आउँदो मंसिर र नेताका शिर

मदन भण्डारी २०७९ भदौ २८ गते १२:१२

भदौ (०७९) को पहिलो साता नेपालमा ३/४ वटा महत्वपूर्ण राजनीतिक घटना भए । १) राष्ट्रपति–सेना सँवाद २) प्रधानमन्त्री– केपी ओली सँवाद ३) प्रचण्ड–बाबुराम पुनर्मिलन र ४) वालेन डोजर प्रकरण । मङ्सिरको चुनावमा नेताले यी घटनाको परिणाम झेल्नेछन् । मूलुकको सुदूर भविष्यमा समेत यसको प्रभाव पर्नेछ । नेपाली सेना अहिले अप्ठेरो स्थिति भोग्दैछ । यो यथार्थलाई चिया होटल, चौतारी, खाजा घर वा बसमा राम्ररी थाहा पाउन सकिन्छ । रिपोटर्स क्लबदेखि रिपोटर्स क्लबसम्ममा हुने बहसमा अब कसैलाई चाख छैन । साना मान्छेहरुको जमघटमा गाँठी कुराका गाँठा फुकाइन्छ । सोझा मान्छेका चेप्टा कुरा सहीसत्य हुन्छ ।

Advertisement

गणतन्त्रका हर्ताकर्ता जङ्गबहादुरभन्दा धेरै घिनलाग्दा भइदिँदा नेता मात्रै होइन, उच्च ओहोदाका कसैप्रति पनि जनताको पत्यार रहेन

सानो माझी बस्तीमा बसेरै अर्नेष्ट हेमिङ्वेले नोवल जित्ने उपन्यास लेखेका थिए । हाम्रै मैनालीले ‘शहीद’ कथा लेखेर राजनीतिक परिवर्तनमा साना रिक्सावाला समेतको ठूलो भूमिका हुन्छ भन्ने देखाएका छन् । माक्र्सवादी लेखक रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ यही सत्यलाई सावित गर्छ । ‘पीर’ मा प्रकाश सपूतले समाजिक मनोविज्ञानको राम्रो दिग्दर्शन गराए । गणतन्त्रका हर्ताकर्ता जङ्गबहादुरभन्दा धेरै घिनलाग्दा भइदिँदा नेता मात्रै होइन, उच्च ओहोदाका कसैप्रति पनि जनताको पत्यार रहेन । झेली राजनीति र बेश्यावृत्ति बाहेकका अरु पेशा गौढ भए । युवा पुस्ताको ठूलो हिस्सा चिलले चल्ला ताकेझैँ बिदेश ताक्छन् । यहाँ हेमिङ्वेको ‘बूढो मान्छे र समुन्द्र’ स्मरणीय छ ।


बूढो मान्छे सेन्टीएगोले बैँसमा माछा मार्ने अनेक चमत्कार गरेपनि जीवनको उत्तरार्धमा पटक्कै माछा समाउन सक्दैन । उनको सँगतका युवा मेनिलोनलाई सबैले खिस्याउँछन् । एक दिन बूढा एक्लैले समुन्द्रको बिचतिरै पुगेर ठूलो माछा जालमा पार्छ । जाल तान्दतान्दै बूढो थकित हुन्छ, अन्तिम शक्ति लगाएर माछा डुङ्गाभित्र राखेर किनारामा ल्याउँछ । अपशोच, सार्कको हुलले आक्रमण गरेर माछा खाइदिन्छ । बूढो मर्छ । पछि, थुप्रै युवाहरुले बूढाद्वारा मारिएको माछाको कंकालको नापतौल गर्छन्, छक्क पर्छन् । बूढाको आँट, जाँगर र सीपको उच्च मूल्याङ्कन हुन्छ ।


वर्तमानको नेपाली राजनीतिमा विकल्पको वीऊ जस्ता वालेन रहरलाग्दो गरी टुसाएपछि नेपालमा स्वतन्त्रको लहर चलेको छ । स्वतन्त्रको वृत्तमा युग पाठक निकै चर्चामा छन् । युग पाठक चर्चामा यसकारण चुलिए कि उनी झापामा केपी ओलीको क्षेत्रमा चुनाव लड्न तम्सिए । सत्तारुढ गठबन्धनका नेताका विपक्षमा होइन, प्रमुख प्रतिपक्षका मुख्य नेतालाई उनले प्रहारको केन्द्र बनाए । यसले साहित्यकार सत्ताबिरोधी हुने अवधारणा खण्डित हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता मानिए पनि भारतमा मोदी बिरोधी साहित्य भरमार लेखिन्छ । हामीकहाँ चाहिँ सत्तालाई अग्रगामी देख्ने बुद्धिजीवी र साहित्यकारको एउटा झुण्ड एक्लो केपी ओलीलाई प्रतिगामी ठानेर आत्मरतिमा रमाउँदै शेरबहादुर देउवाको दौराको फेरो समाउँदैछ ।

Advertisement


नेपालमा अझै केही बूढाबूढीहरु स्तुत्य छन् । सत्यमोहन जोशीको देशभक्तिलाई सर्लक्क पन्छाएर उनको लामो आयु मात्रैको कुरा गरिन्छ । विपीन कोइराला, कुलबहादुर गुरुङ, मोहनविक्रम, मोहनचन्द्र, मोहन वैद्य, शास्त्रदत्त, नारायणमान, प्रकाश कोइराला, भद्रा घले वा अनुराधा आदिको एउटा फौज छ । ती राज्यद्वारा निकै अपहेलित छन् । भारतको आशिर्वादमा फेरि आलोपालो प्रधानमन्त्री हुन खोजेका छविलाल दाहाल र शेरबहादुर देउवालाई बल पु¥याउने युगजीको ब्यवहार युगानुकूल छैन कि ?


राष्ट्रपतिले सिधै सेनाका मान्छेसँग कुरा गरिन् । प्रबुद्ध नागरिकहरु सँग छलफल गरिन् । प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्रीलाई भेटेरै चुनावमा धाँदली गरिए प्रतिकारमा उत्रिने चेतावनी दिए । सके शेरबहाद्रलाई थर्काउने नसके आफै थर्किने भावमा छविलाल दाहालले वाम एकताको हल्ला फिँजाए । काजमा अन्यत्रै खटिएका बाबुराम आफ्नै दरबन्दीको माओवादीमै फर्किए । काठमाण्डूका मेयरको डोजर प्रकरणले त देशविदेशका सारा नेपाली वालेन शाहको जयजयकार गरिरहेका छन् । वालेनलाई व्यँग्य गर्ने हर्क, धम्क्याउने महेश र मीन छेपारो खाने कुखुरा जस्ता भए । छविलाल दाहाल अर्को वालेनको खोजी गर्ने भन्दैछन् । देशका अरु मेयर वालेनकै शैली सिक्न बिवश बन्दैछन् ।


माङ्गेना– युग पाठकको पठनीय पुस्तक हो । ‘माङ्गेनाको दार्शनिक अर्थ हो, मान्छेको शिर झुक्नु हुँदैन (पृष्ठ १३)!’ सानै चूकले मान्छेको नूर गिर्छ । वालेन र हर्क साम्पाङ्लाई माओवादी नेता भनिरहेका छन्, ‘हामीले गर्न नसकेको काम तपाइँहरुले गर्नुभयो !’ यहीँ एउटा भूकम्प जान्छ, के माओवादीले गर्न नसकेको हो ? होइन, छविलालले गर्नै चाहेनन् । बिदेशी प्रभुका आदेशले प्रचण्ड बाँधिए । यसैले कटुवाल काण्डमा कुलबहादुर उचालेर सेनामा भाँडभैलो मच्चाइयो । सँविधान सभाको अवसान गराएर बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पियो । सर्वोच्चको फैसलाद्वारा नेकपाको टुक्रोलाई देउवाको पाउमा लम्पसार पारियो । र, अहिले नागरिकता विधेयकमा सिक्किमीकरणको मार्ग अवलम्बन गरिँदैछ ।


सिक्किम विलयपछि लेण्डुप दोर्जे बिपी कोइरालासँग रोए अरे । आफ्नो काम फत्ते गरेपछि इन्दिरा गान्धीले लेण्डुप दोर्जेको अनुहारसम्म हेर्न मानिन् अरे । त्यो सुनेर बिपी कोइराला बल्ल झस्केछन्, त्यसपछि नै मेलमिलापको नीति लिएर नेपाल फर्केछन् । नेपालका लेण्डुपेहरु इतिहासबाट सिक्न पटक्कै मञ्जुर छैनन् । आफूबाट नसिक्नेलाई इतिहासले अवश्यै दण्डित गर्छ ।
केपी ओलीले प्रधानमन्त्री छँदा माछा मार्न सकेनन् । वाइडबडी, एती, एम्नीमा केपी ओली सरकार दोषी छ । क्यान्टोन्मेन्ट भ्रष्टाचारमा ओलीको बोली फुटेन । प्रमुख प्रतिपक्षी दलका नेता भएपछि चाहिँ उनले समुद्रको बिचसम्मै डुङ्गा पुर्‍याएर ठूलै माछा समाते । स्थानीय तहको गत निर्वाचनमा सत्तासीन गठबन्धनलाई पछार्नु सानो करामत होइन ।

यसैले बूढा सेन्टीएगोको सेन्टीमेन्टलाई समयमै युवाले समात्नुपर्छ । उमेरले होइन, विचार र व्यवहारले मान्छे बूढो र युवा हुन्छ । मङ्सिरको चुनावमा त्यो देखिएला । धेरै नेताको शिर ढल्ला । युग पाठक नेपाली साहित्यका एक मूर्धन्य नेता हुन् । आफै माङ्गेनाका लेखक हुन् । साहित्यिक फाँटको नेतृत्व छाडेर राजनीतिमा होमिएका उनी घुमाएर कान समात्दै सत्ता गठबन्धनको छहारीमनि ओत बसेका देखिन्छन् । माङ्गेनाका पाठकहरुले आफ्ना प्रिय लेखकको शिरको चिन्ता गर्नु अस्वाभाविक नहोला ।

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया