पवन र अर्जुन प्यानलसहित घरदैलोमा

पोखरा ।
पोखराका उद्योगी, व्यवसायीलाई पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिवेशन लागेको छ । अहिले नेतृत्वका लागि २ प्यानल उम्मेदवारसहित घरदैलोमा छन् । अध्यक्षका प्रत्यासी पवनकुमार प्रजापतीको समूहले आइतबार महेन्द्रपुल क्षेत्रमा घरदैलो गरेको छ । घरदैलोका क्रममा व्यवसायीले पार्किङ व्यवस्थापनको विषय उठाए ।
पटक पटक पोखरा महानगरपालिका र ट्राफिक व्यवस्थापनसँग छलफल गर्दा पनि समस्या समाधान नभएको भन्दै उनीहरुले सो समस्या सुल्झाउन आग्रह गरे । प्रजापतीले आफ्नो प्यानलमा सबै खाले उद्योगी, व्यवसायी रहेकाले आफ्नो प्यानल समावेशी रहेको दाबी गरे । अध्यक्षका अर्का उम्मेदवार अर्जुन पोखरेल नेतृत्वको समूहले चाउथेबाट घरदैलो सुरु गरेको छ ।
उम्मेद्वारसहितको टोलीले खसीबजार र आसपासका क्षेत्रमा व्यवसायीसँग भेटेर भोट दिन आग्रह गरेको हो । पोखरेलले आफ्नो समूहले जिते उद्योग वाणिज्य संघको विरासत कायम गर्दै थप परिस्कृत गर्नका लागि लाग्ने प्रतिवद्धता गरे । ‘समस्या धेरै छन् । सरकारसँग पहल गर्नुपर्नेदेखि हामीभित्रै सम्बोधन गर्नुपर्ने विषय पनि छन्,’ उनी भन्छन्, ‘संघलाई सम्मानित बनाउने र व्यवसायीलाई समुन्नत बनाउन दिनरात खट्ने छौं ।’
पदाधिकारी र सदस्य सहितको भएको घरदैलोका क्रममा उद्योगी, व्यवसायीले आफ्ना समस्या सुनाएका थिए । बैंकले ब्याज बढाएकोदेखि सरकारले बढी कर लिएकोसम्म उनीहरुको गुनासो छ । पोखरेलको प्यानलले उद्योग वाणिज्य संघलाई बहुतले बनाएर किसान बजार चलाउनेदेखि भवनबाट आम्दानी गर्नेसम्म योजना ल्याएको छ । उनको समूहबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् ।
यस्तै, सदस्यमा भरत केसी, कृष्णप्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलीपकुमार श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् ।
तपाईको प्रतिक्रिया