बिपीको विदेश नीतिबारे विमर्श

समाधान संवाददाता २०७९ भदौ २६ गते १२:२६

पोखरा ।
१०९ औँ बिपी जयन्तीका अवसरमा नेपाली लेखक संघले एक विचार गोष्ठी सम्पन्न गरेको छ । उक्त विचार गोष्ठीमा सह–प्राध्यापक भीमनाथ रेग्मीले ‘कूटनीति र विदेश मामिलामा बिपी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै बरालले बीपी कोइरालाले भारत, चीन, तेस्रो विश्वलगायत विविध पक्षबाट विदेश नीति निर्माणमा फरक फरक आयामबाट योगदान दिएको बताए । बिपी कोइरालाबाहेक अन्य कुनै पनि नेतृत्वले विदेश नीति निर्माण र कार्यान्वयनमा सन्तुलित नीति अवलम्बन गरेको सुनाए ।


बिपीका झैँ छिमेकी देश र अन्तर्राष्ट्रिय समुदायमा जबरदस्त उपस्थिति र प्रष्ट धारणा र त्यसको सफल कार्यान्वयनको कुशलतालाई अवलम्बन गर्न नसक्दा हाल नेपालको विदेश नीति कमजोर बन्दै गएको कुरामा उनले जोड दिए । नेहरू, चाउ एन, माओ लगायत छिमेकी ठूला राष्ट्रका नेताहरू र अन्य देशका नेताहरूसँग अडान राख्न सक्नु नेपाल जस्तो सानो मुलुकका लागि असाधारण रहेको कुरालाई बरालले कार्यपत्रमा महत्तवका साथ कार्यपत्रमा उठाएका छन् ।

आन्दोलनका क्रममा, निर्वासनका समयमा, सत्तामा रहँदा पनि बीपीले नेपालको विदेश नीतिलाई हस्तक्षेपकारी ढङ्गले अगाडि बढाएको सुनाए । कार्यपत्रमाथि टिप्पणी गर्दै सह–प्राध्यापक पद्मशरण रेग्मीले कार्यपत्र निकै मिहिनेत गरेर तयार पारिएको बताए । बिपीको जीवनका विविध आयाममा उनले अवलम्बन गरेको विदेश नीतिका भित्री पाटाहरूलाईसमेत कार्यपत्रमा समेटिएको उनले बताए ।

Advertisement


कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै विश्लेषक विश्व सिग्देलले बिपीका राजनीतिक गतिविधिलाई सम्पूर्ण नेपालीले अनुसरण गर्नुपर्ने कुरामा बेवास्ता गरिएकोमा दुःख व्यक्त गरे । बिपी कोइरालाले निकै कठिन अवस्थामा पनि सहजतापूर्वक समस्या समाधान गर्ने सामथ्र्य विकास गरेकाले उनी महान् राजनीतिज्ञ भएको बताए ।


नेपाली कांग्रेस, कास्कीका सभापति किशोरदत्त बरालले बिपीका बारेमा चर्चा परिचर्चा प्रशस्त रूपमा भएको तर उनका विचार र योजनालाई कार्यान्वयन गर्ने कुरामा कमजोरी भएको बताए । उनले बिपीले गाउँको विकासलाई विशेष जोड दिएको तर उनको देहावसानपछि त्यसलाई नेपालका शासकहरूले अगाडि लिएर जान नसकेको बताए ।

Advertisement


कार्यक्रममा शुभकामना व्यक्त गर्दै कांग्रेस नेतृ सरस्वती गुरुङले नेपाली राजनीति र साहित्याकाशमा बीपीको उज्यालो व्यक्तित्व निरन्तर बलिररहेको बताइन् । नेपाली लेखक संघ, कास्कीका अध्यक्ष सञ्जीव पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रीता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव कमल पौडेल ‘अथक’ले गरेका थिए ।

तपाईको प्रतिक्रिया