मानव सेवा आश्रम हेमजालाई सहयोग

समाधान संवाददाता २०७९ भदौ १३ गते १२:१५

पोखरा ।
ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्की शान्ति आश्रमले आज मानव सेवा आश्रम हेमजामा खाद्यान्न तथा नगद सहयोग गरेको छ । समाजद्वारा सञ्चालित चूडामणि वसन्धरा हरिप्रसाद किरण ओझा स्मृति सम्मानबाट प्राप्त रकम २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री र कार्यक्रमका सहभागीले संकलन गरेको नगद २० हजार २ सय ५० मानव सेवालाई प्रदान गरिएको हो ।

Advertisement

समाजका संस्थापक अध्यक्ष स्व हरिप्रसाद किरण ओझाको नाममा उनको परिवार जनबाट २ लाख २ हजार १ सय १ को अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट प्रत्येक वर्ष विभिन्न सामाजिक संघ, संस्थालाई सम्मान गरिँदै आएको छ ।
कुसे औंसी (बाबुको मुख हेर्ने) दिवसको अवसरमा हेमजा आश्रममा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठले मानव सेवा आश्रम कास्कीका प्रमुख सदिस पुनलाई खाद्यान्न र नगद हस्तान्तरण गरे ।

आकाशलाई छानो र सडकलाई घर बनाउँदै कष्टकर जीवन बिनाउन वाध्य सडक मानवको खाना, नाना र छानाको व्यवस्थापन गरेर आश्रमले पुण्य कार्य गरेको बताउँदै अध्यक्ष श्रेष्ठले यस्ता कार्यमा सबैको साथ र सहयोग हुनुपर्ने आवश्यकता औंल्याए ।
आश्रमका जिल्ला प्रमुख सदिस पुनका अनुसार पोखरा १७ छोरेपाटन र हेमजामा १ सय ६० जना समाजका असहाय, अनाथ र सडक मानव र १६ जना सेवक सेविका आवद्ध छन् ।

पोखरा २५ हेमजा वावियातरास्थित ६३ रोपनी जग्गामा एक अर्बको गुरुयोजना अनुसार आवास भवन सहितका बिभिन्न भौतिक संरचना निर्माण भइरहेका छन् । उनले खानाभन्दा पनि औषधी उपचारमा बढी खर्च हुने गरेको जनाए । कार्यक्रममा अक्षयकोषदाता सूर्यप्रसाद ओझा र शोभा गैरे, संमाजका उपाध्यक्ष केशवप्रसाद ढकाल, सचिव इच्छाबहादुर वाग्ले, कोषाध्यक्ष रामजी कोइराला, पत्रकार हरिप्रसाद बास्तोला लगायतले सामाजिक एवं मानवीय सेवामा समर्पित आश्रमको सहयोग गर्दा पुण्य प्राप्ति हुने विश्वास व्यक्त गरे ।

यस्तै, चापाकोट नगरपालिका ३ का माइक्रो बसका चालक एमन सारुले आफ्ना स्वर्गीय बुवा मनबहादुर सारुको स्मृतिमा हेमजास्थित मानव सेवा आश्रमलाई १ हजार ५ सय ५ रुपैयाँ नगद प्रदान गरेका छन् । आश्रमको सहयोगका लागि खाद्यान्न ढुवानी गरी त्यहाँ पुगेका उनले सधै सडकमा देखिने अनुहार आश्रममा आश्रित भएको देख्दा खुसी लागेको सुनाए । सो अवसरमा कार्यक्रममा सहभागी बन्न पोखराबाट हेमजा पुगेकाबाट २० हजार २५० संकलन भएको थियो । संकलित रकम आश्रमका जिल्ला प्रमुख पुनलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया