पोखराका सम्पदाको संरक्षण महानगरले गर्छः उपप्रमुख गुरुङ

पोखरा ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदा पोखराको सम्पत्ति भएको बताउँदै संरक्षण गर्ने जिम्मेवारी महानगरको भएको बताएकी छन् । पोखरा ३१ को पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिको २० औँ साधारणसभा तथा १० औँ अधिवेशनको उद्धाटन कार्यक्रममा बोल्दै कोटहरुको संरक्षणमा महानगरले ध्यान दिएको र नीति तथा कार्यक्रममा समावेश गरेको बताइन् ।
‘पोखरा तालैताल र कोटैकोटको सहर हो । त्यसैले संरक्षणका लागि नीति तथा कार्यक्रममै लेक टु लेक कोट टु कोट कार्यक्रम ल्याएका छौँ,’ उनले भने । महानगरभित्र जहाँका ताल र कोट भएपनि आआफ्नै महत्व रहेको बताउँदै सम्पदाको संरक्षणका लागि महानगरको ध्यान गएको बताइन् । उनले पोखरालाई पर्यटकीय सहरका रुपमा विकास गर्दै धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्न सबैको साथ र सहयोग आवश्यक रहने बताएकी छन् ।
उनले पोखरा महानगरले पूर्वाधारमा बढि जोड दिएको बताउँदै समृद्ध महानगर बनाउने गरी युवालाई स्वरोजगार बनाउन व्यवसाय प्रवद्र्धन केन्द्र, महिलालाई आर्थिक रुपमा सबल बनाउन उपप्रमुखसंग महिला कार्यक्रम, कृषिमा अनुदान लगायतका कार्यक्रम ल्याएको बताइन् ।
तपाईको प्रतिक्रिया