राष्ट्रिय खेलकुदलाई भातृ संगठनहरुले सघाउने
पोखरा ।
गण्डकी प्रदेशमा आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन विभिन्न राजनीतिक दलका खेलकुदसंवद्ध भातृ संगठनहरुले प्रतिवद्धता जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार पोखरामा आयोजना गरेको सामूहिक भेलामा उनीहरुले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् ।
नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले वैचारिक आस्था जे भए पनि नवौं राष्ट्रिय सफल बनाउनु सामूहिक उत्तरदायित्व भएको बताए । उनले भने, ‘नवौं राष्ट्रिय सबै नागरिक र खेलप्रेमीको साझा कार्यक्रम भएकाले यसलाई सफल बनाउनुसमेत साझा जिम्मेवारी हो ।’
नेपाल खेलकुद महासंघ (समाजवादी)का पूर्ण लामाले नवौं सफल बनाउन सबैको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको जनाए । उनले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन पोखरा महानगर पालिकाको समेत सहयोगको खाँचो औंल्याए । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका सचिवालय सदस्य रामचन्द्र गिरीले खेलकुद सबैको साझा र समानुपातिक अवधारणामा अघि बढ्ने बताए ।
४० वर्षपछि गण्डकीमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद सफल बनाउन खेलकुद महासंघले सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘हामी नवौं राष्ट्रिय खेलकुद सफल बनाउन यहाँ जुटेका छौं, यसले पनि समाजमा उत्कृष्ट सन्देश प्रवाहित हुनेमात्रै नभई सबै नवौं सफल बनाउन साझा रुपमा अघि बढ्नेछन्,’ उनले भने ।
नेकपा माओवादी निकट अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका जीवन खातीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लगायतका विगतमा भएका खेलकुदमा भएका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । उनले भने, ‘हामीले खेलकुदलाई साझा रुपमा बुझ्न आवश्यकमात्रै छैन, साझा कार्यक्रमका साथ अघि बढ्न पनि उत्तिकै जरुरी छ ।’
प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव तेजबहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासाझा कार्यक्रम र दायित्व भएको बताए । ‘हामी यति बेला जिल्ला जिल्लामा खेलाडी छनोट प्रक्रियामा छौं । यहाँहरुको सहभागिताले नवौं सफल बनाउन ठूलो सहयोग हुनेछ,’ उनले भने ।
कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिलबहादुर गुरुङ र तारामाया थापामगर, अखिल नेपाल खेलकुद महासंघ गण्डकी संयोजक बलराम सुवेदी, लोकतान्त्रिक खेलकुद गण्डकी उपाध्यक्ष विद्या मर्सानी, नेपाल खेलकुद महासंघ गण्डकी सहसचिव बोधराज गिरी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया