लोक दोहोरी व्यवसायीमा जीवन

समाधान संवाददाता २०७९ भदौ १३ गते ११:३८

पोखरा ।
पोखरा लोक दोहोरी रेस्टुरेन्ट व्यवसायी संघको तेस्रो जिल्ला अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्ष जीवन गुरुङको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा वीरेन्द्र केसी, सचिव दिलु लामा (दिलकुमारी मोक्तान), कोषाध्यक्ष विष्णुबहादुर गुरुङ र सहसचिव सञ्जु थापामगर छन् । संघका सदस्यमा बबिता कार्की, विष्णु आचार्य, कविर गुरुङ, सुरज शाह ठकुरी, दिनेश केसी र दिप्सन गुरुङ (दीपक) छन् ।

Advertisement

संघमा पोखरामा रहेका २६ लोक दोहोरी रेस्टुरेन्ट व्यवसायी आवद्ध छन् । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पदमराज ढकाल रोधीको परिवर्तित रुप दोहोरी भएको बताए । ‘लोक गीतको प्रवद्र्धन र कलाकारको संरक्षण सम्बद्र्धनमा रेस्टुरेन्टको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘कलाकारको जीविकोपार्जन र लोकदोहोरी भाका समेत संरक्षणमा टेवा पुगेको छ ।’

वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले दोहोरी साँझले संस्कृति जोगाएकाले सरकारले नै सम्मान गर्नुपर्ने आवश्यकता औंल्याए । कलाकारको जीवन यापनामा दोहोरी साँझले सघाएको उल्लेख गर्दै उनले कलाकारको योग्यता र क्षमताको कदर हुनुपर्ने बताए । लोक दोहोरी व्यवसायलाई लागेको कोरोनाको उपचार नभएको उल्लेख गर्दै उनले संगठन रहे नै अस्तित्व रहने चर्चा गरे ।

Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले दोहोरी साँझमा काम गर्दा गर्व हुने बताए । दोहोरी साँझ मर्यादित पेशा भएकाले अहिले काम गर्नेलाई हेर्ने दृष्टिकोण फेरिएको र अझै परिवर्तन हुन आवश्यक भएको उनले उल्लेख गरे । उनले दोहोरी साँझमा अmझै पनि केही विकृति भए सुधार्न व्यवसायी चनाखो हुनुपर्ने उनको सुझाव छ ।

‘दोहोरीलाई फोहोरी हुनबाट जोगाउनु पर्छ । दोहोरी साँझको कर्मलाई व्यवसायिक बनाउन आवश्यक छ,’ अध्यक्ष गुरुङले भने, ‘कलाकारलाई स्थिर बनाउन दोहोरी व्यवसायीले समस्या बुझ्न आवश्यक पर्छ । दोहोरी साँझ खोल्नुभन्दा पनि निरन्तरता दिनु ठूलो कुरा हो ।’

पोखरा लोक दोहोरी रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले २०७० साल भदौमा विधिवत स्थापना भएको संघले लकडाउनको अवधिमा २ सय कर्मचारीलाई राहत वितरण गरेको जानकारी दिए । व्यवसाय सञ्चालन गर्दा दीर्घकालीन सांच आवश्यक पर्ने उल्लेख गर्दै उनले संघले चाणक्य नीति अन्तर्गत कुरामा भन्दा पनि काममा ध्यान दिनुपर्ने विचार राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमितिका सदस्य सन्तोष बस्याललाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया