राष्ट्रिय खेलकुदः ३३ खेलका लागि स्थलको टुंगो लाग्याे
पोखरा ।
नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल व्यवस्थापन उपसमितिले ३३ वटा खेलको खेल स्थल टुंगो लगाएको छ । सोमबार प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङको ‘भेन्यु’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति उपसमिति संयोजक राजेशकुमार गुरुङले यस्तो बताएका हुन् ।
उनले प्रतियोगितामा समावेश विभिन्न ३३ खेलका लागि उपयुक्त खेल मैदानसहित अभ्यास स्थलको टुंगो लगाइसकेको जानकारी दिए । उनले भने, ‘हामीले ३३ वटा खेलको खेलस्थल र अभ्यास मैदानको टुंगो लगाएका छौं । यसमा सदस्य सचिव, टेक्निकल टोलीसहित खेल पदाधिकारी बसेर केही दिनमै सार्वजनिक गर्नेछौं ।’
प्याराग्लाङडिङका लागि कास्कीसहित स्याङ्जा, तनहुँ लगायतका जिल्लामा सम्भावित ‘स्पट’को अवलोकन गरिएको छ । उनले खेलस्थलको औपचारिक जानकारी भने केही दिनमा पत्रकार सम्मेलनमार्फत दिइने बताए । उनले प्रतियोगिता सञ्चालका लागि उक्त स्पटमा विभिन्न पूर्वाधारको आवश्यकता रहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य वसन्तराज दवाडी र प्याग्लाईडिङ प्रशिक्षक योगेश भट्टराईलाई आग्रह गरे ।
सरकारले प्याराग्लाईडिङसहित अन्य खेलमा पर्याप्त रकम विनियोजन गर्न नसकेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकी अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य वसन्तराज दवाडीले गुनासो गरेका छन् । दवाडीले प्याराग्लाइडिङ मंहगो खेल भएकाले सरकारले प्रयाप्त रकम दिन नसक्ने जनाए ।
‘सरकारलाई प्याराग्लाइडिङ खेल हो भन्ने बुझाउन हामीलाई २० वर्ष लाग्यो । ढिलै भए पनि सरकारले बुझ्यो त्यसमा हामी खुसी छाैं,’ उनले भने । प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराईले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ पोखरामा सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् ।
सराङकोट र तोरीपानीबाट व्यवसायिक प्याराग्लाईडिङ उडान हुँदै आएको पोखरामा टेक्निकल हिसाबले पनि प्रतियोगिता सराङकोटबाट सञ्चालन गर्नु उपयुक्त भएको उनले बताए । विभिन्न जिल्लाबाट छनौट भएका प्याराग्लाइडिङ खेलाडीहरुले भदौ १६ गते देखि १८ गतेसम्म पोखरामा हुने प्रदेश स्तरीय छनोटमा सहभागिता जनाउने छन् ।
तपाईको प्रतिक्रिया