सम्पादकीयः आत्महत्या रोकथामको लागि सामुहिक पहल

समाधान संवाददाता २०७९ भदौ २७ गते ११:५७

आत्महत्या विश्वव्यापी रुपमा सामाजिक समस्याको रुपमा देखिएको छ । हरेक व्यक्तिको मानसिक स्वास्थ्य समस्या आत्महत्याको कारण बन्दै गएको छ । मानिशले व्यक्तिगत, पारिवारिक, सामाजिक परिवेश तथा अप्रत्यासित कारणले कुनै कारणले आत्महत्याको बाटो रोज्ने गरेको छ । त्यसैले आत्महत्या रोकथाम नियन्त्रणको लागि सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक अवस्थाको अध्ययन गर्नु पर्छ ।

Advertisement

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउनु आवश्यक छ । पछिल्लो समयमा आत्महत्याको दर तीव्र रुपमा बढ्दै गएको अवस्थामा मानसिक स्वास्थ्यको समस्यालाई बुझेर उपचार एवं मनोपरामर्शमा ध्यान दिनु पर्छ । ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा नेपाल प्रहरी, प्रशासनिक निकाय, सामाजिक संघ संस्था तथा सरोकारवाला निकायहरु आत्महत्याको रोकथाम नियन्त्रणको लागि समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम लैजान सहमत भएका छन् ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई स्थानीय तहमा उपचारको पहुँच सहज छैन । जिल्लातहमा समेत उपचारको व्यवस्था नहुँदा काठमाडौं पोखरा धाउनु पर्ने बाध्यता छ । त्यस्तै उपचारलाई सहज र सर्वसुलभ र प्रभावकारी बनाउनु पर्ने आवश्यकता छ । नेपालमा आत्महत्या डरलाग्दो समस्या बनिसकेको छ । अहिले देशभर दैनिक कम्तीमा १८ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ । विश्वमा प्रत्येक ४० सेकेण्डमा १ जनाले आत्महत्या गर्छन । हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् ।

आत्महत्या गम्भीर सामाजिक समस्याको रुपमा देखिएकोले यसको रोकथाम तथा नियन्त्रणको लागि सरकार तथा सामाजिक संघ संस्थाले विशेष पहल गर्नु पर्छ । आत्महत्या न्यूनिकरणका उपायबारे सोंच्न र मानसिक स्वास्थ्य समस्या भएको व्यक्तिको उपचार, मनोविमर्शको लागि लगानी बढाउन आवश्यक देखिएको छ । आत्महत्या गम्भिर सामाजिक समस्या हो ।

अनेक कारणले आत्महत्याको लागि प्रेरित गर्छ । प्रेममा असफलता, पारिवारिक विखण्डन, तनाव, अप्रत्यासित समस्या, आर्थिक दूरावस्था, कुण्ठा, बेचैन, नैराश्यता, दिग्दारीपन, बेराजगारी जस्ता समस्याले आत्महत्यालाई बढावा दिएका छन् । दीर्घरोग, प्रियजन गुमाउँदा, घरपरिवार, कार्यालय वा साथीबाट समान अनुभूतिको व्यवहार नपाएमा, व्यापार तथा व्यवसायमा घाटा भएमा, दैवी प्रकोपको चपेटा लगायतका कारणले पनि मानिसले आत्महत्या गर्ने गरेको देखिएको छ ।

Advertisement

आत्महत्याले सम्बन्धित व्यक्तिकै मृत्यु भइसक्ने हुनाले वास्तविक कारण पत्ता लगाउन धेरै कठिन हुन्छ । अधिकांश अवस्थामा यसका कारण अनुमानमात्र गरिन्छन् । नेपाल प्रहरीले आत्महत्याको भित्री कारणसम्म पुग्न सकेको छैन । आत्महत्या डरलाग्दो मनोरोगको परिणाम भएकोले यसको उपचार कुनै औषधिले भन्दा पनि मनोसामाजिक परामर्शबाट मात्रै सम्भव छ । त्यसैले तनाव व्यवस्थापनका विषयलाई प्राथमिकतामा राख्नु पर्छ ।

आत्महत्याको न्यूनिकरण आपसी सहयोग, आत्मीयता, पारिवारिक प्रेम अभिवृद्धिमा जोड दिनु पर्छ । आत्महत्या रोकथाम नियन्त्रणको लागि राज्यका सबै निकायको एकीकृत, संस्थागत र सामुहिक प्रयास आवश्यक छ ।

तपाईको प्रतिक्रिया