शब्दचित्रमा पृथ्वीनारायण क्याम्पस
अक्षतवदना सदाधवला माछापुच्छ्रेको काखमा अवस्थित गण्डकी प्रदेशको केन्द्रस्थल पोखरा उपत्यका पर्यटकका लागि सुन्दर, भू–गर्भशास्त्रीका लागि रहस्यमय र पोखरेलीका लागि आशा र भरोसाको केन्द्र हो । कञ्चन नदी प्रवाह, भरिला तालतलैया, स्वच्छ एवं आनन्ददायी मौसम र प्रकृतिको सुन्दर संगमस्थल पोखरा उपत्यका प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनीतिक विविधताका साथै भेषभूषा, चालचलन र रीतिरिवाजमा आफ्नै किसिमको विशिष्टता ओगटेको प्राचीन कला र संस्कृतिको विपुलतामा रङ्गिएको नेपालको राजधानीपछिको दोस्रो सघन सहर हो ।
२०३५ देखि स्नातकोत्तर तहका कक्षा सञ्चालन भएको क्याम्पसमा अहिले २१ विभागमा स्नातकोत्तर तहका कक्षा सञ्चालनमा छन्
पूर्वाधार विकासका विभिन्न पहलमध्ये शैक्षिक क्रियाकलापको विकासका लागि औपचारिक रूपमा १२१ वर्ष अघिदेखि उल्लेखनीय पहल र भूमिका निर्वाह गरेको पोखरा उपत्यकाले अनौपचारिक रूपमा त्यसभन्दा अघिदेखि नै संस्कृत विद्याका लागि काशीको विकल्पका रूपमा रही लोकश्रद्धा पाएको हो । यस्तो गौरवशाली इतिहास बोकेको पोखरा उत्यकामा आधुनिक शिक्षाको प्रारम्भ भने २००६ सालबाट मात्र भएको हो । त्यसपछि प्रजातन्त्रोत्तर कालमा पोखरामा खुलेका थप ८ वटा विद्यालय र छिमेकी जिल्लाबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीमध्ये भारत तथा काठमाडौं जान असमर्थ भएर उच्च शिक्षाको अवसरबाट वञ्चित भई आफ्नो भविष्य अन्योलमा रहेका विद्यार्थीको दबावपूर्ण आन्दोलनको फलस्वरूप २०१७ साल भदौ १७ गते कन्या स्कुल, नदीपुरका कक्षाकोठामा रात्रि कलेजका रूपमा पृथ्वीनारायण इन्टर कलेजको स्थापना भएको हो ।
थान न थलाको ठेगानै नभएका पृथ्वीनारायण इन्टर कलेजले २०१९ साल वैशाख ३ गते भीमकाली पाटनका दुईवटा कटेरामा आश्रय पाएपछि रात्रिकालीनबाट प्रभातकालीन कलेजका रूपमा परिवर्तन भएको यो कलेज नेपालको पश्चिमाञ्चल क्षेत्रकै उच्च शिक्षाको अधिकांश भार वहन गर्दै सुगम क्षेत्रमा मात्र नभएर दूरदराजमा समेत ज्ञान, सीप र चेतना फैलाउने शैक्षिक प्रभातका रूपमा अद्यावधि प्रसिद्ध छ ।
२०२० सालमा बी.ए., २०२४ सालमा आइएस्सी, २०२६ सालमा आइकम तहका कक्षा सञ्चालन भएको यो कलेज २०३० साल साउन १ गतेबाट त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा परिणत भई पृथ्वीनारायण क्याम्पसका रूपमा रूपान्तरण भएको हो । हाल यस क्याम्पसको स्वामित्वमा ७ सय १५ रोपनी १२ आना ३ पैसा १ दाम जग्गा, ४० वटा ठूला, ६८ वटा साना एवं अनेकौं स–साना भवनका साथै ५२ वटा सटर कबल छन् । स्थापनाकालमा मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ जोडिन आउने नेपाली, अंग्रेजी, अर्थशास्त्र र नागरिक शास्त्र जस्ता विषयको पढाइबाट अगाडि बढेको यस क्याम्पसमा अहिले विभिन्न चार संकाय र एक अध्ययन संस्थान अन्तर्गतका ३४ विषयको पढाइ हुन्छ ।
२०३५ सालदेखि अनवरत रूपमा स्नातकोत्तर तहका कक्षा सञ्चालन भएको यस क्याम्पसका ३३ वटा विभागमध्ये हाल २१ वटा विभागमा स्नातकोत्तर तहका कक्षा सञ्चालन भएका छन् । तिनमा स्नातक तहमा १२ र स्नातकोत्तर तहमा २१ गरी ३३ विषयको अध्यापन हुन्छ । प्रातः ६ः०० बजेदेखि सायं ८ः१५ सम्म सञ्चालित ती विभिन्न शैक्षिक कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहका छात्र ५,३५७ छात्रा ६,०६५ गरी जम्मा ११ हजार ४ सय २२ जना विद्यार्थीलाई मार्गदर्शन गराउँदै संस्थालाई जीवन्त बनाउने प्राध्यापकको संख्या ५ सय १ छ भने विद्यार्थी तथा प्राध्यापकहरूलाई हरसमय सहयोग गर्ने कर्मचारीको सङ्ख्या ९२ छ ।
पृथ्वीनारायण क्याम्पस विगत ६२ वर्षका अवधिमा प्राप्त गरेका प्राज्ञिक हैसियत, विषयगत दक्षता, सञ्चालित कार्यक्रम अनि तिनको गुणस्तर, भौतिक पूर्वाधार विकास, प्रशासनिक दक्षता आदि विविध पक्षको मूल्यांकन गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ३९ औं राष्ट्रिय शिक्षा दिवस २०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालयको उत्कृष्ट आंगिक महाविद्यालयका रूपमा घोषणा गरी नगद पुरस्कारसहित प्रमाण–पत्र प्राप्त गर्न सफल भएको थियो । यसै गरी २०७५ सालमै विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्युएए)को प्रमाण–पत्र प्राप्त गर्न पनि यो क्याम्पस सफल भएको छ । यसबाट विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार आएको, उत्तीर्ण दर बढेको र स्वावलम्बनतर्फ अग्रसर भएको अनुभव गरिएको छ ।
एकै वर्ष प्राप्त भएका यी सम्मानले हामीलाई आफ्नो संस्था र राष्ट्रप्रति अझै निष्ठा एवं उत्साहका साथ कार्य गर्ने प्रेरणा प्राप्त भएको कुरा सहर्ष जानकारी गराउन पाउँदा हाम्रो छाती गौरवले फुलेको छ । तसर्थ उपर्युक्त यी सम्पूर्ण पक्षमाथि दृष्टिगत गरी विचार गर्दा पृथ्वीनारायण क्याम्पसमा विश्वविद्यालय बन्नका लागि आवश्यक प्राज्ञिक तथा भौतिक पूर्वाधार छन् । स्थापनाकालदेखि नै यस क्याम्पसले नेपालको पश्चिम क्षेत्रका साथै समग्र देशको शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक, राजनीतिक, सांस्कृतिक र व्यवस्थापकीय क्षेत्र र तहका विभिन्न जनशक्ति उत्पादन गरी समाज र राष्ट्रको समयानु्कूल विकासमा योगदान पुर्याउँदै आएको तथ्य हामी सबैलाई अवगतै छ । यस क्याम्पसबाट उत्पादित उच्च तथा दक्ष जनशक्ति राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिष्ठित छन् । त्यसैले यस क्याम्पसले आफैमा एउटा अघोषित विश्वविद्यालयको रूप धारण गरिसकेको छ ।
- क्याम्पसका सबल पक्षहरू
- . पहुँचका दृष्टिले सुगम स्थानमा रहेको
- . सर्वसुलभ शुल्कमा युग तथा बजारको मागअनुसारका कार्यक्रमक्रमशः विस्तार हुँदै गएको
- . अध्ययनअध्यापनका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार
- . स्वच्छ, शान्त, प्राज्ञिक वातावरण, पर्याप्त खेलमैदान बगैंचा तथा शुद्ध खानेपानीको व्यवस्था
- . सुविधासम्पन्न पुस्तकालय, अत्याधुनिक विज्ञान प्रयोगशाला, मल्टिमेडिया, इन्टरनेट र कम्प्युटर ल्याब सुविधा
- . भौतिक पूर्वाधारका लागि यथेष्ट जग्गा
- . क्याम्पसको आन्तरिक स्रोतबाट पनि प्रशस्त आम्दानी गर्न सकिने सम्भावना
- . स्नातकोत्तर तथा आवश्यकतानुसार स्नातक तहमा पनि विद्युतीय प्रविधिको सुविधा
- . क्याम्पसको आफ्नै जग्गामा शिक्षक, कर्मचारी र छात्रछात्राका लागि केही मात्रामा आवास सुविधा
- क्याम्पसका अवसरहरू
- . पृथ्वीनारायण क्याम्पस गण्डकी प्रदेशकै नेतृत्व लिन सक्ने भएकाले यसलाई तालिम तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने
- . भौतिक एवं प्राज्ञिक सम्पत्ति तथा शैक्षिक क्रियाकलापका कारण विश्वविद्यालयकै रूपमा रहेको
- . नयाँ–नयाँ विषय थप्न सकिने सम्भावना
- . दक्ष तथा अनुभवी प्राध्यापक भएकाले जुनसुकै क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने
- . स्थानीय तहसँग समन्वय गरी स्थानीय योजना तर्जुमा तथा कार्यान्वयन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उपलब्ध गराउन सक्ने सम्भावना ।
- आगामी कार्ययोजना
- – नेपाल सरकारबाट प्राप्त २८ करोड लागतमा प्रशासकीय र मानविकी भवन निर्माण गर्ने
- – महिला शौचालयमा भेन्डिङ मेसिनसहितको सेनिटरी जडान गरी सञ्चालन गर्ने
- – विज्ञान प्रयोगशालाका लागि थप ६० लाखका उपकरण खरिद गर्ने
- – सेती भीरमा बार, बन्देज गर्ने
- – छात्र विश्रामगृहमा राम्रो साउन्ड सिस्टम जडान गर्ने
- – खुला व्यायामशाला निर्माण
- – कम्प्युटरको ज्ञान भएका नयाँ कर्मचारी र पे प्रोग्रामका लागि आन्तरिक स्रोतबाटै कर्मचारीको व्यवस्थापन गर्ने
- – शोधपुछ तथा सहयोग कक्ष सञ्चालन गर्ने
- – स्वास्थ्य केन्द्रमा चिकित्सक र निःशुल्क औषधी व्यवस्थापन गर्ने
- – नेपाल बैंक लिमिटेडको सहयोगमा सरस्वती मन्दिर निर्माण गर्ने
- – सेमेस्टार प्रणालीमा बिएसडब्लु कार्यक्रम स्वीकृत भई भर्ना चलिरहेको
- – पृथ्वीनारायण क्याम्पसको डकुमेन्ट्री निर्माण गरी प्रदर्शन गर्ने
- – विश्वविद्यालय निर्माणतर्फको मार्ग प्रमुख प्राथमिकतामा रहेको
- – एलएलएम कार्यक्रमको स्वीकृति लिने प्रक्रिया अगाडि बढेको
आम्दानीको स्रोत र सञ्चालन–खर्चको विवरण
आम्दानीको स्रोत सञ्चालन–खर्च
क्याम्पसको नियमिततर्फको बजेट
२५,२४,८५,०००। क्याम्पसको यस वर्षको कुल खर्च
३७,४५,०८,७१४.७४
क्याम्पसको आन्तरिक स्रोत तर्फको बजेट १२,२६,८०,०००। २०७८/०७९ को कुल घाटा
८,९४,१४,५३५.९१
आव २०७९/०८० को बजेट
यो आर्थिक वर्षका लागि नियमिततर्फ २५,४९,४१,०००।– (अक्षरेपी पच्चीस करोड उनन्चास लाख एकचालीस हजार) आन्तरिक स्रोततर्फका बजेट १३,१८,३०,०००।– (अक्षरेपी तेह्र करोड अठार लाख तीस हजार) बजेट छ ।
पृथ्वीनारायण क्याम्पसमा नेपालको पश्चिम क्षेत्रकै उत्कृष्ट प्रयोगशाला र व्यवस्थित पुस्तकालय छन् । पुस्तकालयमा विभिन्न विधाका ९५ हजार ४ सय ३ पुस्तकका साथै ५ हजार ३ सय ५० थेसिस छन् । क्याम्पसको पुस्तकालयमा यसै वर्ष सुरु गरिएका नवीनतम कार्य कम्प्युटर सिस्टममार्फत पुस्तकको लेनदेन, पुस्तक लेनदनमा बारकोर्ड प्रयोग, इरिसोर्स सेक्सन निर्माण, अनलाइन क्याटलग, प्लेगेरिज्म चेक टियुसिएलबाट गरिने, इरिसोर्स प्रयोगका लागि सहजीकरण आदि रहेका छन् । यस क्याम्पसको छात्रावासमा महिला र कन्याका लागि १ सय २७ सिट क्षमताका छात्रावास र विज्ञान छात्रवासमा ४५ जना क्षमताको छात्रवास छ ।
छात्रावासमा दृष्टिविहीन, अपांगहरु पहिलो प्राथमिकतामा छन् भने दुर्गम क्षेत्रका आर्थिक रूपमा कमजोर विद्यार्थीलाई ग्राह्यता दिने गरिएको छ । यसका साथै विभिन्न छात्रवृत्ति प्रदान गरिन्छ । पृथ्वीनारायण क्याम्पसमा संस्थागत अनुसन्धानको प्रारम्भ २०५१ सालबाट भएको हो । हालसम्म ९० लघु अनुसन्धान पूरा भइसकेका छन् भने विभिन्न जर्नल पनि प्रकाशित भईआएका छन् । यसै वर्षदेखि अपांगता भएका सीमान्तकृत समूहका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्नका लागि सहायता केन्द्र स्थापना गरिएको छ ।
अबको पृथ्वीनारायण क्याम्पसलाई गण्डकी प्रदेशको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत गरिमामय प्रतिष्ठायुक्त एवं प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा विकसित गर्नका लागि पोखराको भूगोल, प्रकृति र संस्कृति सुहाउँदा पर्यटन, पर्यावरण, होटल, सूचना प्रविधि र भूगर्भ जस्ता राष्ट्रिय एवं अन्तर्राष्ट्रिय श्रमबजारले माग गरे अनुसारका विषय र स्तरीय सीप प्रदान गर्न हामी सबै निजी स्वार्थभन्दा माथि उठेर लाग्नुपर्ने बेला आइसकेको छ । यसका लागि उत्कृष्टता र आवश्यकताका आधारमा उच्च शिक्षा प्राप्त गर्ने सबैको अधिकार सुरक्षित गर्न क्याम्पस परिवार प्रतिबद्ध छ ।
यसै सन्दर्भमा थप पूर्वाधार जुटाउन यहाँहरूको सामूहिक अठोट, सकारात्मक सोच र प्रतिबद्धताको खाँचो छ । यस्तो भएमा पुरानो लोकोक्तिलाई थोरै परिमार्जन गर्दै पर्यटन र पर्यावरणको पढाइका लागि पोखरा जानू भन्ने उक्ति निर्माण हुनेछ ।
तपाईको प्रतिक्रिया