पोस्सोनको अपेक्षित भूमिका

डा सञ्जय कोइराला २०७९ भदौ १७ गते १८:४१

डा. सञ्जय कोइराला
पृथ्वीनारायण क्याम्पस पोखराको राजनीति शास्त्र बिषयमा अध्ययनरत दोस्रो र चौथो सेमेस्टरका विद्यार्थी र प्राध्यापकको हालै अन्नपूर्ण गाउँपलिकाको काँडेमा भएको ऐतिहासिक परिचयात्मक भेलाले दोस्रो सेमेस्टरमा अध्ययनरत सुभाष ढुंगानाको अध्यक्षतामा पोलिटिकल साइन्स सोसाइटी नेपाल (पोस्सोन) गठन गरेको छ । उक्त परिचयात्मक कार्यक्रममा उपस्थित सम्पूर्ण प्राध्यापक लगायत बिद्यार्थी सबैको वर्तमान राजनीतिप्रति चरम असन्तुष्टि रहेको देखियो । विभिन्न क्षेत्र, पेशा, धर्म, लिंग र राजनीतिक दलमा आवद्ध भएका प्राध्यापक र राजनीति शास्त्रका विद्यार्थीको बिषयगत अन्तरक्रिया भएको विरल अनुकरणीय जमघट थियो ।

Advertisement

राजनीतिशास्त्रका प्राध्यापकहरु, राजनीति शास्त्र अध्ययनरत विद्यार्थी, चिकित्सक, पाइलट, राज्यका सुरक्षा अंगका कर्मचारी लगायत विभिन्न दलमा आवद्ध राजनीतिकर्मी, अधिवक्ता, कलाकार सम्मिलित उक्त भेलाले देशको वर्तमान राजनीति सिद्धान्त र विज्ञान बिना चलिरहेको निष्कर्ष निकाल्दै अब राजनीतिकर्मीलाई पनि राखेर समय समयमा अन्तरक्रिया गर्नुपर्ने निष्कर्ष निकालेको थियो । उनीहरुलाई सैद्धान्तिक ज्ञान पनि दिने योजना अनुसार एउटा बृहत संगठन निर्माण गर्ने निर्णय अनुसार उक्त सोसाइटी बनेको छ ।

नेपालमा संगठनहरुको कमी भएको होइन तर यस किसिमको संगठन निकै कम छन् । यो क्षेत्र अर्थात् गण्डकी प्रदेशमा त छँदै छैन । पृथ्वीनारायण क्याम्पसमा राजनीति शास्त्र प्राध्यापन गर्ने सम्पूर्ण प्राध्यापकको पनि सल्लाहकारका रुपमा सहभागिता रहने गरी गठित उक्त सोसाइटीमा रहेको सामाजिक विविधता आफैंमा एक उत्प्रेरणा हो । राजनीतिप्रतिको वितृष्णाले गर्दा विदेश पलायनका कारण राज्य बिस्तारै योग्य र विज्ञ जनशक्ति विहीन हुँदै गइरहेको अवस्थामा देशलाई माया गर्ने विभिन्न क्षेत्रका केही विज्ञ राजनीति शास्त्रको बिषयगत ज्ञान आर्जन गर्न पृथ्वीनारायण क्याम्पसमा हाल अध्ययनरत छन् ।

सो समूहमा विभिन्न राजनीतिक दलसँग आबद्ध बिशिष्ट व्यक्तित्व पनि हुनुहुन्छ, जो आफ्नो आफ्नो दलमा रहेरै राजनीतिको वास्तविकता नबुझेकालाई बुझाउने आँट गर्ने जमर्कोसहित यो सोसाइटीलाई अघि बढाउन नेतृत्व तथा सहकार्य गर्न तत्पर हुनुहुन्छ । यो एक सामूहिक प्रयास हुनेछ, कुनै दल, क्षेत्र, बिषय या धर्मगत नभई समग्र राज्यको हित हुने बिषयहरु उठान गर्ने एक बौद्धिक संयन्त्र हुनेछ । यहाँ राजनीतिका साथै आ–आफ्नो बिषयको सैद्धान्तिक र व्यवहारिक ज्ञान भएका व्यक्तित्वहरु नेतृत्वमा रहनेछन् र सम्बद्ध बिषयहरुको उठान सम्बन्धित ठाउँमा गर्ने छन् ।

यो देशमा राजनीति गरेर जान्ने भएका धेरै छन् तर राजनीतिको वास्तविक अर्थ जानेर र बुझेर राजनीति गर्ने एकदमै कम

Advertisement

सबैलाई थाहा छ, देशको राजनीतिमा समस्या छ । यो देशमा राजनीति गरेर जान्ने भएका धेरै छन् तर राजनीतिको वास्तविक अर्थ जानेर र बुझेर राजनीति गर्ने एकदमै कम । डेभिड ईस्टनका अनुसार राजनीति भनेको स्रोतहरुको उचित व्यवस्थापन हो, तर हाम्रोमा राजनीति गर्ने भनेको राज्य स्रोतहरुको सकेसम्म व्यक्तिगत, समूहगत या पार्टीगत स्वार्थका लागि दोहन गर्नु हो । राजनीति भनेको राज्यका हरेक नागरिकको समस्या बुझेर सकेसम्म निराकरण गर्नु हो, तर हाम्रोमा गर्ने राजनीतिको नाममा जनतालाई सकेसम्म दुखः दिने र त्यसैबाट व्यक्तिगत फाइदा लिने काम भइरहेको छ । नीति, नियम बनेका छन् तर सबै आफू अनुकूल गरी व्याख्या हुन्छन । स्वार्थगत राजनीति हरेक क्षेत्रमा व्याप्त छ ।

लोकतन्त्रको अर्थ जनता मालिक हुनु हो, तर यहाँ जनतालाई सधैं रैती नै बनाइएको छ । सामन्तबादका विभिन्न चरण पार गरेर आउँदै गर्दा पनि अझै उही आचरण वर्तमान राजनीतिमा छ । यो सबैको कारण राजनीतिको अर्थ नबुझी लहलहैमा लागेर राजनीति गर्नेहरुको झुण्डका कारणले हो । राजनीतिलाई सुधार्न चाहने बौद्धिक राजनीतिकर्मी नभएका होइनन् देशमा । तर उहाँहरुको आवाज कहिल्यै ठूलो हुन सकेन, झुण्डहरु धेरै हाबी भए ।

अब यो अवस्थालाई सुधार गर्नु पर्छ । राजनीतिलाई राजनीति नै बनाउन राजनीतिको ज्ञान सकेसम्म सबै जनताको पहुँचमा पु¥याउनु पर्छ । सबै राजनीतिज्ञले यस बिषयको बिषयगत ज्ञान हासिल गर्नुपर्छ र जनताले राजनीतिको आधारभूत चरित्र बुझ्ने मौका पाउनु पर्छ । यही उद्देश्यका लागि एउटा यस्तो संयन्त्र आवश्यकता रहेको छ, जसले राजनीतिमा भइरहेका विकृति र विसंगतिका विरुद्ध आवाज बुलन्द रुपमा उठाउन सकोस् ।

आ–आफ्नो दलका सर्वोच्च नेतालाई झक्झक्याउन एउटा यस्तो संयन्त्र बनाउने जमर्को यहाँबाट गरिएको छ, जसलाई निकट भविष्यमा देशव्यापी बनाउन जरुरी पनि छ । यो एक सुरुवात हो, यसलाई सशक्त रुपले अघि बढाउने जिम्मेवारी यो सोसाइटीको रहन्छ । ‘विज्ञानलाई सम्मान र विज्ञलाई उचित स्थान’ भन्ने उद्घोषसहित आशा छ छिट्टै नै यो सोसाइटीले राज्य संयन्त्रबाट वैधानिकता पाउनेछ । राज्य संयन्त्रलाई नै लोकतान्त्रिक, जवाफदेयी र जनत केन्द्रीत बन्न खबरदारी गर्ने छ ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया