विद्यालयमा मन्त्री बरालको अशोभनीय बोलीः ‘शान्ति प्रक्रिया नटुंगिए देशमा द्वन्द्व निम्तिन सक्छ’
पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले एक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै अशोभनीय भाषण दिएका छन् । पोखराको शहिद स्मृति आवासीय माविमा आयोजित शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बरालले शान्ति प्रक्रिया नटुंगिए देशमा द्वन्द्व निम्तिनेदेखि जनयुद्ध र जनआन्दोलनका शहिदहरुले चालेको कदमलाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने बताए ।
निजामती सेवा दिवसको अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति कास्कीले गरेको कार्यक्रम सम्बोधन गर्दै बरालले यस्तो बताएका हुन् ।
मुलुकको परिवर्तन र विभेद अन्त्यका लागि जनयुद्ध र जनआन्दोलनका शहिदले चालेका कदम भावी पुस्ताले अनुसरण गर्नुपर्ने बताए । उनले भने, ‘अभिभावकहरुले मुलुकमा परिवर्तनको लागि जसरी रगत बगाएर आज उहाँहरु अमर ताराको रुपमा हुनुहुन्छ । मुलुक परिवर्तनको निम्ति विभिन्न प्रकारका विभेदको अन्त्य गर्न जनयुद्ध र जनआन्दोलनका शहिदहरुले चालेको कदमलाई भावी पुस्ताले अनुसरण गर्नुपर्छ ।’
शान्ति प्रक्रिया नटंगिएसम्म भोलि के हुने हो भन्ने आंकलन पनि गर्न नसकिने अबस्था भएको उनले बताए ।सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपक्ता आयोगको भूमिका निर्वाह नभएसम्म मुलुकमा शान्ति प्रक्रियाको टुंगो नलाग्ने उहाँको भनाई थियो । शान्ति प्रक्रियालाई नटुंगाई भाड्दिने एउटा शक्तिले प्रयत्न गरेकाले प्राप्त राजनीतिक अधिकारलाई खारेजीको दिशा तर्फ लैजान एउटा प्रबृत्ति अझै पनि सलवलाई राखेको मन्त्री बरालले दाबी गरे ।
विद्यालयका बारेमा बोल्दै उनले पछिल्लो समयमा राज्यबाट उक्त विद्यालयमा राम्रो बजेट परेकोले उक्त बजेटको समयमै कार्यान्वयन गर्न निर्देशन दिए ।
गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले २०६२ साल देखि निजामती सेवा दिवस मनाउन सुरु गरिएको उल्लेख गर्दै यस बर्ष भदौ २२ गते पोखरामा रक्तदान सहितको विषेश कार्यक्रम हुने बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शहिद स्मृतिका विद्यार्थीहरुलाई आफूहरु जस्तै कर्मचारी बन्ने गरी अध्ययन गर्न आग्रह गरे । संगठनका गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद पौडेलले प्रदेश निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरे ।
संगठन कास्कीका अध्यक्ष अर्जुनदेव ज्ञावालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व सांसद एवं विद्यालय व्यवस्थापन समितिका सदस्य तेज कुमारी पौडेल, संगठनका उपाध्यक्ष पदम अधिकारी, विद्यालयका शिक्षक मधु न्यौपाने, सचिव श्यामलाल लामिछाने लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया