पाेखराकी विष्णुमायाले पाइन् आधा शताब्दीपछि लालपुर्जा

सञ्जय रानाभाट २०७९ भदौ २० गते १०:३६

सञ्जय रानाभाट

पोखरा ।
पोखरा महानगरपालिका ३१ लाँकुरीकी विष्णुमाया सुनार पोखरा उद्योग वाणिज्य संघको हलमा आइतबार भक्कानिइन् । जग्गाधनी लालपुर्जाका लागि ६० वर्षसम्म गरेको संघर्षपछि जीतमा उनले आँसु थाम्न सकिनन् । उनको गला अवरुद्ध भयो, आँखाका नानी रसाइरहे । उनका आँसु दुखका होइनन्, सुखका हुन् । हातमा लालपुर्जा लिएर हलबाट बाहिरिँदा उनी दंग थिइन् । आफ्नो ससुराले लालपुर्जाका लागि थालेको लडाइँलाई आइतबार बिट मारेपछि विष्णुमाया भक्कानिएकी थिइन् ।


रुपा गाउँपालिकाको देउरालीबाट पहिरोले विस्थापित भएपछि बास खोज्दै विष्णुमायाका ससुरा पोखरा ३१ देउराली पुगेका थिए । राज्यकै सिफारिसमा उनले त्यहाँ १ रोपनी ३ आना सार्वजनिक जग्गा पाए । ६० वर्षयता भोगचलन गरिरहेको त्यही जग्गाको पुर्जा विष्णुमायाले आइतबार पाएकी हुन् । ‘सासू/ससुरा, जेठाजुसँग सोध्दा ६० वर्षदेखि आफूहरु बसोबास गर्दै आएको भन्नुहुन्थ्यो । ठूलो संघर्षले आज लालपुर्जा पाएँ,’ विष्णुमायाले बताइन् । विष्णुमायाले आइतबार १ रोपनी ३ आनाको जग्गा लालपुर्जा लिएकी छन् ।

Advertisement


विष्णुमायाले लालपुर्जा नहुँदा आफ्ना छोराछोरीलाई उच्च शिक्षा पढाउन सकिनन् । सासू, ससुरा र श्रीमानको मृत्यु भएपछि सबै भार थाप्लोमा आएपछि उनले छोराछोरीलाई पढाउन सकिनन् । ‘न उच्च शिक्षा पढाउने पैसा भयो, न त विदेश पठाउने पैसा नै,’ उनले भनिन्, ‘तीन पुस्ता गईसक्दा पनि घरजग्गाको ठेगान नहुँदा ठूलो दुख पाएँ ।’ लालपुर्जा पाएपछि भने आफ्ना समस्या विस्तारै हट्दै जाने आशा विष्णुमायाको छ ।


पोखरा १४ तल्लो शान्ति टोलका दलबहादुर विक पनि लालपुर्जा पाएपछि रसाएका आँखा लिएर हल बाहिर निस्किए । विजयी भावमा बाहिरिएका उनी ३ आना जग्गाका लागि ज्यान नै धरापमा पारेको घटना सम्झिए । ‘ज्यान मार्न गुन्डा आएर घरसम्म भत्काए । दिउँसो उनीहरु हाम्रो छाप्रो भत्काउँथे, बेलुकी हामी बनाइहाल्थ्यौं,’ उनले भने, ‘राज्यले ठूलो संघर्षपछि लालपुर्जा दिएको छ । अब जेनतेन एउटा कटेरो बनाउँछु ।’

Advertisement


विष्णुमाया र दलबहादुरजस्ता कास्कीका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी ३९ घरधुरीले आइतबार लालपुर्जा पाएका छन् । संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ र आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले पोखरा आएर भूमिहीनलाई लालपुर्जा वितरण गरेका हुन् । लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले जनताको नैसर्गिक हक रक्षार्थ सरकारले लालपुर्जा वितरण थालेको दाबी गरिन् । यसअघिका सरकारले भूमिहीनको पक्षमा काम गर्न नसकेको आरोप लगाइन् ।


आइतबार आयोगले पोखरा महानगरपालिका अन्तर्गत वडा नम्बर १४, १७, १९, २५, २८, २७, ३१, ३३ वडाका भूमिहीनलाई जग्गाधनी पुर्जा दिएको हो । आयोगको कास्की समितिको साउन २५ गतेकोे बैठकले ४९ जनालाई लालजुर्जा वितरण गर्ने निर्णय गरेको थियो ।


आयोगले काम गरेर लालपुर्जा वितरण गर्न बाँकी, सेतो पुर्जा र फिल्डबुकमा नाम भएकालाई लालपुर्जा दिएको आयोग कास्की प्रवक्ता आशबहादुर गुरुङले बताए । २०५२ देखि ५८ सालदेखि बसोबास गर्दै आएका स्रेस्ता लिएर पनि पूरापूरा रुपमा प्रयोग गर्न नपाएकाहरुलाई पुर्जा वितरण गरिएको आयोगका कास्की अध्यक्ष गंगा पोखरेलले बताए । ‘आयोगले जति सक्दो धेरै लाजपुर्जा वितरण दसैंअघि गर्छ,’ अध्यक्ष पोखरेलले भने । संकलन भएका निवेदनलाई कास्कीका मालपोत अधिकृत, नापी प्रमुख, सिडिओ कार्यालय, वनविभागका कर्मचारी, आयोगको कार्यसमिति, नापी कार्यालयका प्रमुख, वडा सहजीकरण समिति र वडाअध्यक्षसहितको टोलीले लालपुर्जा दिने निर्णय गरेको हो ।


कास्कीमा २९ हजारभन्दा बढी भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको तथ्यांक आयोगसँग छ । पोखरा महानगरपालिकाका ३३ वटा वडाबाट मात्र १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन संकलन भएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया