व्यावसायिक डाटा बैंक र व्यवसाय प्रवर्द्धन मेरो पहिलो योजना

सञ्जय रानाभाट २०७९ भदौ २३ गते २१:३१

पवनकुमार प्रजापती, अध्यक्षका उम्मेदवार, पोखरा उद्योग वाणिज्य संघ


—पोखरा उद्योग वाणिज्य संघको साख फर्काउने योजना तपाईंसँग के छ ?
व्यावसायिक वातावरण निर्माण र उद्योगी व्यवसायीहरुको सम्मान अभिवृद्धि मेरो पहिलो प्राथमिकता हुन्छ । कोभिड १९ ले थला परेको व्यवसायलाई पुनरोत्थान गरेर व्यावसायिक डाटा बैंक तथा व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गर्ने मेरो पहिलो योजना हो । संघबाट पोखरालाई अन्तर्राष्ट्रिय सहरको रुपमा अघि बढाउन कार्ययोजना सहित १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरिसकेको छाैं ।
—वास्तविक उद्यमी व्यवसायी भन्दा नेता बन्न खोज्नेहरुमात्रै संघमा आउन थाले भन्छन् नि !
पछिल्ला दिनमा उद्योग वाणिज्य संघमा व्यवसायीको पक्षमा बोल्ने मान्छे कम भएकै हो । मेरो टिममा व्यवसायी र उद्योगीका लागि मात्र बोल्ने साथीहरु छन् । हामी नितान्त पोखरेली व्यवसायीहरुको हक हितका लागि मात्र बोल्छांैं । हामीलाई कुनै नेता बन्नु पनि छैन । नेतागिरी गर्नु पनि छैन । संघलाई उद्यमी व्यवसायीको साझा छाता संस्था बनाएर यसको साख जोगाउन अबका दिनहरु व्यतित गर्नेछु । संघको सदस्यता बढाउन व्यवसायीको अपनत्व हुने खालको काम हामी गर्छौं । यसपछि मापदण्डहरु बनाएर सदस्यता खोल्छौं । संघलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेतिर हाम्रो ध्यान जान्छ । संघमा आएर नेतागिरी र्नेहरुलाई निरुत्साहित गरेर उद्योगी व्यवसायीको पक्षमा बोल्न र काम गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्छ । हामी त्यो गर्छौं ।


—संघको आम्दानीका स्रोत सुकेका छन् , अध्यक्ष हुनुभयो भने आम्दानी कसरी बढाउनुहुन्छ ?
आम्दानीको स्रोत सुकेको साँचो कुरा हो । संघको आम्दानी केबल सदस्यता शुल्कमात्र छ । संघलाई सहज रुपमा चल्न सक्ने स्थिति बनाउन पोखरा उद्योग वाणिज्य संघको बहुउद्देश्यीय भवन बनाएर यसबाट आम्दानीको स्रोत खोज्नुपर्छ । आन्तरिक खर्च टार्न सहज बनाएर सदस्यबाट उठाइएका शुल्क घुमाउरो तरिकाले सदस्यहरुकै व्यक्तित्व विकासका, तालिम गोष्ठी शिक्षा, स्वास्थ्य, व्यावसायिक इन्सुरेन्स, व्यक्तिगत इन्सुरेन्स आदिमा खर्च गर्नुपर्छ । बहुउद्देश्यीय भवन बनाएर कोसेली घरदेखि तालिम हल, प्रदर्शनी हलदेखि आम्दानीका स्रोत बढाउन दीर्घकालीन उपायहरु खोज्नुपर्छ । विदेशीहरुलाई बोलाएर उत्पादन भएको चिजहरु देखाउने र हाम्रो सामग्रीहरु विदेशमा पठाउने गरेर कसरी गर्न सकिन्छ । यसको योजनामा हामीहरु छौं ।

Advertisement


—पोउवासंघ पोखराकै नेतृत्वदायी संस्था थियो, अब फेरि पोखराकै अगुवाइ गर्ने संस्था बनाउन सकिएला ? तर आज संघसँग पोखरा निर्माणका कुनै दृष्टिकोण हुन छाडे नि ?

सम्पूर्ण व्यवसायीहरु मिलेर आएको खण्डमा पोखराको अगुवा गर्ने संस्था बनाउन सम्भव छ । व्यवसायीहरु नमिले त्यसको फाइदा सरकारले लिन्छ । अहिले व्यवसायी व्यवसायी जुधाएर सरकारले फाइदा लिइरहेको अवस्था हो । हाम्रो आवाज ठिक ठाउँमा पुग्न नसकेको अवस्था छ । व्यावसायिक उद्योगीहरु मिलेर जानुपर्छ । संस्थासँग लिनुपर्ने योग्दान पनि लिन्छौं । स्थानीय सरकार नहुँदा पोखरा उद्योग वाणिज्य संघले नेतृत्व गरेकै हो । पञ्चायतको बेलामा, त्यो बेलामा संघले व्यवसायीको हितको लागि भूमिका खेलेकै हो । अहिले स्थानीय सरकार आएको छ । त्यो भूमिका महानगरले गरेको छ । अबको दिन व्यवसायी र उद्योगीहरुको एजेन्डा लिएर जान्छौैं ।

Advertisement


—संघ भनेको उद्यमी व्यवसायीको हित संरक्षक हो, तर व्यावसायिक वातावरण बनाउन र व्यवसायीको मनोबल उँचो बनाउन के गर्नुहुन्छ ?
व्यवसायीको मनोबल उँचो बनाउन कमसेकम पोखरा उद्योग वाणिज्य संघबाट सुविधा दिनुपर्छ । व्यवसायी र उद्यमीको क्षमता अभिवृद्धि गर्न तालिम र अध्ययन भ्रमणको अवसर उपलब्ध गराउनुपर्छ । अन्याय भएका बेला संघले व्यवसायीका पक्षमा बोल्नुपर्छ ।


—संघले सिर्जनशीलताविहीन मेला गरिरहन्छ तर उद्यमशीलता विकास गर्ने र उत्पादन बढाउने कार्ययोजना ल्याउन सकिन्न ?
मेरो कोसेली घर भनेको कास्कीदेखि गण्डकी प्रदेशकै हाम्रो उद्यमीहरुले उत्पादन गरेको सामग्री प्रवद्र्धन गर्ने योजना हो । उत्पादन गर्ने उद्यमीलाई आवश्यक भएको खण्डमा संघले ठाउँ उपलब्ध गराउँछ । देशभरका जिल्लाबाट भ्रमण गराएर पर्यटन क्षेत्रको विकास गर्न अबको नेतृत्वको भूमिका हुन्छ । त्यो मेरो नेतृत्वले गर्न सक्छ । पर्यटनलाई सहज रुपमा चलाउनुपर्छ । त्यो भयो भने सहज रुपमा हाम्रो व्यवसाय पनि चल्छ । पर्यटनलाई केन्द्रित गरेर विदेशबाट मान्छे भिœयाउन सकिन्छ ।


—पहिला झै अध्यक्ष र सदस्यहरुको मात्रै निर्वाचन गर्ने गरी संघको विधान संशोधन गर्ने योजना छ कि यही ठिक छ ?
अध्यक्षसहित अन्य सदस्यको चुनाव ठिकै छ । त्यो केही छैन । तर, अध्यक्षले चाहिँ महासचिव र कोषध्यक्ष सो–स्फूर्त रुपमा चयन गर्न पाउनुपर्छ । यो विधानमा चेन्ज गर्नुपर्ने धेरै कुराहरु छ । फेरि एकपटक केही कुराहरु थपघट गर्नुपर्छ । अध्यक्षसँगै महासचिवको भूमिका पनि ठूलो हुन्छ । त्यो पद अध्यक्षले चयन गर्न पाए राम्ररी काम हुन्छ । दुई पदलाई सदस्यबाटै चुनेर ल्याउनुपर्छ । तर, अहिले नै यो भन्ने पक्षमा छैन । पदाधिकारी पूर्वअध्यक्षसँग सल्लाह गरेर चेन्ज गर्न सकिन्छ । प्रस्तुतिः सञ्जय रानाभाट

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया