस्थाबाट ५ जना महाधिवेशन प्रतिनिधि र ३ जना महासमिति सदस्य नेपाली कांग्रेसका लागि चयन हुने प्रावधान छ ।
तपाईको प्रतिक्रिया