महिलाको अर्थपूर्ण सहभागिताका लागि छलफल

पोखरा ।
निर्वाचनमा महिलाको अर्थमूलक सहभागिताका सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला गैर सरकारी संस्था महासंघ, शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल– संकल्प र आमा मिलन केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता मालले अझै पनि पार्टी र अन्य संस्थाले महिला नेतृत्व स्विकार्न सहजै स्विकार नगर्ने गरेको बताइन् । राजनीतिमा महिलाको अर्थमूलक सहभागिता बढाउन महिलाहरु एकजुट हुनपर्ने औंल्याइन् । नेतृत्वमा महिला निर्वाचित भएपनि सहज रुपमा काम गर्न सक्ने वातावरण तयार हुन नसकेको उनले बताइन् । निर्वाचित महिला तथा दलित महिलालाई प्रशिक्षित गरेर काम, कर्तव्य र अधिकार बुझाउन सके उनीहरु नै हिम्मतका साथ कार्यसम्पादनमा लाग्न सक्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस कास्की जिल्ला सदस्य निर्मला कार्की भण्डारीले निर्वाचनमा महिलाहरुको सहभागिता बढाउन महिला आफैंले पार्टीमा क्षमताका आधारमा माग गर्नुपर्ने बताइन् । राजनीतिक आस्था फरक भएपनि चुनावका बेला महिलाहरु एकजुट हुनुपर्ने उनको तर्क थियो । प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशका शाखा अधिकृत आकांक्षा रिजालले संविधानले नै महिलाको सहभागिता सुनिस्चित गरेकाले अहिले अर्थपूर्ण सहभागिताबारे छलफल गर्ने अवस्थाको सृजना भएको बताइन् ।
दलित महिला संघ फेडो कास्कीका कोषाध्यक्ष मनमाया नेपालीले स्थानीय निवार्चनमा नेताहरु दलित महिला उम्मेदवार खोज्दै आउने तर सशक्तिकरण र खुलामै लड्ने क्षमता वृद्धिमा ध्यान नदिएको बताइन् । मुस्लिम महिला समूहका अध्यक्ष नजवुल निशा खानले अल्पसंख्यक समुदायका महिलाको सहभागिता नै सुनिस्चित नभएको बताइन् । इन्सेक पोखराका अधिकृत सवनम शर्माले विभिन्न पार्टीको गठबन्धन भए जसरी विभिन्न क्षेत्रमा लागेका महिलाहरुको गठबन्धनले महिलाको अर्थपूर्ण सहभागिता सहजै हुने बताइन् ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष इन्द्रकुमारी शर्मा, उपाध्यक्ष केशु भुजेल, गैसस कास्कीका सचिव सरोजनारायण बराल, एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष श्यामबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संकल्पका सचिव जुना केसीले गरेकी थिइन् ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया