देशभरका थकाली मुस्ताङमा

समाधान संवाददाता २०७९ भदौ १५ गते १०:४९

जोमसोम ।
थकाली सेवा समिति नेपाल¬ (केन्द्र)को १३ औ महाधिवेशन मुस्ताङको थाक सात सय क्षेत्रको कोवाङमा मंगलबारबाट सुरु भएको छ । थकाली सेवा स्थापनाको ३९ वर्षपछि चारचन थकालीको पुख्यौली थलो थाकसात सय क्षेत्रमा दोस्रो पटक महाधिवेशन हुँदै छ ।

Advertisement

महाधिवेशनमा सहभागी हुन देशभरका १८ क्षेत्रका थकाली सेवा समितिका प्रतिनिधि यतिबेला कोवाङ आएका छन् । थकाली सेवा समितिका विदेशमा पनि ३ क्षेत्र छन् । समितिका स्वदेश तथा विदेशमा २१ क्षेत्र छन् । जसको अगुवाई थकाली सेवा समिति नेपाल (केन्द्र)ले गर्ने गरेको छ ।

समितिको ३ वर्षे कार्यकालका नेतृत्व चयन हुनेछ । महाधिवेशनले सकभर सर्वसम्मत नभए निर्वाचनको माध्यमबाट अध्यक्ष चयन गर्नेछ । अध्यक्ष चुनिएपछि अध्यक्षले नै ३० देखि ३५ सदस्यीय कार्यसमिति मनोनयन गर्ने छन् । ३ दिनसम्म चल्ने महाधिवेशनले थकाली समुदायको उत्थान र विकासका लागि विभिन्न एजेन्डामा छलफल र योजना निर्माण गर्ने बताइएको छ ।

Advertisement

महाधिवेशन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे । प्रदेश प्रमुख शेरचनले थकाली समुदायको मुख्य पहिचान थकाली भाषा, संस्कृति, सभ्यता भएको उल्लेख गरे । पछिल्लो समय आधुनिकतासँगै थकाली भाषा र संस्कृति संकटमा पर्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । थकाली समुदायको उत्थान र विकासमा भाषा र संस्कृतिको संरक्षण गर्न थकाली समुदाय एकीकृद्ध हुनुपर्नेमा उनले जोड दिए ।

प्रदेश प्रमुख शेरचनले २०६२/०६३ को आन्दोलनको जगले नै आदिवासी जनजातिको हकअधिकार र स्वतन्त्रता ग्यारेन्टी भएको बताए । शेरचनले विगतमा थातथलो मुस्ताङमा गरिखाने सम्भावना नभएकै कारण थकालीहरुले मुल थलो छोडेर व्यवसायिक प्रयोजनमा देशभरमा छरिएर बस्नुपर्ने बाध्यता आइपरेको स्मरण गरे । विगतमा सम्भावनाको ढोका बन्द हुँदा पयालयन भएका थकालीहरु विकाससँगै थातथलोमै फर्किन सक्ने सम्भावना उनले औंल्याए ।

Advertisement

‘मुस्ताङमा युरोनियमको भण्डार छ, नूनखानी र ग्यास जस्ता खनिजको सम्भावना छ,’ प्रदेश प्रमुख शेरचनले भने, ‘खनिज उत्खनन् र कोरला नाका हुँदै चीनसँग व्यापारिक मार्ग विस्तार भए मुस्ताङमा कायापलट हुन्छ ।’ सांसद प्रेमप्रसाद तुलाचनले आफू सांसद भएको ५ वर्षमा दशकौंदेखि अधुरा रहेका काम पूरा गरेको दाबी गरे । उनले बाँझो जग्गामा सिँचाइ, पर्यटकीय क्षेत्रको विकास, सडक, शिक्षा, सञ्चार, करिडोर सडक, शाखा सडक विस्तारका लागि बजेट माग गरेर जिल्लाको विकासमा योगदान गरेको जनाए । सांसद थकालीले उपल्लो मुस्ताङको चराङमा विमानस्थल बनाउन पहल गरेपनि सफल हुन नसकेको सुनाए ।

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति र ट्र्याक खोल्ने काम भइरहेको उनले जनाए । गुरुसाङ्वो गुफा, सेकेङ ताल र टिटी ताललाई पर्यटकीय हब बनाउन ५ करोड विनियोजन भई काम भइरहेको उनको भनाइ छ । गण्डकी प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले इतिहास नरहे अस्तित्व नरहने उल्लेख्य गर्दै आफ्नो पुख्र्यौली थलोमा महाधिवेशन हुनु मुस्ताङकै लागि गौरवको बिषय भएको बताए । महाधिवेशन संयोजक कृष्णकुमार शेरचनले समितिले केन्द्रको विकासमा मात्र नभई पुख्र्याैली थालोका विकासमा पनि ध्यान दिनुपर्ने सुझाए ।

उद्घाटन सत्रमा थकाली सेवा समितिकी केन्द्रीय उपाध्यक्ष शान्ति तुलाचन, थकाली मिर मुखिया ज्वाहर भट्टचन, थकाली युवा परिवारका अध्यक्ष योगेन्द्र शेरचन, थकाली महिला परिवारकी अध्यक्ष रिना भट्टचन, थकाली सेवा समिति(केन्द्र)का सल्लाहाकारद्वय सोमप्रसाद गौचन, ज्योति शेरचन र नरेन्द्रकुमार भट्टचन लगायतले बोलेका थिए । समारोहमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन सम्मानित भए । थकाली सेवा समितिमा आवद्ध स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रमुख शेरचन, संघीय सांसद प्रेमप्रसाद र केन्द्रका अध्यक्ष सोमप्रसाद तुलाचनले सम्मान गरे ।

महाधिवेशनमा बेनी जोमसोम सडकमा योगदा गर्ने ईन्द्रसिंह शेरचन, भूपी स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्त शेरचन र थकाली सेवा समितिका अक्षयकोषदाता गोपालनारायण भट्टचनलाई सम्मान गरिएको छ । एसइईमा उत्कृष्ट अंक हासिल गर्ने साइमन शेरचन (पोखरा क्षेत्र), विकी गौचन(पोखरा क्षेत्र) र जेनिशा शेरचन (काठमाण्डौं) लाई संस्थाले नगदसहित सम्मान गरेको छ ।

यसअघि महाधिवेशनमा सहभागी हुन आएका १८ क्षेत्रका थकालीले मौलिक भेषभूषामा सजिएर र्‍याली निकालेका थिए । र्‍यालीले थाक सात सय क्षेत्रका कोवाङ, लाजुङ र खन्ती गाउँ परिक्रमा गरेको थियो ।

तपाईको प्रतिक्रिया