मनाङमा प्रतिनिधि सभामा कांग्रेसबाट टेकबहादुर गुरुङ सर्वसम्मत, प्रदेशमा मनाङेलाई समर्थन
पोखरा ।
नेपाली कांग्रेस मनाङले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ ।
मनाङ कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिस अनुसार नेता गुरुङलाई एकल र सर्वसम्मत रुपमा उम्मेदवारको रुपमा सिफारिस गरेको पार्टी जिल्ला सभापति शंकर गुरुङले जानकारी दिए ।
यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्यूङ गुरुङ (कर्मा) लाई सिफारिस गरिएको छ ।
प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र ‘क’ मा भने कांग्रेसले प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फको उम्मेदारका लागि सिफारिस हुनेहरुमा पार्टी महासमिति सदस्य साङदो लामा, जिल्ला उपसभापती चन्द्र घले, क्षेत्रीय सभापति छिरिङ घ्याल्पो लामा र प्रदेश अधिवेशन प्रतिनिधि मुनिन्द्रजङ गुरुङ रहेका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ का लागि समानुपातिकतर्फ जिल्ला सचिव महेन्द्र घले सर्वसम्मत सिफारिस भएका छन् ।
कांग्रेस मनाङले आगामी मंसिरमा हुने प्रदेश सभा निर्वाचन ‘ख’ का लागि राजीव गुरुङ (दिपक मनाङे) लाई समर्थन गर्ने भएको छ । प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नं ‘ख’मा स्वतन्त्र उम्मेदवारको रुपमा राजीव गुरुङलाई समर्थन गर्ने निर्णय भएको जिल्ला सभापति शंकर गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेका वर्तमान खेलकुद मन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको कांग्रेस मनाङले जनाएको छ । मनाङे गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुँदमन्त्री छन् ।
अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदारी दिएका गुरुङलाई तत्कालिन समयमा नेकपा एमालेले साथ दिएको थियो । यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ तर्फ मनाङ कांग्रेसले जनजातीतर्फ कर्मा गुरुङ र महिलातर्फ गीता गुरुङलाई सिफारिस गरेको छ ।
तपाईको प्रतिक्रिया