मुस्ताङमा स्याउ टिप्न सुरु
जोमसोम ।
मुस्ताङका ५ वटै स्थानीय तहका स्याउ बगैंचामा स्याउ संकलन सुरु गरिएको छ । कृषि ज्ञानकेन्द्र मुस्ताङले बनाएको कार्यतालिका अनुसार स्याउ टिप्न थालिएको हो । केही वर्षअघि उपभोक्ताले मुस्ताङको स्याउमा गुणस्तर खस्किएको गुनासो गरेपछि जिल्लामा स्याउ टिप्ने तालिका बनाइएको थियो । स्याउ पूर्ण रुपमा नपाक्दै टिप्न प्रतिबन्ध गरिएको थियो । त्यही तालिका अनुसार नै शनिबारबाट मुस्ताङमा स्याउ टिप्न थालिएको हो ।
यसअघि स्थानीय परम्परागत रैथाने स्याउ र उच्चघनत्व प्रविधिमा आधारित गाला, गोल्डेन डेलिसियस र जोनाप्रिन्स स्याउबाहेक गाला र रिङरुट स्याउ मात्र टिप्न दिने निर्णय गरिएको थियो । शनिबारदेखि रैथाने स्याउ र उच्च घनत्वको गोल्डेन डेलिसियस, फुजी र जोनाप्रिन्स स्याउ टिप्न सुरु भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए ।
स्याउ बिक्री गरी मुस्ताङले वर्षेनी ५० देखि ६० करोड रुपैयाँसम्म आम्दानी गर्छ ।
केही व्यापारीले चाडपर्वलाई लक्ष्य गर्दै महँगो मूल्यमा स्याउ बेच्ने ध्याउन्नमा काँचै स्याउ बजारमा लगेर बेचेको सरोकारवाला बताउँछन् । स्याउ टिप्ने तालिका लागु गरेपनि लुकिछिपि स्याउ टिपेर नियम उल्लंघन हुने गरेको छ । रैथाने स्याउ १५ असोजसम्ममा पाक्ने भएपनि व्यापारीले भदौमै लगेर बेच्ने गरेका छन् । जिल्ला बाहिरका व्यापारीले असार, साउनमै कृषकको स्याउ बगैंचामै गएर ठेक्का सम्झौता गर्छन् । खुद्रा व्यापार गर्न भन्दा एकैपटक ठेक्कामा दिँदा फाइदा हुने भएकाले किसानले स्याउ बगैंचा नै व्यापारीलाई दिने गरेका हुन् ।
मार्फाका स्याउ किसान दीपक लालचन भन्छन्, ‘स्याउ बगैंचामा जति राखेपनि व्यापारीबाट पाउने मूल्य उही हो भने जस्तो मूल्य पाइन्छ भने जुन समयमा बेचेपनि हामी किसानलाई एउटै हो ।’ मुस्ताङका स्याउ किसानले वर्षेनी ५ लाखदेखि करोडसम्मको स्याउ बिक्री गर्ने उनले बताए । नगदे बालीको रुपमा रहेको मुस्ताङको स्याउ यहाँका किसानको मुख्य आम्दानीको स्रोत हो ।
हिमाली क्षेत्रको चिसो हावापानी र भूगोलमा उत्पादन गरिने स्याउ अन्य स्थानको भन्दा फरक गुणस्तर हुने भएकाले उपभोक्ताको रोजाइमा परेको धादिङका स्याउ किसान प्रेम तामाङले बताए । विगत १० वर्षदेखि निरन्तर स्याउ व्यापार गर्दै आएका तामाङ भन्छन्, ‘स्याउ बगैंचा ठेक्का लिन किसानको बगैंचामा पुग्छौं, बगैंचा हेरर दुवै पक्षबीच मोलतोल गर्छौं ।’ यसरी ठेक्का गर्दा नाफा/घाटा निश्चित नहुने उनको भनाइ छ ।
समुद्री सतहदेखि २५ सय मिटर माथिको उचाइमा उत्पादन हुने मुस्ताङको स्याउ हिउँले सिञ्चित हुने हुँदा स्वादिलो र पोषिलो हुने गर्छ । व्यापारीले किसानको स्याउ बगैंचामा प्रतिकेजी ९० देखि १ सय रुपैयाँमा खरिद गरी पोखरा,काठमाडौं लगेर २ सय देखि ३ सय रुपैयाँसम्म बिक्री गर्छन् । स्याउ बिक्री गरी मुस्ताङले वर्षेनी ५० देखि ६० करोड रुपैयाँसम्म आम्दानी गर्छ ।
यसवर्ष मौसम अनुकुल रहेको र उच्चघनत्व प्रविधिमा आधारित स्याउ खेती भएकाले मुस्ताङमा स्याउ उत्पादन १५ प्रतिशतले वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । गत वर्ष मौसम प्रतिकुल हुँदा र स्याउमा विभिन्न प्रकोप देखिएकाले अपेक्षा गरेअनुरुप स्याउ उत्पादन हुन सकेको थिएन ।
मुस्ताङमा १५ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । जसमध्ये ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार भएको हो । जिल्लाको कुल स्याउ विस्तार भएको क्षेत्र मध्ये ५ सय ८० हेक्टरमा लगाएको स्याउ बोटले उत्पादन दिने गरेको बताइएको छ । मुस्ताङमा गतवर्ष ५ हजार ५६४ मेट्रिक स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । जिल्लाको थासाङ ३, ४ र ५ बाहेक ५ वटै स्थानीय तहमा स्याउ खेती गरिएको छ ।
तस्विर: दिपक लालचन
तपाईको प्रतिक्रिया