गण्डकी प्रदेश दुई अध्यादेश ल्याउने तयारीमा

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले दुई अध्यादेश ल्याउन अन्तिम तयारी गरिरहेको बताएका छन् । प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने तयारी अन्तिम चरणमा पुगेको मुख्यमन्त्री पोखरेलले बताएका हुन ।
निजामती सेवा दिवसका अवसरमा प्रदेश मुल समारोह समितिले बुधबार पोखरामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संघ सरकारले निजामती सेवा ऐन नल्याएपछि अध्यादेशबाट ल्याउनु परेको बताए । उनले भने, ‘संघ सरकारले निजामती सेवा ऐन ल्याउला कि भनेर कुर्दा ५ वर्ष बित्न लाग्यो, हामीले तयारी गर्दागर्दै ढिला भयो, अब छिटै अध्यादेश ल्याउँछौं ।’
कर्मचारी समायोजन ऐन लागु भएर त्यही अनुसार समायोजन भएका कर्मचारीको वृत्तिविकास रोकिएको, कर्मचारीको पदपूर्ति गर्न नसकिएकाले प्रदेशले अध्यादेशबाटै दुई कानुन ल्याउनु परेको उनको प्रष्टोक्ति छ । उनले भने, ‘स्थानीय तहमा कार्यरत सबै खालका कर्मचारी र प्रदेशमा समायोजन भएर आएकाहरुको हितलाई ख्याल गरी सरोकारवालासँग छलफल गरेर अध्यादेशको मस्यौदा तयार भइरहेको छ ।’
देशको शासकीय संरचना फेरिए पनि संघले प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्न आनाकानी गर्ने प्रवृत्तिको मुख्यमन्त्री पोखरेलले विरोध गरे । पुरातन राज्यव्यवस्थाको अवशेषका कारण यो प्रवृत्ति देखिएको उनको आरोप छ । ‘एकात्मक शासन व्यवस्थाबाट संघीयतामा गएको अवस्थामा संविधानले निदृष्ट गरेका अधिकारसमेत दिन हिचकिचाउनु पुरातन राज्यव्यवस्थाको अवशेष हो,’ उनको भनाइ थियो ।
मुख्यमन्त्री पोखरेलले कर्मचारीले सम्पादन गर्ने कार्यले सरकारको व्यवहार झल्काउने भएकाले त्यही अनुसार संवेदनशील भएर काम गर्न आग्रह गरे । मुलुकको आर्थिक अवस्था अनुसार निजामती कर्मचारीको तलब र सुविधा निर्धारण गरिएको भन्दै उनले अन्य देशको तुलनामा यो कम रहे पनि सन्तुष्ट भएर काम गर्नुपर्ने अवस्था रहेको भनाइ राखे ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका प्रदेश अध्यक्ष अशोक खनाल, नेपाल निजामती कर्मचारी युनियनका प्रदेश अध्यक्ष दीपक रेग्मी, राष्ट्रिय कर्मचारी संगठनका प्रदेश अध्यक्ष कृष्णप्रसाद पौडेलले प्रदेश सरकारले ल्याउन लागेको अध्यादेश कर्मचारीमैत्री हुनुपर्ने भनाइ राखे ।
निजामती कर्मचारी दिवसकै अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीले डिजिटल नागरिक सेवा बडापत्र सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त सेवा सार्वजनिक गरे । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका बारेमा अडियो, भिजुअल सामग्री बनाएर प्रतिक्षालयमा राखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजालले हालका लागि १ ठाउँमा दृश्य र ३ ठाउँमा अडियोमार्फत् सन्देश सार्वजनिक गरिने जानकारी दिए ।
तपाईको प्रतिक्रिया