संगम सहकारीमा तिवारी

पोखरा ।
संगम बचत तथा ऋण सहकारी संस्थाको १५ औं सभा पोखरामा भएको छ । सभा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले उद्धाटन गरे । संस्थामा कुल २ हजार ६ सय ७३ सेयर सदस्य छन् । कुल बचत ४२ करोड ५७ लाख छ भने ४६ करोड १९ लाख ५९ हजार ऋण परिचालन गरिएको छ । सेयर पुँजी ८ करोड ४२ लाख ३५ हजार छ भने जगेडा कोषमा २ करोड २१ लाख २२ हजार छ ।
उद्धाटन गर्दै अधिकारीले कास्कीका सहकारी संस्थाहरुलाई स्वरोजगार कोषामार्फत् रकम ल्याएर उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरे । झापा एउटा जिल्लामा भन्दा सिंगो गण्डकी प्रदेशमा स्वरोजगार कोषमार्फत्को लगानी कम भएको सुनाए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ४८ वटा सहकारीले मात्र आवेदन दिएको भन्दै कोषको रकम ल्याएर आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने गरी काम गर्न सकिने तर्क गरे ।
उनले भने, ‘सहकारीहरुको लगानी उत्पादनसँग जोड्नुपर्छ ।’ पोखरा १५ का अध्यक्ष तोरण बानियाँले एक सहकारी एक उत्पादन नीति बनाएर अघि बढ्ने गरी छलफल भइरहेको बताए । उनले महिला उद्यमशीलता र युवा स्वरोजगारमा जोड दिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बराल, कास्की बचत संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना, रोयल सहकारीका अध्यक्ष रुद्रकुमारी गुरुङ, संगम योग केसी स्मृति पुरस्कार संस्थापकतर्फबाट डा. नम्रता केसी, संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्ति कोषका संस्थापकतर्फबाट सन्ध्या कुँवर केसी लगायतले बोलेका थिए ।
कार्यक्रमबीच संगम योग केसी पुरस्कारबाट सहकारी अध्यक्ष नीरज थापा पुरस्कृत भए । संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्तिका लिका माविका छात्राहरु विनिशा कार्की, मेनुका जुग्जाली र सम्झना परियारलाई प्रदान गरियो । सहकारीले १० वर्षभन्दा बढी काम गरेका कर्मचारी संगीता केसीलाई सम्मान गर्यो । सोही अवधि काम गरेका विभिन्न समिति तथा उपसमितिमध्येबाट उत्कृष्ट व्यक्ति सहकारीका व्यवस्थापक केशबहादुर थापा सम्मानित भए ।
सहकारीका अध्यक्षले आफ्नो कार्यकालभित्रको कार्य सम्पादन हेरी प्रदान गर्ने गरी स्थापना गरिएको पुरस्कारबाट व्यवस्थापक केशबहादुर थापा तथा सहकारीका सचिव धनराज पुरी पुरस्कृत भए । यस्तै, सहकारी सञ्चालन समिति सर्वसम्मत चयन भएको छ । निवर्तमान उपाध्यक्ष नवराज तिवारी अध्यक्ष चयन भए ।
उपाध्यक्ष बुद्धिमान थापा, सचिव धनराज पुरी, कोषाध्यक्ष, सदस्यहरु विष्णुकुमारी थापा, सुभासचन्द्र भण्डारी, तोयनाथ भट्टराई, भुपेन्द्र गौचन र तिलक थापा छन् । लेखा समिति संयोजक भोविन्द्र गिरी, सदस्यहरु शान्तरत्न गुभाजु र शोभाकुमारी कुँवर छन् ।
संस्थाका अध्यक्ष नीरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नवराज तिवारी र सञ्चालन सचिव धनराज पुरीले गरेका थिए ।
तपाईको प्रतिक्रिया