सम्पादकीयः दल बदली र वास्तविकता
कुनै बेला सिक्किम सरकारका मन्त्री पिएस गोले अहिले मुख्यमन्त्री छन् । उनी त्यही दलबाट मुख्यमन्त्री चुनिएका होइनन् । त्यो बेला उनी रहेको पवन चाम्लिङ नेतृत्वको दल छाडेर नयाँ दल बनाउँदै उनी मुख्यमन्त्री चुनिएका हुन् । चामलिङ पनि यसै गरी अर्काे दल बनाएर मुख्यमन्त्री चुनिएका थिए । कुनै बेला नेपाली कांग्रेसमा मधेसका भरपर्दा नेता थिए महन्थ ठाकुर अहिले उनी क्षेत्रीय दल बनाएर अध्यक्ष छन् । माओवादी जनयुद्धमा शीर्ष नेतामध्येका एक रामबहादुर थापा अहिले एमाले उपाध्यक्ष बनेका छन् । आमचुनाव तोकिइसकेको छ ।
मंसिर ४ को चुनाव केन्द्रीत गतिविधि जारी छन् । अहिलेबाटै नेता, कार्यकर्ताले दल बदली गर्न थालेका छन् । परिस्थितिमा ठूलै परिवर्तन, दलले लिएको लक्ष्य, उद्देश्यबाट च्यूत हुँदा दल परित्याग र नयाँ दल निर्माण वा बदली ठीकै ठानिएला तर चुनावको मुखैमा दल बदलीको लर्काेलाई स्वभाविक मान्न सकिँदैन । यसले नेपाल जस्ता विकासिल मुलुकका नेता, कार्यकर्ताको स्तर, स्वार्थ र लत्ता लोलुपतालाई देखाउँछ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो क्रम उस्तै छ । गणतन्त्र प्राप्तिपछि राजनीतिक दलमा मिसन देखिएन । समृद्धिको स्पष्ट खाका र विकासको रणनीति उनीहरुको प्राथमिकतामा परेन । कम्युनिस्टहरू वैज्ञानिक साम्यवाद आफूहरूको अन्तिम लक्ष्य भएको बताउँछन्, पुँजीवादी धारका दलहरू समाजवादको नारा फलाक्छन् । यी कुरा अब सुगारटाइ बनिसकेका छन् । माओवादीको सशस्त्र युद्ध चल्दासम्म पनि दलहरूबीच कहींकतै केही फरक देखिन्थ्यो ।
अरू केही नभए पनि माओवादी युद्ध, संविधानसभा र राजसंस्थाबारे दलहरूको फरक धारणा साथै केही फरक कार्यक्रमसमेत थियो । अब त्यो पनि रहेन । अहिले मुलुकमा जति पनि राजनीतिक दल छन्, तिनीहरूमा नामबाहेक काम फरक छैन । जुनसुकै वादी होऊन्, सत्तामा पुग्दा मुलुक हाँक्ने तरिका र सत्ताबाट झरेपछि सडक एवं सदनमा प्रस्तुत हुने शैली उस्तै छ । स्थापना र जनमतका आधारमा ठूला साना देखिनुमात्रै दलहरुको फरक पहिचान बनेको छ ।
सैद्धान्तिक लेपनमात्र फरक, मूलभूत रुपमा कार्यशैली एउटै भएपछि दल बदल्नेहरुलाई गज्जब भएको छ । हिजोको पञ्चायत समर्थकलाई माओवादी बन्न पनि अप्ठेरो छैन, माओवादीलाई हलो चुनावचिह्नमा मत माग्द पनि असजिलो लाग्दैन । अहिले अझ सत्ता साझेदारीको मौका पाउँदा कतिपय दल आफ्नो चुनाव चिह्न र घोषणापत्र त्याग्नसमेत तयार छन् । टिकट, पैसा र पदकै लागि दल परिवर्तन गर्नेहरु प्रशस्तै देखिएको छ । यस्ता मौका परस्तहरुबाट लोकतान्त्रिक मूल्य, मान्यताको पालना र देशको समृद्धि हुने अपेक्षा राख्नु उचित हुँदैन । राजनीति सबै नीतिहरुको पनि नीति हो । यसलाई नसुधारेसम्म देशको खाँका बदलिदैन, जनताका अपेक्षा पूरा हुँदैनन् ।
तपाईको प्रतिक्रिया