मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु

समाधान संवाददाता २०७९ भदौ १९ गते १५:५३

पोखरा ।
कास्कीको पोखरा महानगरपालिकाका दुई स्थानमा शनिबार एकै दिन एक महिने मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु भएको छ ।

Advertisement

गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशसँगको सहकार्यमा पोखरा–१४, शुभकामनाटोल र धौलागिरिमार्गमा एकैसाथ एक महिने मगर भाषा तथा लिपि लेखन प्रशिक्षण सुरु गरिएको हो । शुभकामनाटोलमा नेपाल मगर संघ, छिनेडाँडा एकाइ समितिको व्यवस्थापन तथा धौलागिरिमार्गमा बागलुङ–पोखरा मगर समाजको व्यवस्थापनमा सो प्रशिक्षण सुरु गरिएको हो ।

शुभकामना टोलमा सुरु भएको मगर भाषा प्रशिक्षणको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मगर जाति इमान्दारिताको पर्याय भएको बताए । गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानले स्थापित जाति, विस्थापित भाषा नाराका साथ मातृभाषा संरक्षण अभियान थालेको बताए ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं मातृभाषा विभाग प्रमुख कृष्णप्रसाद पौडेलले आफ्नो मातृभाषा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नु खुसीको कुरा भएको भन्दै गण्डकी प्रदेशभित्र बोलिने मातृभाषाको संरक्षणका लागि के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने कुरामा प्रतिष्ठान चिन्तनशील रहेको सुनाए ।
नेपाल राष्ट्रिय मगर संघ, गण्डकी प्रदेशका सभापति पदमबहादुर पुनमगरले मगर भाषालाई नयाँ पुस्तामा हस्तान्तरण नगरे इतिहास बन्न सक्ने चिन्ता प्रकट गरे ।

शुभकामना टोलमा नेपाल मगर संघ, छिनेडाँडा इकाईका निवर्तमान अध्यक्ष ज्योतिराम थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष बोधराज कार्की, नेपाल राष्ट्रिय मगर संघकी केन्द्रीय सदस्य रीता रानामगर, मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, नेपाल राष्ट्रिय मगर संघ, कास्कीका सभापति महावीर थापामगर, नेपाल मगर संघ, छिनेडाँडा इकाईका सल्लाहकार एवं नेपाल मगर भुसाल संघका केन्द्रीय उपाध्यक्ष ज्योतिषी यामबहादुर थापामगर, सल्लाहकार एवं नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष बलवीर रानामगर, इकाई अध्यक्ष सु. दलबहादुर थापामगर, समाजसेवी कोपिला श्रीसमगरले बोलेका थिए ।

Advertisement

धौलागिरि मार्गमा बागलुङ–पोखरा मगर समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगर, जैमिनी नगरपालिका वडा नम्बर १०, बागलुङका निवर्तमान वडाध्यक्ष नरबहादुर थापामगर, समाजका सल्लाहकार भीमबहादुर श्रीसमगर, भाषा प्रशिक्षक रूद्रबहादुर श्रीसमगर, समाजकी कोषाध्यक्ष कृष्णा पुनमगरले मगर भाषा प्रशिक्षणको आवश्यकता र महत्वबारे धारणा राखे ।

तपाईको प्रतिक्रिया