इरानी सिनेमाको झल्को दिने ऐना झ्यालको पुतली

युवराज गुरुङ ‘युनिश’ २०७९ भदौ २६ गते १९:४८

युनिश गुरुङ
फ्रान्सेली निर्देशक रोमन पोलान्स्कीले एक पटक भनेका थिए – ‘राम्रो सिनेमाले तपाईलाई थियटरमा बसेर फिल्म हेरिरहेको छु भन्ने कुरा नै बिर्साइदिन्छ ।’ जब दर्शक कथा भित्र घुस्न थाल्छ । पात्रसंगै यात्रा तय गर्छ । कथा भित्रको समस्यामा अप्ठ्यारो र समाधान भएपछि रिलिफ महसुस गर्छ । तब सिनेमा सुन्दर भएको मानिन्छ । यसै साता नेपाली सिनेमा अकाशमा यस्तै एउटा सुन्दर सिनेमा उदाएको छ, ऐना झ्यालको पुतली ।

ऐना झ्यालको पुतली अर्थात् सिसा भित्र थुनिएको पुतली जो बाहिरी संसार नियाल्छ तर निस्किन सक्दैन । प्वाँखमा रंगिन सपना भरेर स्वतन्त्र गगनमा निस्फिक्री उड्न चाहान्छ तर सिसा भित्र अड्किन बाध्य हुन्छ । यस सिनेमाको कथाकी प्रोटागोनिस्ट विद्या अधिकारी (कन्चन चिमोरिया लक्ष्मी) पनि ऐना झ्यालमा अड्केको पुतलीको जीवन बाँचिरहेकी छिन् । उनी नजिकको गाउँमा गएर माध्यमिक तहको पढाइ पुरा गर्न चाहान्छे । स्वतन्त्र बन्न चाहान्छे तर उनको सपना प्राप्तिमा बाधा आइपर्छ । परिवारले उनको चाहना थाहा पाउनु अगावै उनी बन्धनमा बाँधिन्छन् ।

के विद्याग्रहण गर्ने विधाको सपनामा साँचिकै ग्रहण लाग्ला ?
फिल्मको ओपनिङ सिनमा विद्या र उनकी भाई बसन्त (दिनेश खत्री) उत्सुकतापूर्वक काँचको बट्टामा थुनिएको पुतली हेरिरहेका छन् । झुसिलकिराबाट पुतली बन्दासम्म थुनिएर राखेको पुतली विद्याले उडाउन खोज्छिन् । तर बसन्तले अवरोध गर्छ । यद्दपी विद्याले पुतली उडाएर नै छाड्छिन् ।

के बन्धनमा बाँधिएकी विद्याले उन्मुक्ति पाउली ? वर्षौ देखि पुरुष प्रधान समाजले कठपुतली बनाएका विद्याहरुले उन्मुक्ति पाउछन् ?
लिनियर न्यरेटिभमा रहेको कथाको संरचना सुन्दर छ । जुन सरल र सामान्य शैली पनि हो । समान बेगमा बगेको पटकथाको कारण दर्शक सजिलै कथा भित्र घुस्छ र कथाले अन्तिमसम्म दर्शकलाई बाँधेर राख्छ । कथा, पात्रहरु फिक्सनल भएको थाहा हुदाँ हुदै भावुक बनाइ छाड्छ । बालापनको धूमिल स्मृतिमा पुर्याउछ । ग्रामिण भेगमा निम्न जीवन विताएका जो कोहीलाई बाल्यकालको फन्को गराउछ । निर्देशकले बाल्यकालमा गरिने स–साना क्रियाकलापहरुलाई मिहिन रुपमा उतारेका छन् ।
यो विद्याहरुको कथा हो । विशा राई र पारुको कथा हो । माइतको दैलो टेक्न समयौं कुर्ने विद्याकी आमाको कथा हो ।

स्वतन्त्रताको भोकको कथाको हो । जो वर्षौं देखि अधीनताको डोरीले बाँधिएर बसेका छन् । फिल्ममा कानमा लगाउने मुन्द्रीलाई बिम्बको स्वरुप दिएको छ । मुन्द्री हजुरआमा पछि आमा हुँदै विद्याकी कानमा आइपुग्छ । जसले महिलाहरु पितृ सत्तामा महिलाहरु कसरी कठपुतली जीवन बाँचिरहेका छन् । त्यो देखाउन खोजिएको छ । फिल्मको एउटा दृश्यमा बसन्तले स्वतन्त्रको कविता वाचन गर्दैछ । सोही समयमा क्यामरा हजुरबुबा, बुबा हुँदै विस्तारै विधाको मुहारमा होल्ड हुन्छ । त्यति बेला विधाले मुन्द्री लगाएकी हुन्छिन् । त्यसपछि क्यामरा विस्तारै पिनिङ हुँदै झ्याल तर्फ लैजान्छ । यो दृश्य र त्यति बेला बोलेका संवाद निकै अर्थपूर्ण छ । फिल्ममा एउटा यस्तो दृश्य छ, बसन्त कपाल कोर्दै छ छेउमा दिदी खाटमा बसिरहेकी छिन् र उनीहरुको बीचमा खम्बा छ । र खम्बा पुतली अंकित रुमाल झुण्डिरहेको छ । उक्त दृश्यमा खम्बाले दुइ जनाको फरक देखाउन खोजेको छ ।
विद्या अलि बिद्रोही स्वभावकी हुन्छिन् । उनी ऐना झ्याल तोड्न चाहन्छिन् । खोला तर्न चाहान्छिन् तर कहिले नवराज, कहिले मुढो बाउ त कहिले चकचके भाई तगारो भएर आउछ । विद्याले पढ्न चाहेको विद्यालय खोला पारी छ । खोलालाई स्वतन्त्रताको रेखाको रुपपनि देखाएको छ । उनले खोला पार गरकै दिन आमाको गाली खान्छिन् । निर्देशकले पारुसंग खोला तर्दा पृष्ठभूमिमा देखाएको दृश्य, खोलामा निस्फिक्री पौडेका बच्चाहरुको दृश्यले महिला स्वतन्त्रता र रूढिवादी समाजलाई प्रतिविम्बित गर्न खोजेका छन् ।

इरानलाई बर्बर युद्ध मात्र हैन फिल्मको उर्वर भूमि पनि मानिन्छ । चिल्ड्रेन अफ हेभन, सन चिल्ड्रेन, होर वेर इज माइ फ्रेन हाउस, कलर अफ प्यारडाइज जस्ता सिनेमा बाल मनोविज्ञान र पारिवारिक बन्धनमा बनेका छन् । ऐना झ्यालको पुतलीले पनि तिनै कलात्मक र यथार्थपरक इरानी सिनेमाको झल्को दिलाउछ । बाल मनोविज्ञानसंग साक्षात्कार गराउछ । हुन त हराएको साइकल खोजीमा हिडेका बाउछोराको कथा ’दी बाइसाइकल थिभ्स’को झल्को पनि नदिएको हैन । दि बाइसाइकल थिभ्स इटालियन न्यू रियालिज्म मुभमेन्टमा बनेको सुरुआती फिल्म पनि हो । ऐना झ्यालको पुतलीमा पनि अधिकांश भन्दा बढी कलाकार ननप्रोफेसनल हुन् । इटालियन न्यू रियालिज्म मुभमेन्ट सबै भन्दा धेरै पछ्याएको इरानी फिल्ममेकरहरुले हो । जसलाई इरानी न्यू वेभको मुभमेन्ट भनियो । माजिद माजिदी, बहराम बेजाय, अब्बास कियारोस्तमी त्यसलाई पछ्याउने फिल्म मेकरहरु हुन् । अत्यन्त सरल कथा, स्लो पेस, ननप्रोफेसनल एक्टर, सिंगल टेक, काव्यात्मक, मेटाफोरिकाल स्टोरी टेलिङ इरानी न्यू वेभका खासियात हुन् ।

फिल्मको सुन्दर पक्ष भनेको खिचाई पनि हो । दर्शकलाई पात्रसंगै यात्रा गराउन, अधिक यथार्थपरक देखाउन धेरै ठाउँमा सिंगल अर्थात् लङ टेक प्रयोग गरिएको छ । जसले अब्बास कियारोस्तमीको सिनेमाको झल्को दिलाउछ । ननप्रोफेसनल एक्टरलाई सिंगल टेकमा लामा संवाद बोल्न लगाउनु, अभिनय गर्न लगाउनु तारिफ गर्न लायक कुरा हुन् । खोलातिर बसन्तले कुटाइ खाँदा निसासिदा होस् या देउराली चोकमा बाङ्गे मिलनसंग जुध्दा गरिएको सेक गरिएको क्यामराले कथा र पात्रको मनोदशा दर्शाउन मद्दत गरेको छ । जसले कथालाई जीवन्त बनाउन सहयोग गरेको छ ।

आर्ट डिरेक्टरको काम पनि प्रसंशानीय छ । तत्कालसमयमा प्रयोग गरिने पेन, सिनेमाका पोस्टर, पैसा जस्ता प्रोप्सले तत्कालिन समयमै पुर्याईदिन्छ । निर्देशकले टाइमफ्रेमलाई डिटेलमा देखाएको छ । कक्षाकोठाको एउटा दृश्यमा मिति लेखिएको छ, २०५२ मङ्सिर १२ गते । त्यो दिन मुनामा कविता पनि पठाएको दिन पनि हो । जुन समय द्वन्दकाल सुरु हुनु २ महिना अघिको समय हो । त्यसको केहि महिना पछि बसन्त र बाङ्गे मिलन मगर खोज्न जाने क्रममा पृष्ठभूमि रेडियो बजिरहेको हुन्छ । जसमा रोल्पामा अज्ञात समूहबाट आक्रमण गरिएको छ भनेर सशस्त्र द्वन्द्व शुरू भएको कुरा सङ्केत गरेको छ । कालखण्डलाई स्पष्ट देखाउन द्वन्द्व कुरा त गरेको छ तर मूल कथामा सो घटानाक्रमले असर नपर्ने गरि । पुष्पसंगमको बिजियम अत्यन्त राम्रो छ । सम्भवत ः उनले गरेका पछिल्ला काम मध्ये उत्कृष्ट हो । कथा अनुरुप राजेन्द्र मोक्तानले रंग संयोजन गरेका छन् ।

कलाकारहरु डाइलग डेलिभरी, अभिनय यथार्थपरक छ । कति ठाउँमा अभिनय यस्तो छ कि कलाकारको अनुहारको भावले धेरै कुरा बताउछ । कास्टिङ डिरेक्टर केदार श्रेष्ठ र आकाश मगरले चरित्र सुहाउदो कलाकार छानेका छन् । कहिल्यै घर आउँदिनँ भनेर घुर्क्याउने, नजिक हुँदा दिदीसंग झगडा गर्ने अनि टाढा हुँदा खिर दिने दृश्यहरुले दिदीभाईको प्रेम देखाएको छ । फिल्म बाहुविवाह, रुढिवादी र पितृसत्ताको विरोधमा छ तर लम्बेतान क्रान्तिकारी संवाद घुसाएको छैन । त्यस्तै फिल्मको एउटा पुतली उमेश श्रेष्ठ अर्थात् बाङ्गेपनि हो । जो पटक पटक काठमाडौँ उड्ने सपना देख्छ र एकदिन उडेर पनि जान्छ । तर विधालाई स्वतन्त्र उड्न रोक छ ।

एउटा दृश्य छ, विधा खेतमा पराल बोकेको त्यसपछि रातको दृश्य आउछ । त्यति बेलाको फेड इन ब्ल्याक नगरेको भएपनि हुन्थ्यो जस्तो लाग्छ । किनकि फेड इन, फेड आउट सामन्यतय लामो समयको अन्तराल देखाउन प्रयोग गरिन्छ । समग्रमा सम्पादन पक्ष राम्रै छ । एउटा दृश्यमा विधाले गालामा मेकअप पोतेको देखाउछ । यति डिटेलमा काम गर्ने निर्देशकले तत्कालिन समय प्रयोग गर्ने टोनी, फेयर एण्ड लभ्ली प्रयोग गरेको देखाएको भए अझ राम्रो हुन्थ्यो कि ? किन भने मितिनीले प्रयोग गर्ने मेकअप टुल तत्कालिन समयमा शहरमा समेत कमै प्रयोग गर्ने गरिन्थ्यो । हुन त कनट्युनिटिका कुराहरु हुन्, कमजोरी हैनन् । तर बिजुलीका प्लग र टुकी एकै पटक नदेखाएको भए अझ राम्रो कि ? गाउँमा लामा बिजुलीका पोलहरु ठडिसकेका छन् तर पानी भने उही पँधेरो धाउनु परेको छ । अर्को कुरा बुबाको चरित्र अझ बलियो रुपमा स्थापित गरेको भए हुन्थ्यो । उनलाई विधाको सपना तगारोको बनाउन मात्र एन्टागनिस्ट देखाएको छ जस्तो लाग्छ । कहिले गीत, कहिले समाचार अनि कहिले विज्ञापन गरेर प्राय दृश्यहरुको पृष्ठभूमिमा केहि न केहि बजिरहेको हुन्छ । टाइमलाई स्थापित गर्न बजाएको रेडियोको धुन अलि नै बढि भयो कि ?

यद्यपि ऐना झ्यालको पुतली निक्खर कथामा बनेको तिक्खर फिल्म हो । कलात्मक, सरलकथावाचन, यथार्थपरक, मैलिक सिनेमा हो । दोस्रो विश्वयुद्ध पछि रोम ओपन सिटी, बाइसाइकल थिभ्स जस्ता फिल्म जन्मिए जसलाई इटालियन न्यू रियालिज्म भनियो । यसै शैलीलाई इरानी फिल्ममेकरहरुले इरानी न्यू वेभको नाम दिए । नेपाली माटोसंग पनि सुहाउदो यहि शैलीमा निर्देशक सुरेश बिडारीले आफ्नै कथा बुनेका छन् । फिल्म हेरिरहँदा यस्तो लाग्छ, माजिद माजिदी, अब्बास कियारोस्तमीहरु कै सिनेमा हेरिरहेको छु । ऐना झ्यालको पुतली साँचीक्कै इरानी सिनेमाको झल्को दिलाउछ ।

तपाईको प्रतिक्रिया