पृथ्वीनारायण क्याम्पसको ६३ औँ वार्षिकोत्सव
पोखरा ।
नेपालको पश्चिम क्षेत्रकै गौरवशाली शैक्षिक इतिहास बोकेको क्यूएए प्राप्त शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पस, पोखराको ६३ औँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रवार भव्य रूपमा सम्पन्न भयो । क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाको अध्यक्षता रहेको उक्त समारोहमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले कार्यक्रम उद्घाटन गरेका थिए ।
भुसालले नेपालको पश्चिम क्षेत्रमा लामो समयदेखि स्थापना भएर बजारको मागअनुसारका उत्कृष्ट शैक्षिक कार्यक्रममार्फत मुलुक हाँक्ने राजनेता, प्रशासक, प्राध्यापक, शिक्षक, अधिवक्ता, व्यवस्थापक, साहित्यकार, कलाकार, पत्रकार, संस्कृतिविद्, अनुसन्धाता, समाजसेवी, गायक र नायकजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट व्यक्तित्वहरू जन्माउन पृथ्वीनारायण क्याम्पस सफल भएको बताए ।
क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले उत्कृष्टता र आवश्यकताका आधारमा उच्च शिक्षा प्राप्त गर्ने सबैको अधिकार सुरक्षित गर्न क्याम्पस परिवार प्रतिबद्ध भएको बताए । सहायक क्याम्पस प्रमुख निर्मलकुमार कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस एकाइका सभापति डा. लक्ष्मीशरण अधिकारीले क्याम्पसको विकासका लागि सबै मिलेर लाग्नुपर्ने विचार राख्दै प्राध्यापकका समस्याका बारेमा जानकारी गराए ।
त्रिवि कर्मचारी संघ, पृथ्वीनारायण क्याम्पस एकाइका सभापति नवराज बास्तोलाले सरोकारीहरू मिलेर क्याम्पसका चुनौतीहरूको सामना गर्न कर्मचारीसँग सहकार्य गर्दै त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्ने परम्परालाई सधैँका लागि बन्द गर्नुपर्ने धारणा राखे । पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सहारा प्रधानले क्याम्पसको विकासनिर्माणमा पोखरा महानगरपालिका वडा सहयोगीको भूमिका निर्वाह गर्न सदा तत्पर सुनाए ।
समारोहमा क्याम्पसले विभिन्न संकाय तथा संस्थानमा सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्राहरूलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रममा क्याम्पसका स्नातक तहका विद्यार्थीहरूले विभिन्न भेषभूषाका साथमा नेपाली संस्कृति झल्किने आकर्षक लोक तथा आधुनिक नृत्यहरू प्रस्तुत गरेका थिए ।
अंग्रेजी शिक्षा विभागको जर्नलको विमोचन पनि गरिएको उक्त कार्यक्रममा संस्थापक प्रिन्सिपल जोर्ज जोनका साथै पूर्वक्याम्पस प्रमुखहरू, क्याम्पस व्यवस्थापन समितिका सदस्यहरू, जनप्रतिनिधिहरू तथा त्रिविका आंगिक क्याम्पसका प्रमुखहरू लगायतका विशिष्ट बौद्धिक व्यक्तित्वहरूका साथै विद्यार्थी, अभिभावकको उपस्थिति थियो । कार्यक्रम सञ्चालन, धन्यवादज्ञापन र सभाविसर्जन भएको घोषणा क्याम्पसका सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले गरेका थिए ।
तपाईको प्रतिक्रिया