मालेपाटनमा तीज विशेष कार्यक्रम

समाधान संवाददाता २०७९ भदौ १५ गते १२:४९

पोखरा ।
हरितालिका तीजको अवसरमा सूर्यचन्द्र विकास समाज पोखरा ५ ले आठौं मालेपाटन तीज गीत प्रतियोगिता तथा महिला खेलकुद प्रतियोगिता गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ वडा कार्यालयको सहकार्यमा बाराही खेल मैदानमा समाजले भदौ १२ देखि १४ गतेसम्म ती प्रतियोगिता गरेको हो ।

Advertisement

तीजगीत प्रतियोगितामा धारापानी आमा समूह पोखरा ५ प्रथम भएको छ । प्रतियोगितामा शुभ अवसरग्राम पोखरा ८ द्वितीय, कामधेनु कृषक आमा समूह पोखरा २५ तृतीय र सक्षम अभियान नेपाल पोखरा २ ले सान्त्वना पुरस्कार पाए । विभिन्न क्षेत्रका १५ समूहले भाग लिएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान गर्ने टिमलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट नृत्यतर्फ सिद्धाश्रम शक्ति केन्द्र तथा भेषभूषातर्फ अमरसिंह दिदीबहिनी समूहलाई क्रमशः २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष कृष्णप्रसाद बरालले जानकारी दिए । दर्शकमध्ये नृत्य गर्नेलाई विशेष उपहार प्रदान गरिएको छ । निर्णायकमा जीवन दाहाल, नवराज अधिकारी, कमला सुनार र माया केसी थिए । समारोहमा नारी स्रष्टा सम्मानबाट अधिवक्ता कुञ्जनी परियार प्यासी सम्मानित बनिन् ।

Advertisement

कार्यक्रममा गण्डकीकी उपसभामुख सिर्जना शर्माले देश हाक्ने महिलाको जमात बढाउनुपर्नेमा जोड दिइन् । स्थानीय तहका निर्वाचनमा गठबन्धनका कारण महिला सहभागिता संकुचन भएको दाबी गर्दै उनले आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा महिला सहभागिता बढाउन सबै पार्टीका महिलाले बुद्धि पुर्‍याउनुपर्ने उल्लेख गरिन् । ‘आर्थिक रुपमा फड्को मार्न र उत्पादनमा जोडिएर सशक्त र सक्षम महिला बन्नुपर्छ,’ उपसभामुख शर्माले भनिन्, ‘व्यक्तित्व र नेतृत्वको विकास गरी महिलालाई अब्बल ठाउँमा पुर्‍याउनु पर्छ ।’

प्रदेश सभा सदस्य राजीव पहारीले आमाको नाममा नागरिकता तथा पैतृक सम्पत्तिमा समान अधिकारको व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन नभएको बताए । उनले गीत, संगीतको माध्यमबाट वेदना पोख्नेभन्दा पनि तीज पर्वलाई महिलालाई सचेत र संगठित गर्ने पर्वको रुपमा लिनुपर्ने उल्लेख गरे । लोकगीत र लोक संस्कृतिको जगेर्ना गर्न र नयाँ कलाकारलाई ऊर्जा र प्रोत्साहन दिन तीजगीत प्रतियोगिता गरेको समाजकी महासचिव सावित्री कोइरालाले बताइन् ।

Advertisement

कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, मालेपाटन टोल विकास संस्थाका अध्यक्ष निर्मल खत्री, समाजका उपाध्यक्ष कमला गौतम, सल्लाहकार दिनबन्धु गौतम, जयलक्ष्मी सुनचाँदी दुकानका प्रोपाइटर दुर्गाबहादुर सुनार लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया