आन्तरिक पर्यटक बढाउन अभियान

समाधान संवाददाता २०७९ भदौ २१ गते ११:००

पोखरा ।
कोभिड १९ का कारण विदेशी पर्यटक पर्याप्त नआएको अवस्थामा सातै प्रदेशका होटल व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियान थाल्ने घोषणा गरेका छन् । उनीहरु प्रदेश स्तरमा भएका असल अभ्यासको अनुभव आदान गर्नुका साथै पर्यटकलाई एक प्रदेशबाट अर्को प्रदेशका घुम्न जानका लागि प्रोत्साहित गर्न सहमत भएका छन् ।

Advertisement


होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले प्रदेश सरकारसँगको सहकार्यमा आन्तरिक पर्यटन प्रवद्र्धनको अभियान थाल्ने बताए । पोखरा सिटी रेवानले सोमबार आयोजना गरेको कोभिडपछिको पर्यटन व्यवसायको अवस्था, अन्तर प्रदेश पर्यटन प्रवद्र्धन चुनौती, सम्भावना र अवसर विषयक कार्यक्रममा अध्यक्ष शाहले विदेशबाट पर्यटन नआएको अवस्थामा आन्तरिक पर्यटन प्रवद्र्धनको विकल्प नभएको उल्लेख गरे ।

प्रदेश सरकारहरुसँगको सहकार्यमा आन्तरिक पर्यटन प्रवद्र्धनको अभियान थालिने

Advertisement

‘महासंघमा आवद्ध होटल व्यवसायीले सातै प्रदेशमा आकर्षक छुटसहितको प्याकेजको व्यवस्था गर्ने तयारी गरेको छ,’ उनले भने, ‘स्टार बाहेकका साना तथा मझौलाले पर्यटकीय होटलको मान्यता नपाएका कारण स्तरोन्नतिमा ध्यान दिने छौं ।’ अझै पनि ८० हजार होटललाई पर्यटक ऐनले नछोएको जानकारी दिँदै उनले सामूहिक रुपमा सातै प्रदेशमा वृहत लगानी गरी पर्यटन प्रवद्र्धन गर्ने जानकारी दिए ।


गण्डकी प्रदेशका पर्यटन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्मा कँडेलले पर्यटनलाई प्रकृति, संस्कृति र नवप्रवद्र्धनसँग जोड्नुपर्ने बताए । प्रदेश सरकारले पर्यटन ऐन पारित गरेको जानकारी दिँदै उनले पर्यटन नियमावली बनाउँदासमेत पर्यटन व्यवसायीसँग राय लिइने उल्लेख गरे । उनले गण्डकी प्रदेशको राजधानी पोखरामा आन्तरिक पर्यटन प्रवद्र्धनको अभियान थालेकोका आभार प्रकट गरे ।

Advertisement


नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले सरकारले नीतिगत व्यवस्था गरेता पनि निजी क्षेत्रको अगुवाईमा पर्यटन प्रवद्र्धनका काम भएको बताए । हरेक प्रदेशमा पर्यटनको नाममा चिनाउने ब्रान्ड तयार गर्न सुझाव दिँदै उनले पर्यटन स्तरको होटल तथा रेस्टुरेन्टको इजाजत लिएर काम गरे सेवा, सुविधा तथा गुणस्तर बढेर जाने सुझाव दिए । प्रविधिमा सरकार जहिले पनि पछाडि हुने तर्क गर्दै उनले व्यवसायीले नेतृत्व गर्नुपर्ने उल्लेख गरे । उनले अनलाइन बुकिङमा जान व्यवसायीलाई आग्रह गरे ।


वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका उपप्रा डा श्रीकान्त शर्मा खतिवडाले नेपालमा अन्तर प्रदेशबीच पर्यटन प्रवद्र्धनका सम्भावना रहेको बताए । उनले एक प्रदेशबाट अर्को प्रदेशमा जाने सडक पूर्वाधारका सुधारदेखि अन्तर प्रदेशबीच हवाई सम्पर्क स्थापित गर्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरे । सात वटै प्रदेशले आफ्नो आफ्नो भूधारतलीय यर्थाथ अनुरुप ज्ञान, व्यवहार र सिद्धान्तमा आधारित पर्यटन नीति योजना र रणनीतिक कार्यक्रमको तर्जुमा गर्न सुझाव दिँदै उनले पर्यटन मैत्री पूर्वाधार विकासमा जोड दिए ।


कार्यक्रममा होटल व्यवसायी महासंघ नेपाल वागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेती, प्रदेश नम्बर १ का अध्यक्ष राजन दंगाल, मधेस प्रदेशका उपाध्यक्ष उदयनारायण सापकोटा, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाही र सुदुर पश्चिम प्रदेशका उपाध्यक्ष रामचन्द्र रेग्मीले आफ्नो प्रदेशले गरेका पर्यटन प्रवद्र्धनका प्रयास र पर्यटकीय सम्भावनाका बारेमा प्रकाश पारेका थिए ।


समारोहमा पोखरा सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिना, संस्थापक अध्यक्ष तथा सल्लाहकार चिरञ्जीवी श्रेष्ठ, उपाध्यक्ष धर्मबन्धु सुवेदी, सचिव तीर्थ लुइटेल लगायतले अन्तर प्रदेश पर्यटन प्रवद्र्धनका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया