सेराबेँसीको तीजगीतमा हिमालय आमा समुह प्रथम

पोखरा ।
शिवशक्ति महिला समुह तथा हिमचुली युवा क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ सेराबेँसीद्वारा आयोजित खुल्ला तीजगीत प्रतियोगितामा हिमालय आमा समुह खुदीखोला प्रथम भएको छ । प्रतियोगितामा कर्पाकेली पुन मगर समाज, शुनपा–२ एक्लेखेत द्वितीय र गायत्री आमा समुह पोखरा–३२ स्कुल टोल तृतीय भएका छन् ।
शान्ति महिला विकास समुह शुनपा–१ सेराबेशीले सान्त्वना स्थान प्राप्त गरेको छ भने उत्कृष्ट नृत्यतर्फ दिदी बहिनी समुह पोखरा–३२ तल्लो गगनगौंडा विजयी भएको छ । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय, सान्त्वना र उत्कृष्ट नृत्य विजेतालाई क्रमशः १५ हजार, १० हजार, पाँच हजार, तीन हजार र एक हजार ५०० नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले हाम्रा मौलिक संस्कृतिहरू जगेर्ना गर्नुपर्नेमा जोड दिए । यस क्षेत्रको विकासमा आफ्नातर्फबाट सदैब सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), शुक्लागण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेल, २ का वडा अध्यक्ष सुमन रानामगर लगायतले तीजको महत्वबारे प्रकाश पारे ।
शिवशक्ति महिला समुहका अध्यक्ष उमा पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक एवम् हिमचुली युवा क्लबका अध्यक्ष बाबुराम वाग्ले, समाजसेवी डिल्लीराम अधिकारी, वडा सदस्य लक्ष्मीदेवी भण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रमका लागि शुक्लागण्डकी नगरपालिका र वडा नं १ कार्यालयले क्रमशः २५/२५ हजार रुपैयाँ सहयोग गरेका थिए भने अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाबाट करिब एक लाख ५० हजार रुपैयाँ संकलन भएको सचिवालय संयोजक ठाकुरप्रसाद खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया