सम्पादकीयः वैदेशिक रोजगारीका सामाजिक समस्या

देशको अर्थतन्त्र परनिर्भर हुँदै गएपछि अनेक समस्या आइपर्छन् । छिमेकी श्रीलंका र अफ्रिकन मुलुकहरु हाम्रा लागि उदाहरण छँदै छन् । परम्परागत कृषि प्रणाली हट्दै गएपछि नेपालीको पुरानो अर्थ प्रणाली लथालिङ भएको छ । सहर, बजारतिर खाद्यान्न र अन्य उपभोग्य सामान पठाउने गाउँहरु अचेल सहरबाटै चामल, दाल, मसलादेखि भुटुनसम्म लैजान थालेका छन् । युवायुवती र पुरुष त हम्मेसि भेटिँदैनन् । उनीहरु कि बजार झरेका छन्, कि विदेश गएका छन् ।
अर्थात् जन्मभूमिले गाउँलेको जीवन धान्ने अवसर दिन सकेको छैन । वैदेशिक रोजगारीबाट पठाइने विप्रेषणले देशको कुल गार्हस्थ उत्पादनको करिब २२.४ प्रतिशत हिस्सा ओगटेको छ । वैदेशिक रोजगारबाट विभिन्न अवसर प्राप्त हुने गरेका छन् तर यससँगै वैदेशिक रोजगारका कारण चुकाउनु परेको सामाजिक मूल्य पनि निकै ठूलो छ । तर वैदेशिक रोजगारबाट भित्रिने विप्रेषणले अर्थतन्त्रमा पुर्याएको योगदानलाई सकारात्मक रुपमा लिएर यस गुमाउनु परेको मूल्यलाई बेवास्त गर्न हुदैन ।
केही दिनअघि वैदेशिक रोजगारीबाट घर फर्किएकी श्रीमतीलाई पोखरा १४ का एक पुरुषले खुकुरी प्रहार गरे । श्रीमतीको मृत्यु भयो, श्रीमान्को गम्भीर घाइते भएर अस्पताल पुगे । अचेल युट्युब हुन् कि पत्रपत्रिका वैदेशिक रोजगारीका कारण भएका पारिवारिक बेमेल, परिवार विघटनका घटना कतै न कतै हुन्छन् नै । सामाजिक सञ्जालमा पनि वैदेशिक रोजगारीका कारण निम्तिएका सामाजिक समस्याले निकै चर्चा पाउने गरेका छन् ।
तर यी समस्या घटाउनका लागि सरोकारवालाको उस्तो ध्यान पुगको भने देखिँदैन । अहिले देशले केही लिन सक्ने ऊर्जाशील र उत्पादनशील उमेरका युवाले विदेशमा आफ्नो ऊर्जा, श्रम र समय खर्चिइरहेका छन् । यसको असर नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा धेरै देखिएको छ । अध्ययनका लागि होस् वा काम, विदेश उड्नेको लर्काे सानो भएको छैन, अझ लम्बिदै छ । भविष्यमा यसको सामाजिक तथा आर्थिक असर अझ बढ्दै जानेछ ।
वैदेशिक रोजगारीका कारण परिवार र दाम्पत्य जीवनमा आउने विवादलाई सञ्चार माध्यमले प्राथमिकतासाथ बाहिर ल्याउने गरेका छन् । त्यस्ता अधिकांश सञ्चार सामग्रीले श्रीमान् विदेशमा श्रम पसिना बगाइरहेको महिला वा श्रीमती अर्को पुरुषसँग दोस्रो विवाह गरेर गएको, श्रीमान्को कमाइको दुरुपयोग गरेका जस्ता मुख्य विषय बनाउने गरेको देखिएको छ । वैदेशिक रोजगारीमा निर्भरता बढिरहेका बेला यस्तो खालको सन्देश व्यापक हुँदा महिलालाई मात्र होइन, वैदेशिक रोजगारीमा गएका व्यक्ति र तिनका परिवार सबैमा मानसिक तनाव सिर्जना हुने गरेको छ । वैदेशिक रोजगारीले सामाजिक सम्बन्धलाई बिगारेको छ ।
छोराछोरीले चाहिने समयमा अभिभावकको साथ नपाउने अवस्था आएको छ । ज्येष्ठ नागरिकको स्याहार गर्ने छोराछोरी नहुँदा उनीहरुको जीवन कष्टकर बन्दै छ । यस्ता समस्याको दीर्घकालीन समाधानको उपाय खोज्न ढिला भइसकेको छ ।
तपाईको प्रतिक्रिया