आत्महत्या न्यूनीकरणका लागि कारणको खोजी आवश्यकः मन्त्री अधिकारी

समाधान संवाददाता २०७९ भदौ २६ गते १२:१६

पोखरा ।
गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले मानसिक स्वास्थ्यलाई बुझेर उपचार एवं मनोपरामर्शमा ध्यान दिन सके आत्महत्याको न्यूनीकरण हुने बताएकी छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा कोपिला नेपालले ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ पोखरामा आयोजना गरेको आत्महत्याको अवस्था र रोकथामका उपायहरु विषयक प्रदेश स्तरीय अन्तरसंवाद कार्यक्रममा मन्त्री अधिकारीले बढ्दो आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्यसँगै समुदाय स्तरबाटै कारण खोजी गरेर समाधानमा पहल गर्नुपर्नेमा जोड दिइन् ।

Advertisement


उनले आत्महत्याको निर्मम बाटो रोज्न समाजका विभिन्न कुराले प्रभाव पार्ने भएकाले सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक अवस्थाको अध्ययन गर्नुपर्ने बताइन् । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मानसिक स्वास्थ्य समस्यामा भएकाप्रति सकारात्मक दृष्टिकोणको खाँचो औल्याए । उनले मानसिक स्वास्थ्य समस्यानै आत्महत्यको कारण बन्दै गएको उल्लेख गर्दै तनाव व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्नुपर्ने जोड दिए ।


कार्यक्रमा गण्डकी अस्पताल पोखराका मनोसामाजिक स्वास्थ्य विभागका डा. वसन्त ढुंगानाले आत्महत्याको कारण र रोकथामका उपायका बारे प्रस्तुतीकरण राख्दै विश्वमा प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्ने र वार्षिक ८ लाखले आत्महत्या गर्ने गरेको बताए ।


कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवालले मानसिक स्वास्थ्य समस्या भएकाहरुको स्थानीय तहमै सहज उपचारको पहुँच नहुँदा विभिन्न जिल्लाबाट उपचारमा पोखरा धाउनुपर्ने बाध्यता निकै महँगो र असहज भएको बताइन् । कार्यक्रममा नेपाली कांग्रेस, कास्कीका सहसचिव नवीन सिग्देल, राष्ट्रिय मानवअधिकार आयोगका कार्यक्रम अधिकृत टंक खनाल, यातना पिडित समाज गण्डकीका अध्यक्ष तिलबहादुर उप्रेती लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया