लामाचौर कप भलिबलमा एपिएफको विजयी सुरुआत

पोखरा ।
२४ औं संस्करणको लामाचौर तीज महोत्सव २०७९ अन्तर्गत लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता जारी छ । आइतबार पुरुष राष्ट्रिय भलिबलमा सशस्त्र प्रहरी बल एपिएफले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटले पराजित गरेको छ ।
पहिलो सेटमा २०–२५ मा पराजित भएकोमा एपिएफले उत्कृष्ट पुनरागमन गर्दै पछिल्ला सेट आफ्नो पक्षमा पारेको हो । एपिएफले २५–१९, २५–२२ र २५–१९ मा मणिमुकुन्दलाई हराएको हो । आइतबार नै त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशको टिमबीचको खेल भने लाइट प्रोटेस्टका कारण १ सेट सकिएपछि स्थगित भयो । स्थगित खेल सोमबार बिहान फेरि हुने भलिबलकी राष्ट्रिय रेफ्री शान्ति गुरुङले जानकारी दिइन् ।
यसअघि शनिबारको नेपाल पुलिस र मणिमुकुन्दबीचको खेलमा भने नेपाल पुलिसले ३–१ सेट जित हासिल गरेको थियो । सोमबार महिला र पुरुषतर्फ गरी कुल ४ खेल हुने छन् । पुरुषतर्फ पहिलो खेल आर्मी र गण्डकी, दोस्रो खेल एपिएफ र नेपाल पुलिसबीच हुनेछ भने महिलातर्पm पहिलो खेल नेपाल पुलिस र गण्डकी तथा अर्को खेल न्यु डायमण्ड र त्रिभुवन आर्मीबीच हुनेछ ।
अविरल वर्षाका कारण निर्धारित खेल तालिका पर सरेको छ । विगतमा महिला भलिबल मात्र हुँदै आएकोमा यसपालि पुरुष राष्ट्रिय भलिबल पनि थपिएको हो । खेल लामाचौरको ईन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा भएको छ । प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका छन् ।
महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् भने पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिएको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले बताए ।
महिला पुरुष दुवै तर्फका विजेताले १ लाख ५० हजार १ सय ११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ ।
तपाईको प्रतिक्रिया