पाल्पालीको सेयर पुँजी पौने ३ करोड
पोखरा ।
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा ९ को सेयर पुँजी २ करोड ८८ लाख २६ हजार ८सय १ पुगेको छ । सहकारीको गत आर्थिक वर्षको सेयर पुंजी १ करोड ५५ लाख १३ हजार पुगेको थियो । सहकारीको चौथो वार्षिक साधारण सभामा अध्यक्ष चिरञ्जीवी श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९ सम्ममा सहकारीको कुल निक्षप घटेको जानकारी दिए ।
गत आर्थिक वर्षमा १ करोड ४८ लाख ९० हजार ३ सय ७२ निक्षेप रहेकोमा अहिले सहकारीको निक्षेप १ करोड २२ लाख ९९ हजार ४ सय १० कायम भएको छ । यस आर्थिक वर्षमा सहकारीको कर्जा प्रवाह ३ करोड १२ लाख २७ हजार २ सय ७५ पुगेको छ । सहकारीले गत आर्थिक वर्ष २०७७/०७८ मा सहकारीको कर्जा प्रवाह १ करोड ६८ लाख ४३ हजार ८ सय ३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले सेयर पुँजी, निक्षेप संकलन, कर्जा प्रवाहको अवस्था हेर्दा सहकारी ठिक ठाउँमा रहेको बताए । ‘सहकारी सेयर सदस्यको रोजगार प्रवद्र्धन, आत्म निर्भर बनाउने सारथी बन्नुपर्छ,’ मन्त्री बुढाले भने, ‘समय सान्दर्भिक ब्याजदर कायम गरी वित्तिय अनुशासन कायम गर्नुपर्छ ।’ उनले सेयर सदस्यलाई सहकारी शिक्षाबारे सुसूचित गर्नु आवश्यक भएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभागका दर्ता अधिकारी भरतराज पौडेलले व्यक्ति व्यक्तिको सहकार्यले मानव सभ्यताको विकास भएको बताए । जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक बाँस्तोलाले सेयर पुँजी र निक्षेप संकलनलाई सन्तुलन कायम गर्न सुझाव दिए । उनले सेयर पुंजी अधिकतम भएकोले निक्षेप संकलनमा जोड दिन आग्रह गरे ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष चिरञ्जीवी श्रेष्ठले प्रस्तुत गरेको कार्य प्रगति र आगामी कार्ययोजना, कोषाध्यक्ष उमा सापकोटाले प्रस्तुत गरेको वार्षिक आय सहितको आर्थिक प्रतिवेदन र लेखा सुपरिपेक्षण समितिका संयोजक नारायण पौडेलले पेस गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ ।
कार्यक्रममा रेसुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भानुभक्त भण्डारी, भृकुटी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष जयराम अधिकारी, पाल्पाली बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, सञ्चालक समिति उपाध्यक्ष बाबुराम खनाल, सचिव रेशमराज थापा, शिक्षा समितिका संयोजक बालचन्द्र परियार लगायतले बोलेका थिए ।
कार्यक्रममा एसइई परीक्षामा उत्तीर्ण सेयर सदस्यका छोराछोरीहरु वीरेन्द्र श्रेष्ठ, तिर्सना थापा, प्रसूनमान बुद्धाचार्य, आयुषमान कर्माचार्य, आयुष लम्साल, आदित्य अधिकारीलाई सम्मान गरिएको थियो । उत्कृष्ट सेयर सदस्य नन्दा श्रेष्ठलाई सम्मान गरिएको छ । २०७६ साल असार १३ गते पोखरा महानगरपालिकाको सहकारी विभागका विधिवत दर्ता भएको सहकारीले पोखराको वडा नम्बर १ देखि १७ सम्म कार्यक्षेत्र विस्तार गरेको छ ।
तपाईको प्रतिक्रिया