व्यवसायीका समस्या सुल्झाउने पवनको प्रतिवद्धता

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिवेशन लक्षित गर्दै अध्यक्षका दाबेदार पवन प्रजापति र उनको समूह व्यवसायी मत माग्न व्यस्त छ । बुधबार प्रजापतिसहितको टोली पोखराको नयाँबजार पुग्यो ।
संघको नेतृत्वमा आएर व्यवसायीको हकहित गर्न उनीहरुका समस्या समाधान गर्ने प्रतिबद्धता गर्दै प्रजापति प्यानलले भोट मागिरहेको छ । प्रजापतिले लामो समयको लकडाउनका कारण व्यवसायी अझै नतंग्रिएको जनाउँदै आफू नेतृत्वमा पुगेपछि ती व्यवसायीका समस्यालाई सहजीकरण गर्नु आफ्नो प्राथमिकता भएको बताए । ‘अहिले हामी सबैभन्दा ठूलो चुनौतीबीच संघको नेतृत्वका लागि व्यवसायीमाझ पुगिरहेका छौं,’ उनले भने ।
मत माग्दै व्यवसायीको घरदैलोमा पुगेको प्रजापति समूहलाई अधिकांश व्यवसायीले समस्या सुनाए । लकडाउनको मारपछि वित्तीय संस्थाबाट बढी पेलिएको व्यवसायीको गुनासो छ । व्यापार, व्यवसायमा आएको गिरावटसँगै बजारमा भएको मूल्यवृद्धिले आहत बनाएको व्यवसायीहरुले बताएका छन् । प्रजापति समूहले व्यवसायीका यस्तै समस्या मिहिन ढंगले बुझेर समस्या खोज्ने जनाएको छ ।
नेपाल औषधी थोक व्यवसायी संघ गण्डकी अध्यक्ष रुद्रनारायण मल्लले व्यवसायीलाई सहज हुने वातावरण निर्माण गरी योजनाबद्ध रुपमा संघमा आउन सुझाव दिए । अधिकृत बिक्रेता संघ पोखरा अध्यक्ष अनिल श्रेष्ठले अब आउने नेतृत्वले पोखरा उद्योग वाणिज्य संघमा अझै धेरै काम गर्नुपर्ने बेला भएको बताए ।
संघमा प्रजापति प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योगतर्फ हिरामणि पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । प्रभा सुवेदी, बालकृष्ण कोइराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदीप ओझा र सुदीप प्रधानांग सदस्यमा उम्मेदवारी घोषणा गरी मत मागिरहेका छन् ।
तपाईको प्रतिक्रिया